arrow

कोरोनामा अभिभावक गुमाएकालाई निःशुल्क शिक्षा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ पुष १८ आइतबार
scholarship-child.jpg

काठमाडौँ। कोभिड महामारीमा अभिभावक गुमाएसँगै आर्थिक अभावका कारण विद्यालय छाड्न बाध्य बालबालिकाले निःशुल्क शिक्षा पाउने भएका छन्। राजनीति, व्यवसाय र सामाजिक कार्यमा सक्रिय युवाहरूको प्रयासमा टुहुरा बालबालिकाका लागि छात्रवृत्ति अभियान सुरु भएको हो। राजधानीमा सोमबार आयोजित एक कार्यक्रमबिच काँग्रेस महामन्त्री गगनकुमार थापा र डिसहोम नेटवर्कका प्रबन्ध निर्देशक एवं कामना सेवा विकास बैङ्कका अध्यक्ष सुदीप आचार्यले संयुक्त रूपमा अभियानको औपचारिक घोषणा गरे। ‘भरोसा छात्रवृत्ति’ नाम दिइएको उक्त अभियानका लागि प्रारम्भिक चरणमा डिसहोम परिवारले आर्थिक व्यवस्थापन गर्ने कार्यक्रममा जानकारी दिइयो।

कार्यक्रममा महामन्त्री थापाले मृतक परिवारका अरू कयौँ समस्या भए पनि बालबालिकाका शैक्षिक निरन्तरता बढी चुनौतीपूर्ण रहेको निष्कर्षसहित आफूहरू अभियानमा जुटेको बताए। महामारीका कारण परिवार गुमाएकाहरूको मुख्य जिम्मेवारी राज्यकै भए पनि सचेत नागरिकहरूले व्यक्तिगत वा संस्थागत रूपमा योगदान गर्न जरुरी रहेको उनले औँल्याए।

‘कोभिड महामारीको दुवै लहरमा धेरैका आफन्त गुमेका छन्। त्यस्ता परिवारका अरू थुप्रै समस्या छन्। तर, पैसाका कारण शैक्षिक निरन्तरता चुनौतीपूर्ण भएको अवस्थामा शिक्षा पाउने वातावरण बन्यो भने त्यो नागरिकको समाजमाथिको भरोसा बढ्छ’, थापाले भने, ‘मलाई चिन्दै नचिनेको व्यक्तिले मलाई पढाउन सघाए भन्ने भावनाले उसले समाजमाथि विश्वास गर्ने वातावरण बन्छ।’

डिसहोमका प्रबन्ध निर्देशक आचार्यले छात्रवृत्तिको दायरा फराकिलो बनाउँदै कोभिड बाहेक भविष्यमा हुने सक्ने अरू सम्भावित महामारीका कारण अभिभावक गुमाएकाका बालबालिकालाई पनि समेट्ने सोच आफूहरूले बनाएको बताए। ‘महामारी र अप्ठेरोका कारण जसको आर्थिक अवस्था कमजोर भएर शैक्षिक निरन्तरता दिन नसक्ने बालबालिकाहरूको जिम्मा हामी लिन्छौँ’, आचार्यले भने।

छात्रवृत्तिलाई डिसहोमको मात्र नभई नेपालीको साझा अभियान बनाइने भन्दै आचार्यले अभियानमा सघाउन सबैलाई अपिल गरे। आफूहरूको अभियान गैर राजनीतिक भएको भन्दै उनले त्यसलाई नामजस्तै भरोसायोग्य बनाइने प्रतिबद्धता जनाए। अभियन्ता एवं सञ्चारकर्मी चारु चट्टाले शिक्षाको महत्त्व अथाह रहेको भन्दै महामारीका कारण कसैले पनि शिक्षाको अवसरबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्य आफूहरूको रहेको बताइन्। राजनीतिज्ञ, कर्मचारी, चिकित्सक, शिक्षक सबैको उत्पादन शिक्षाले नै गर्ने भन्दै उनले शिक्षालाई राज्य र समाज दुवैले उच्च प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्। ‘टिच फर नेपाल’ की प्रमुख कार्यकारी अधिकृत स्वस्तिका श्रेष्ठले गरिब र भूमिहीनहरू कोभिड महामारीबाट सबैभन्दा बढी प्रभावित भएको चर्चा गरिन्। ‘जसको जमिन छैन। जो हरेक कोणबाट पछि परेको छ र पारिएको छ । उसको शिक्षाबाहेक टेक्ने अरू जमिन नै छैन’, श्रेष्ठले भनिन्।

कोभिड महामारीको पहिलो लहर आएको १५ दिनमै राजधानी बस्ने मानिसहरू स्कुल पढ्ने छोराछोरी बोकेर गाउँ फर्किएको घटनाले आफू अहिले पनि झस्किने गरेको भन्दै उनले काम गुमाएको दुई सातामै खान नपाउने नागरिकको अवस्थामा सुधार ल्याउन जरुरी रहेको औँल्याइन्।

सिन्धुपाल्चोकलाई प्रमुख कार्य थलो बनाएर शिक्षा क्षेत्रमा सक्रिय संस्था ‘हेल्प नेपाल’ का सञ्चालक जिमी लामाले कोभिड र पोस्ट कोभिडका कारण मारमा परेका विद्यार्थीको शैक्षिक निरन्तरता चुनौतीपूर्ण रहेको बताए। ‘फ्याक्ट नेपाल’ का प्रमुख कार्यकारी अधिकृत मनिष झाले नेपालमा २७ लाख बालबालिका गरिबीका कारण शिक्षाबाट वञ्चित रहँदै आएकामा पछिल्लो केही समयमा उक्त सङ्ख्या घटेर १४ लाखमा झरेको बताए।

शक्ति राष्ट्र अमेरिकाले आफ्नो सुरक्षा खर्चमा २६ प्रतिशतले मात्र कटौती गरेको अवस्थामा गरिबीका कारण शिक्षाको अवसर गुमाउन बाध्य संसारभरका बालबालिकाले पढ्न पाउने तथ्याङ्क झाले प्रस्तुत गरे। महामारीका कारण शिक्षाबाट वञ्चित देशभरका बालबालिकाको तथ्याङ्क सङ्कलन भइरहेको जानकारी झाले दिए। भरोसा छात्रवृत्ति अभियानमा सहयोग गर्ने उनले सबैमा अपिल पनि गरे।

एक वर्षका लागि छात्रवृत्तिमा आवश्यक रकमको व्यवस्था डिसहोम परिवारले गर्ने छ। डिसहोमका लगानीकर्ता, कर्मचारी तथा देशभरका डिलर-सब डिलरबाट ४० लाख रुपैयाँ सङ्कलन गरिएको जानकारी प्रबन्ध निर्देशक आचार्यले दिए। आचार्यका अनुसार विद्यार्थी छनोट गर्दा मानव विकास सूचकाङ्कमा कमजोर रहेका कर्णाली, सुदूरपश्चिम र प्रदेश–२ अन्तर्गतका जिल्लालाई प्राथमिकतामा राखिने छ।

फ्याक्ट नेपालले कोरोनाका कारण ज्यान गुमाएकाहरूको तथ्याङ्क सङ्कलन गर्ने र सोही तथ्याङ्कका आधारमा विद्यार्थी छनोट गरिने अभियानले जनाएको छ। छात्रवृत्ति पाउने विद्यार्थीलाई डिशहोम सञ्जालमार्फत  रकम प्रदान गरिनेछ। विद्यार्थीले हाल अध्ययन गरिरहेका विद्यालयमै पूर्ण छात्रवृत्तिको सुविधा पाउनेछन्। छात्रवृत्तिको समन्वय गर्ने जिम्मेवारी हेल्प नेपाललाई दिइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ