- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट नयाँ नेतृत्व चयन गर्ने भनिए पनि अहिलेकै अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अध्यक्षमा दोहोर्याउने निश्चित जस्तै भएको छ । माओवादीका नेताहरु लिलामणि पोखरेल, हरिबोल गजुरेल लगायतका नेताहरुले अध्यक्षमा प्रचण्डको विकल्प नभएकाले अन्य पदमा मात्रै नेताहरुको दाबी रहेको बताएका छन् । तर अन्य पदमा पनि को को भन्ने अहिलेसम्म यकिन छैन ।
माओवादीको पहिलो बन्द सत्रले १५ पदाधिकारीलाई पारित गरेको छ । सोहीअनुसार अध्यक्ष बाहेकका १४ पदाधिकारीहरुमा अध्यक्षले जसलाई चाह्यो उसलाई ल्याउने संभावना रहेको नेताहरुले बताएका छन् । माओवादीले अध्यक्षसहित १५ पदाधिकारीहरु पास गरिसकेको छ । एक वरिष्ठ उपाध्यक्ष, ६ उपाध्यक्ष, एक महासचिव, २ उप महासचिव, ३ सचिव र एक कोषाध्यक्षसहितका पदाधिकारी तय गरेपछि वरिष्ठ उपाध्यक्षमा नारायणकाजी श्रेष्ठ र कृष्णबहादुर महराको प्रतिस्पर्धा रहेको छ ।
‘उहाँहरु दुई जनाले वरिष्ठ उपाध्यक्षको चाहना गर्नुभएको छ’, माओवादीका एक नेताले भने । तर एमालेकै जस्तो गरी अध्यक्षले प्रस्ताव गरेमा कसलाई रोज्लान् भन्ने कौतुहलता बढेको छ । आठौँ महाधिवेशनले पहिले २ सय ९९ सय केन्द्रीय सदस्यको चयन गर्नेछ ।
त्यसअघि अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र कोषाध्यक्ष छनोट गर्ने कि पहिला केन्द्रीय सदस्य चयन गरेर त्यही समितिले त्यसबाट पदाधिकारी चयन गर्ने भन्ने सन्दर्भमा माओवादीमा अझै अन्यौल रहेको छ । विधानको व्यवस्था अनुसार प्रचण्ड पनि यही २ सय ९९ सदस्यीय केन्द्रीय सदस्यहरुबाट पुनः अध्यक्षमा चयन हुनेछन् ।
सिद्धान्ततः २ सय ९९ सदस्यीय केन्द्रीय समितिले चयन गर्ने भए पनि नयाँ महासचिव छनोटमा पनि अध्यक्ष प्रचण्डकै निगाह हुनेछ । उपाध्यक्षपछि महासचिवमा तीन जनाले दाबी गरेका छन् । वर्षमान पुन, जनार्दन शर्मा, पम्फा भुषालले दाबी गरेपछि प्रचण्ड अप्ठेरोमा परेका छन् । पुन हाल चीनमा उपचाररत रहेका छन् ।
पार्टीको महासचिव अध्यक्ष प्रचण्डले रुचाएको वा उनले चाहे अनुसार सहयोग गर्न सक्ने नेता नै हुने भएकाले प्रचण्डले पुनलाई रुचाउने संभावना भए पनि शर्मा र भुषालले अड्चन पैदा गरेका छन् । महासचिवमा धेरै लफडा भए प्रचण्डले तत्काल महासचिव चयन गर्नबाट पछि हट्ने संभावना पनि रहेको स्रोतले जनाएको छ ।
२०६९ सालमा हेटौंडामा भएको महाधिवेशनमा पनि माओवादीले अध्यक्ष मात्रै चयन गरेर फर्केको थियो । अहिले पनि त्यही संभावना रहेको नेताहरुले बताएका छन् । कृष्णबहादुर महराले वरिष्ठ उपाध्यक्ष छाडेमा प्रचण्डले महरालाई महासचिव बनाउने संभावना पनि उत्तिकै रहेको छ । महरा महासचिव भए शर्मा र पुन दुवैले स्वीकार गर्ने भएकाले पनि उनको संभवाना रहेको बताइन्छ ।
महासचिवका दुई प्रतिस्पर्धी शर्मा र भुषाल दुवै उपाध्यक्ष बन्ने सम्भावना रहेको छ । उपाध्यक्षमा चर्चामा रहे पनि भुषालको महासचिव बन्ने सम्भावना अझै समाप्त भइनसकेको बताइन्छ । माओवादी केन्द्रको नेतृत्वको वरीयतामा रहेका झण्डै आधा दर्जन नेताहरु पुन भन्दा माथि छन् । शर्मा भन्दा रीयतामा माथि भएका नेताहरुको संख्या एक दर्जन भन्दा बढी रहेका कारण पनि उनीहरु दुवै महासचिव नहुने बताइन्छ ।
तर शर्मा र पुनको जोड भने महासचिवमै रहेको छ । भुषाल २०५१ मा नै माओवादीको केन्द्रीय सदस्य बनिसकेकी थिइन् भने पुन र शर्मा २०५४–५५ मा केन्द्रीय सदस्य बनेका थिए । यसरी हेर्दा भुषाल महासचिव बन्नसक्ने एकथरी नेताहरुको भनाइ छ । तर प्रचण्डले पुन चीनबाट नआउँदासम्म पदाधिकारी चयन गर्न नसक्ने पनि एक थरी नेताहरुले महाधिवेशन हलमा चर्चा गरेका छन् ।
पछिल्लो पटक शक्ति बस्नेतले पनि महासचिवमा चाहना गरेपछि महासचिवका लागि धेरै रस्साकस्सी पर्नै नेताहरुले जनाएका छन् । हरिबोल गजुरेल, देवेन्द्र पौडेल, लेखनाथ न्यौपाने, गणेशमान पुन लगायतका नेताहरु सचिवको दावी गरिरहेका छन् ।
त्यस्तै जयपुरी घर्तीले पनि पदाधिकारीमा दावी गरिरहेकी छिन् । प्रचण्डको राजनीतिक प्रतिवेदनमा फरक मत राखिरहेका राम कार्कीलाईपनि पदाधिकारीमा समेट्नु पर्ने दबाबमा प्रचण्ड रहेका छन् ।
उनले पार्टीभित्र फरक धारणा राखेका छन् । त्यस्तै शशी श्रेष्ठ, अञ्जना विसंखे, लिलामणी पोखरेल, गिरिराजमणि पोखरेलले पनि पदाधिकारीमा आँखा लगाएका छन् । प्रचण्डलाई प्रदेश पनि मिलाउनु पर्ने तथा भूगोल पनि मिलाउनु पर्ने भएकाले पदाधिकारी चयनमा समस्या पर्ने नेताहरुले बताएका छन् ।
‘अहिले नीतिको बहस भएकाले नेतृत्वमा खासै हाम्रो ध्यान छैन, मूल नेतृत्व प्रचण्डको हुनेछ बाँकी पदाधिकारी आफै मिल्नेछन्’, केन्द्रीय सदस्य शिबबहादुर बस्नेतले भने । उनका अनुसार अहिले देखिएका नेताहरुबाटै पदाधिकारी चयन हुनेछन् ।