arrow

बाँस्कोटाले गरे पत्रकारिता जगतको मानमर्दनः भन्छन् –महासंघ रेबिज लाग्या कुनै चिज जत्तिकै झैं भयो

logo
सन्जय भट्टराई,
प्रकाशित २०७८ पुष २८ बुधबार
IMG_20220112_160911.jpg

नवलपुर । नेपाल पत्रकार महासंघका सदस्य रहेका नेकपा एमालेका पोलिटब्युरो सदस्य एवं पूर्व संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफैं सदस्य रहेको पत्रकार र सिङ्गो पत्रकारिता जगतको मानमर्दन गरेका छ्न् ।

बुधबार प्रेस चौतारी नवलपुरको छैटौं अधिवेशन उद्घाटन गर्न नवलपुर आएका बाँस्कोटाले आफूले पत्रकारिता क्षेत्रको समस्या समाधान गर्न मिडिया काउन्सिल विधयेक ल्याएको तर मिडिया काउन्सिल विधयेक ल्याउँदा पत्रकार महासंघ रेबिज लाग्या कुनै चिज जत्तिकै झैं भएको आरोप लगाएका हुन् ।

बाँस्कोटाले मिडिया मालिकहरुको प्रलोभनमा परेर पत्रकार महासंघले मिडिया काउन्सिल विधेयकको विरोध गरेको आरोपसमेत लगाएका छन् ।

आफ्नो सम्बोधनको अधिकांश समय मिडिया काउन्सिल विधेयकबारे खर्चेका बाँस्कोटाले तल्लो स्तरमा झरेर पत्रकार महासंघकै मानमर्दन गरेका हुन् ।

‘मैले त सबै शब्द भन्न पनि मिल्दैन उल्टोपाल्टो  भैरन्छ, आज कस्तो लागि राछ, आज त मलाई कहिलेकाहीँ काखी बजाएर हेरौं हेरौं लाग्छ पत्रकारहरु रुँदै रुँदै रोजगारी गुम्यो भन्दा’, बाँस्कोटाले भने ।

आफैं सदस्य रहेको पत्रकार महासंघको चर्को आलोचना गरेर समय खर्चिएका बास्कोटाले नेकपा एमाले निकट पत्रकारहरुको संस्था प्रेस चौतारीले पनि आफ्नो विरोधमा बोलेको भन्दै आपत्ति प्रकट गरे ।

मिडिया काउन्सिलको विधेयकको विरोधमा ठूला भनिएका मिडियाले उचालेको भरमा विज्ञप्ति निकालेर पत्रकार महासंघ रोइकराई गरेको आरोपसमेत प्रतिनिधि सभा सांसद रहेका बाँस्कोटाले लगाएका हुन् ।

फरक प्रसंगमा बोल्दै बाँस्कोटाले आफूले पत्रकार महासंघको सदस्यता नवीकरण नगरेको तर अरु कसैले गर्दिएकोसमेत बताए । 

आफू काठमाडौं जिल्लाको दोस्रो नम्बरको सदस्य भए पनि आफूले सदस्यता नवीकरण नगरेको दाबी गरे । ‘म आफू रिन्यु गर्न नि गएको होइन कस्ले कस्ले पैसो तिरेर रिन्यु गरेछ, हेर्नुस् है रेष्टुरेन्टमा बसेर दिएको हो कि पत्रकार महासंघको कार्यालमा रिन्यु गर्या हो मलाई थाहा छैन’ बाँस्कोटाले भने ।

कार्यक्रममा बोल्दै अधिकांश समय मिडिया काउन्सिल विधेयक ठीक भएको जिकिर गरेका बाँस्कोटाले वर्तमान गठबन्धन सरकार स्थानीय चुनावबाट भाग्न खोजेको आरोप लगाए ।

उनले सरकार एमालेसँग डराएर स्थानीय चुनावको मिति सार्वजनिक गर्न डराएकोसमेत बताए । 

चुनाव भए एमालेले सबै तहको चुनाव जित्ने बाँस्कोटाको दाबी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ