arrow

अछामले ६१ वर्षपछि पायो काँग्रेस केन्द्रीय सदस्य

logo
कल्पना बोहरा,
प्रकाशित २०७८ पुष ८ बिहिबार
govina-bahadur-shah.jpg

अछाम। अछामले ६१ वर्षपछि नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिमा स्थान बनाएको छ। बिहीबार मतगणना सकिएको नेपाली काँग्रेसको १४ महाधिवेशनमा पूर्व सूचना तथा सञ्चार राज्य मन्त्री गोविन्दबहादुर शाह केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्। खस आर्यतर्फबाट २ हजार १४ मत ल्याएर उनी निर्वाचित भएका हुन्।

२०१७ सालमा नेपाली काँग्रेसको ७ औँ महाधिवेशनबाट अछामबाट दिलबहादुर बुढ्थापा पहिलो केन्द्रीय सदस्य भएका थिए। त्यसपछि कुनै पनि महाधिवेशनबाट अछाम काँग्रेसका नेता केन्द्रीय समितिमा पर्न सकेका थिएन। अछाम क्षेत्र नं १ बाट महाधिवेशन प्रतिनिधि निर्वाचित पूर्व राज्य मन्त्री शाह १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन्।

उनी २०३३ सालमा बिपी कोइरालाको राष्ट्रिय मेलमिलाप नीतिबाट प्रभावित हुँदै नेपाली काँग्रेसको राजनीतिमा लागेका थिए।

२०३५ सालमा नेपाल विद्यार्थी सङ्घमा आबद्ध भएका उनी २०४८ साल, २०५६ सालमा अछाम क्षेत्र नं.१ बाट निर्वाचित भएका थिए । २०५१ सालमा नेकपा एमालेका पूर्व उपाध्यक्ष डा.भीम रावल र २०६४ सालमा तत्कालीन नेकपा एमाले अछामका अध्यक्ष शेरबहादुर कुँवरसँग शाह पराजित भएका थिए।

२०५५ सालमा शाह १० महिनासम्म सूचना तथा सञ्चार राज्यमन्त्री बनेका थिए। केन्द्रीय सदस्यमा निर्वाचित भएपछिको कुराकानीमा उनले जिल्लामा नेपाली काँग्रेसलाई थप बलियो बनाउन लागिपर्ने बताए। कारखाना



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ