- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भैरहवाको होटल टाइगर प्यालेस रिसोर्ट (टाइगर वन) र काठमाडौंको होटल सांग्रिलामा क्यासिनो चलाउने बेलायती नागरिक माइक बोलसोवर रोयल्टी नतिरी भाग्न खोज्दा अध्यागमनमा रोकिएका छ्न् । नेपाल सरकारलाई बुझाउनु पर्ने १३ करोडभन्दा बढी रोयल्टी नतिरी भाग्न लागेका क्यासिनो संचालक बोलसोवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमनमा रोकिएको हो ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेको निर्देशनपछि पर्यटन मन्त्रालयका सचिव महेश्वर न्यौपानेले अध्यागमन कार्यालयलाई सूचित गरेर सिल्भर हेरिटेज ग्रुपका प्रबन्ध निर्देशकसमेत रहेका बोलसोवरलाई नेपाल छाड्नबाट रोकेका हुन् ।
पर्यटन विभागले क्यासिनो संचालन गरेबापत बुझाउनुपर्ने रोयल्टी र नवीकरण शुल्क नबुझाएसम उनलाई नेपाल छाड्न नदिने निर्णय समेत गरिसकेको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका–६ मा संचालित होटलमा २३ कठ्ठा सरकारी जग्गामा मिचिएको विषय विवादित हुँदै आउँदा रोयल्टी प्रकरण पनि पेचिलो बन्ने देखिएको छ ।
माइकका दुई क्यासिनो बाहेक रोयल्टी नबुझाउने अन्य क्यासिनो संचालकको विवरणसमेत पर्यटनमन्त्री आले र सचिव न्यौपानेले सार्वजनिक गर्दै कारबाही अघि बढाएका छन् ।
यस्तो छ अन्य क्यासिनोको अवस्था
एसएचएल म्यानेजमेन्ट सर्भिसेज प्रालिको नामबाट होटल सांग्रिला परिसर र होटल टाइगर वन परिसरमा संचालित दुई क्यासिनोले रोयल्टी बुझाएका छैनन् ।
प्राइड इन्टरटेनमेन्ट प्रालिका नामबाट तारागाउँ रिजेन्सी होटलमा संचालित क्यासिनोले ०७८–०७९ कै रोयल्टी बुझाएको छ ।
एटलान्टिक रिक्रिएसन प्रालिको नामबाट होटल डेल अन्नपूर्णमा संचालित क्यासिनोले ०७८–०७९ को रोयल्टी तथा नवीकरण दस्तुर बुझाएको छ ।
त्यस्तै मल्ल होटल परिसर काठमाडौंमा बेल्लिज नेपाल प्रालिको नामबाट संचालित क्यासिनो, एभरेष्ट हस्पिटालिटी एण्ड होटल–होटल म्यारियटमा डेल्टइन नेपाल प्रालिको नामबाट संचालित, नेपालगञ्जको भ्यू होटल सिद्धार्थ परिसरमा ज्याकपट गेमिङ सेन्टर प्रालिको नाममा संचालित क्यासिनो, सिमराको इच्छा होटल परिसरमा स्माइल कलेक्सन प्रालिको नामबाट संचालित क्यासिनो, नेपालगञ्जको होटल सोल्टी शिवक्रिम होटेल्स तथा रिसोर्टस परिसरमा इम्पेरियल इन्टरटेनमेन्ट प्रालिको नामबाट संचालित क्यासिनो र काठमाडौंको सोल्टी होटल लिमिटेड परिसरमा माजोङ इन्टरटेनमेन्ट प्रालिबाट संचालित क्यासिनोले ०७८–०७९ सम्मकै रोयल्टी तथा नवीकरण दस्तुर बुझाएको छ ।