- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशको समस्याको बारेमा, जनताको समस्याको बारेमा र समाजको समस्याको बारेमा बृहत् छलफलको आवश्यकता रहेको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।
महाधिवेशन खाली अमूर्त सिद्धान्तको छलफल गर्ने थलो नभएको बताउँदै उनले देश र जनताको समस्याको बारेमा छलफल हुनुपर्ने बताएका हुन् ।
उनले भनेका छन्, 'अहिले नेपाली समाज कुन अवस्था छ, कसरी परिवर्तन हुनसक्छ, जनता कस्तो पीडा र वेदनामा बाँची रहेका छन्, त्यसलाई कसरी सम्बोधन गर्ने भन्ने कुरामा हाम्रो ध्यान जानुपर्छ।'
उनले अघि भने, 'देशको समस्याको बारेमा, जनताको समस्याको बारेमा, समाजको समस्याको बारेमा बृहत् छलफलको आवश्यकता छ, परिवर्तनको एजेन्डालाई केन्द्रबिन्दुमा राखेर जानुपर्ने आवश्यकता छ । त्यसो हुनाले यो परिवर्तन नेपाली जनताको हित र कल्याणको विषयमा हुनुपर्नेछ ।'
यस्तै उनले जनता कसरी खुशी र सुखी एवं देश कसरी समृद्ध हुनसक्छ भन्ने कुरामा ध्यान जानुपर्ने बताएका छन् । उनले अघि भनेका छन्, 'हाम्रो ध्यान नेपाली देशभक्तिमा, नेपाली जनताको समस्यामा, नेपाली समाजको परिवर्तन रूपान्तरण गर्ने कुरामा हाम्रो ध्यान जानुपर्छ, नेपाली जनता कसरी खुशी र सुखी हुन सक्छन्, देश कसरी समृद्ध हुनसक्छ ? यसमा हाम्रो ध्यान जान सकेमा मात्रै राजनीतिको दलको औचित्य रहन्छ नेताहरूको अर्थ रहन्छ ।'
उनले नेपालमा कम्युनिस्ट दलहरूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको र जनताबाट पनि विश्वास मिलिरहेको बताउँदै यसलाई कायम गर्न सक्नुपर्ने बताएका छन् ।