पार्टी एकताका लागि सीपी गजुरेलले माओवादी केन्द्रसँग महाधिवेशनमै राखे सर्त
हाम्रा कुरा
प्रकाशित २०७८ पुष ११ आइतबार
471
Shares
काठमाडौं । नेकपा क्रान्तिकारी माओवादीका नेता सीपी गजुरेलले विभिन्न सर्त राख्दै माओवादी केन्द्रसँग एकताका लागि बहस गर्न सकिने बताएका छन् । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले पार्टी एकताका लागि सोच्न सकिने बताएका हुन् ।
महाधिवेशन समारोहमा बोल्दै उनले भने, 'कुनै बेला हामी नेकपा माओवादी हुँदा सँगै वर्षाैंसम्म बसेको अनुभूति मलाई यहाँ भइरहेको छ । यहाँ सहभागी हुँदा मलाई ती पुराना दिनहरु पनि सम्झना भइरहेको छ । यहाँ तपाइ र तपाइका पार्टीका अध्यक्षले बेलाबखतमा भन्ने कुरा पुराना माओवादी एकजुट हुनुपर्छ, एकताबद्ध हुनुपर्छ भन्ने कुरा पनि यतिखेर सम्झिरहेको छ ।'
उनले एकताबद्ध हुने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको भनाइलाई सकारात्मकता लिएको बताएका छन् । उनले अघि भने, 'हामी चाहन्छौँ नेपालमा भएका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरू एकताबद्ध हुनुपर्छ र उनीहरूले आफ्नो लक्ष्य हासिल गर्न जनताले जुन रगत बगाएका थिए, त्योलाई सार्थकता दिन हामी सबै प्रयत्नशील हुनुपर्छ देशका सबै सच्चा कम्युनिस्ट एक हुनुपर्छ ।'
तर, यसका लागि केही आधारहरू तय हुनुपर्ने उनले बताएका छन् । महाधिवेशनमा बोल्दै नेता गजुरेलले भने, 'साँच्चै एक हुने हो भने आधार तयार पारौँ । हामीले जनयुद्ध सुरु गर्नुभन्दा अगाडिको केन्द्रीय समितिमा जुन प्रतिबद्धता जाहेर गरेका छौँ त्योलाई पुनर्स्थापना गर्नुपर्छ भन्ने मेरो कुरा हो । जुन लक्ष्य राखेर युद्ध गरेका थियौँ त्यो अधुरो छ र त्यो लक्ष्यका लागि तुरुन्त अगाडि बढौँ । राष्ट्रिय स्वाधीनताका विषयमा केही महत्त्वपूर्ण निर्णय लिनुभयो भने देशको निम्ति पनि महत्त्वपूर्ण कुरा हुन्छ ।'
उनले एमसीसी खारेज हुनुपर्छ भन्ने तर्क राख्दै भने, 'राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न तपाइहरूले जोड गर्न लगाउनुहुन्छ भन्ने मेरो भनाइ छ ।'
यस्तै उनले नेपालले गुमाएका भूभाग नक्सामा मात्र हासिल भए भन्दै कालापानी लिपुलेक र लिम्पियाधुरा हासिल गर्न यो पार्टी प्रतिबद्ध होस् भन्ने अपेक्षा राखेका छन् । यी सबै कुरा भयो भने पार्टी एकताको लागि बहस गर्ने र छलफल गर्ने ढोका खुल्ने उनको भनाइ छ ।