विश्वमा कोरोनाको तेस्रो लहरको संकेत: नेपालका राजनीतिक दलहरु चुपचाप
हाम्रा कुरा
प्रकाशित २०७८ पुष २१ बुधबार
1.4k
Shares
काठमाडौं । विश्वभर कोभिड–१९ महामारीको तेस्रो लहर शुरु हुने संकेत देखिए पनि नेपालमा यसका लागि पर्याप्त सजकता अपनाएको पाइएको छैन । छिमेकी देश भारतमा सङ्क्रमण बढ्न थालेसँगै राज्य सरकारहरूले कर्फ्यू लगाउन शुरु गरेका छन् । तर नेपाल सरकारले सीमानाकाहरुमा सजकता नअपनाएको र पूर्वतयारी नगरेको भन्दै नागरिकस्तरबाट आलोचना शुरु भएको छ ।
सत्तारुढ गठबन्धनमा रहेका दलहरुले पनि संक्रमण बढेको विषयलाई प्राथमिकता दिएको पाइँदैन । साथै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि सरकारलाई दबाब दिने र आफ्नोतर्फबाट सजकता अपनाउने कुनै गतिविधि गरेको पाइएको छैन ।
सरकारले कोभिड विरुद्धको तेस्रो डोज लगाउने तयारी गरे पनि मंगलबार पहिलो दिन नै एकाएक स्थगित गरेपछि त्यसको आलोचना भएको छ । नेकपा एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले सिरिन्ज नै उपलब्ध गराउन नसक्नु सरकारको लाचारी भएको बताउँछन् ।
‘हामीले सजकता अपनाउँ भनेर भन्ने हो । सरकारलाई पूर्वतयारी गर भनेर झकझक्याउने हो तर सरकार गम्भीर बन्दैन भने भोलि आइपर्ने संकटको जिम्मेवारी सरकारले लिनुपर्छ’, उनले भने ।
यता, सत्ता साझेदार दल माओवादी केन्द्रको आठौं महाधिवेशनले ४५ बुँदे प्रस्तावमध्ये ३३ नम्बर बुँदामा कोभिडको जोखिम न्यूनिकरणका लागि प्रयास गरेको उल्लेख गरे पनि थप आधिकारिक निर्णय भने गरेको छैन । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयोगी सूर्य किरणले सजकता अपनाउन सरकारलाई सुझाव दिएको बताए ।
कोभिड–१९ ले नेपालको स्वास्थ्यमा मात्र होइन शिक्षा, पर्यटन ,रोजगारी, अर्थतन्त्र लगायत धैरै क्षेत्रहरुमा गम्भीर समस्या र चुनौती खडा गरेको भन्दै विभिन्न क्षेत्रमा समस्याहरुको छुट्टाछुट्टै अध्ययन गरी तत्कालीन र दीर्धकालीन असरको समाधान गर्न सरकारले तुरुन्तै पहल गर्न सुझाव दिएको पनि उनले बताए ।
भर्खरै सकिएको महाधिवेशनले प्रस्ताव नै पारित गर्दै सरकारलाई सजकता अपनाउन सुझाव दिएको जानकारी दिए । नेकपा एकीकृत समाजवादले पनि सरकारलाई महामारीको भयावहबाट सजक रहन सरकारलाई दबाब दिइरहेको जनाएको छ ।
सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसका नेताहरुले संक्रमणबाट नागरिकलाई सुरक्षित राख्न दबाब दिंदै आए पनि पार्टीले आधिकारिक निर्णय नै गरेर कुनै कदम चालेको छैन । पार्टीका कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बढ्दो संक्रमणका विषयमा आधिकारिक कुनै निर्णय नभएको जानकारी दिए ।
उनले भने, ‘नव निर्वाचित केन्द्रीय समिति आन्तरिक व्यवस्थापनमा केन्द्रीत छ । पार्टीकै नेतृत्वमा सरकार रहेकाले सोही अनुसारको तयारी सरकारलृे गरिरहेको छ । नेताहरुले सरकारलाई सुझाव दिने काम गरिरहनु भएको छ ।’
विश्वका अमेरिका, भारत, बेलायत, फ्रान्सलगायत धेरैजसो मुलुकहरूमा सङ्क्रमण बढ्दै गएको छ । अमेरिकामा एकै दिन १० लाख भन्दा बढी सङ्क्रमित थपिइरहेका छन् भने बेलायतमा दैनिक २ लाख भन्दा बढी सङ्क्रमित थपिइरहेका छन् । भारतका विभिन्न राज्यमा निषेधाज्ञा जारी भइसकेको छ ।
तर नेपाल सरकार र जिम्मेवार राजनीतिक दलहरुले कुनै आधिकारिक निर्णय गरेर सजकता नअनाएको, अधिवेशन र सभासम्मेलनका नाममा भीड बढाएको भन्दै आलोचना भइरहेको छ ।