arrow

माओवादीको इतिहासमा पहिलो पटक नेतृत्व चयन गर्न निर्वाचनः शनिबार उम्मेदवारी दर्ता, आइतबार मतदान

एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १७ शनिबार
maobadi-kendra-8th-general-833822.jpg

काठमाडौं । नेकपा माओवादी केन्द्रले निर्वाचन तालिका सार्वजनिक गरेसँगै पहिलो पटक प्रतिस्पर्धामार्फत नयाँ नेतृत्व चयनको प्रक्रिया शुरु गरेको छ । प्रज्ञा भवनमा जारी आठौं महाधिवेशनको सातौं दिनमा मतदाता नामावली प्रकाशन गरेसँगै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको हो । 

अपरान्ह ४ बजेसम्म मतदाता उपर दावी विरोधको समय, मतदाता नामावलीमा दाबी विरोधको सूचना ४ः१५ बजेसम्म, ४ः५० सम्म दाबी विरोधमाथि अन्तिम निर्णय लिएसँगै मतदाता नामावली सार्वजनिक भएको छ ।

आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठका अनुसार कूल एक हजार ७४२ मतदाताको नामावली सार्वजनिक गरिएको हो । नामावलीमा आयोजक समिति, विभिन्न विभाग, जेष्ठ कम्युनिस्ट मञ्च, सल्लाहकार समिति तथा पार्टी एकता प्रक्रियामा सहभागी भएका तथा मनोनित प्रतिनिधि समेटिएको छ ।

नयाँ नेतृत्व चयनका लागि आयोगका तर्फबाट मतदाता नामावली प्रकाशन गरिएको आयोगले जनाएको छ । आज मात्रै माओवादीको विधान सर्वसहमतिले पारित गरेको हो । पारित विधान अनुसार १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय समिति चयन गर्न लागिएको छ । 

स्थायी समिति सदस्य देवप्रसाद गुरुङले विधानका सन्दर्भमा उठेका प्रश्नका जवाफ दिएपछि विधान पारित गरिएको हो । विधानअनुसार खुल्ला ५० प्रतिशत र ५० प्रतिशत समानुपातिक प्रणालीका आधारमा नेतृत्व चयन गरिने भएको छ । यस्तै, केन्द्रीय समितिले १५ प्रतिशत मनोनयन गर्ने व्यवस्था गरिएको छ । 

कूल ५० प्रतिशत समानुपातिकमा दलित, मुस्लिम, थारु, मधेशी, आदिवासी, जनजाती, खस आर्य, अपाङ्गता भएका, पिछडिएको क्षेत्र, महिला र युवाको क्लस्टर तय गरिएको छ । केन्द्रीय समितिमा सबै क्लस्टर र खुल्लाबाट गरी ३५ प्रतिशत महिला र २० प्रतिशत ४० वर्ष मुनिका युवाको प्रतिनिधित्व गराइने भएको छ । 

सहमतिमा नै नेतृत्व चयन गर्ने तयारीमा आफूहरू रहेको माओवादीले जनाएको छ । नयाँ नेतृत्व चयनलगायत विषयमा छलफल गर्न आजै स्थायी समितिको बैठक महाधिवेशन स्थल कमलादीमा बसेको थियो ।

यस्तो छ निर्वाचन तालिका

उम्मेदवार मनोनयनको प्रक्रिया भने आजै राति ८ बजेदेखि शुरु हुनेछ भने राति १०ः३० मा उम्मेदवार मनोनयन पछिको सूची सार्वजनिक गरिने निर्वाचन समितिले जनाएको छ ।

राति १०ः३० मा उम्मेदवारी सूची सार्वजनिक गरे लगत्तै भोलि बिहानबाट उम्मेदवारको विरोधमा उजुरी दिन समय बिहान ८ः०० देखि ८ः३० सम्म तोकिएको छ । साथै उम्मेदवारको विरोधमा परेको उजुरीको सूचना ८ः३५ मा निर्वाचन समितिले दिने छ । 

उक्त उजुरी उपर निर्वाचन समितिले छानबिन भने बिहान ८ः४० देखि ९ः०० बजेसम्म गर्नेछ । ९ः१० बजे उम्मेदवारको नामावली सार्वजनिक गर्नेछ । 

जसअनुसार ९ः३० देखि ११ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय समितिले दिएको छ । बिहान ११ः४५ मा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक भएलगत्तै ११ः३० बाट मतदान प्रक्रिया शुरु भई ४ बजेसम्ममा सम्पन्न गर्ने निर्वाचन समितिले तालिका सार्वजनिक गरेको छ ।



नयाँ