- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । मधेस केन्द्रित दलहरुले बारम्बार रिहाइको माग गर्दै आएका जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा टिकापुर घटनामा कर्तव्य ज्यान मुद्दामा हाल डिल्लीबजार कारागार जेलमा बन्दी जीवन बिताइरहेका सांसदमा निर्वाचित रेशम चौधरीले जसपासँगको सम्बन्ध तोड्ने भएका छन् ।
उनले जेलबाटै नयाँ पार्टी दर्ता गराउने निश्चित भएको छ । यसको पुष्टि उनकी पत्नी रञ्जिता श्रेष्ठले गरेकी छिन् । नयाँ पार्टीको नाम र चुनाव चिन्हसमेत उनले चयन गरिसकेका छन् ।
नयाँ पार्टीको नाम ‘नागरिक समाजवादी पार्टी’ हुनेछ भने चुनाव चिन्ह ढकिया हुनेछ । यही पुस १९ गते निर्वाचन आयोगमा गइ नयाँ पार्टी दर्ता गर्ने कार्यक्रम तय गरिएको चौधरीकी पत्नी श्रेष्ठले बताइन् ।
नयाँ पार्टीको अध्यक्ष चौधरी आफै हुने भएका छन् । तर कानूनले नमिल्ने भए आफ्नै पत्नीलाई अध्यक्ष बनाउने उनको तयारी छ । ‘पार्टीको अध्यक्ष उहाँ नै (रेशम चौधरी) हुनुहुन्छ । कानूनले नमिल्ने अवस्थामा भने अध्यक्ष हुन्छु’, रञ्जिताले भनिन् ।
नयाँ पार्टी दर्ता गरेपछि जसपासँग उनको सम्बन्ध समाप्त हुनेछ । जसपा गठन हुनुअघि चौधरी तत्कालीन राष्ट्रिय जनता पार्टीमा सम्बद्ध थिए । जसपामा विवाद भएपछि उनी महन्थ ठाकुर र राजेन्द्र महतोले गठन गरेको लोकतान्त्रिक समाजवादी पार्टीमा नगइ जसपामै रहेको बताएका थिए ।
तत्कालीन राजपा र हालको जसपाले चौधरीको रिहाइको मागलाई शुरुदेखि नै जोडतोडले उठाउँदै आएको छ । चौधरीलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले जेलबाट लगेर सांसदको सपथग्रहण गराएको थियो ।