पुँजी बजारलाई एआई र डिजिटल प्रविधिमैत्री बनाउने सेबोनको मार्गचित्र सार्वजनिक
हाम्रा कुरा
प्रकाशित २०८३ असार ३१ बुधबार
123
Shares
काठमाडौँ। नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउने लक्ष्यसहित ‘नेपालको पुँजी बजार विकास मार्गचित्र, २०८३’ सार्वजनिक गरेको छ।
बोर्डले तीव्र आर्थिक वृद्धि, पूर्वाधार विकास र रोजगारी सिर्जनाका लागि पुँजी बजारलाई राष्ट्रिय अर्थतन्त्रको दोस्रो प्रमुख स्तम्भका रूपमा स्थापित गर्ने उद्देश्यसहित रणनीतिक योजना अघि सारेको जनाएको छ।
खुमलटारस्थित बोर्ड कार्यालयमा सार्वजनिक गरिएको मार्गचित्रबारे जानकारी दिँदै अध्यक्ष डा. गोपालप्रसाद भट्टले नेपाल अब आर्थिक सुधारको नयाँ चरणमा प्रवेश गरिरहेको र बैंक केन्द्रित वित्तीय प्रणाली मात्र पर्याप्त नहुने बताए।
उनले दक्षिण एसियाकै अग्रणी पुँजी बजार निर्माण गर्ने लक्ष्यका साथ यो योजना ल्याइएको उल्लेख गरे।
मार्गचित्रअनुसार हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २९७ भन्दा बढी कम्पनी सूचीकृत छन्।
बजार पूँजीकरण ४६ खर्ब ५६ अर्ब रुपैयाँ पुगेको छ, जुन नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को करिब ७४.२४ प्रतिशत बराबर हो।
यस्तै, डिम्याट खाताको संख्या ७९ लाख ७२ हजार नाघेको छ भने ७० लाखभन्दा बढी लगानीकर्ता ‘मेरो शेयर’ प्रणालीमा आबद्ध छन्।
सेबोनले बजारमा हुने अस्वाभाविक कारोबार, इन्साइडर ट्रेडिङ र चलखेल नियन्त्रण गर्न कृत्रिम बुद्धिमत्ता (एआई) मा आधारित बजार निगरानी प्रणाली विकास गर्ने योजना अघि सारेको छ।
साथै, पुँजी बजारलाई पूर्ण रूपमा डिजिटल बनाउन ‘क्यापिटल मार्केट मोबाइल सुपर एप’ विकास गरी कागजरहित सेवा प्रवाह गर्ने लक्ष्य पनि लिइएको छ।
मार्गचित्रअनुसार पहिलो सय दिनभित्र धितोपत्र ऐन संशोधन प्रक्रिया शुरू गर्ने, पुँजी बजार सुधार कार्यान्वयन एकाइ गठन गर्ने तथा प्राथमिक शेयर निष्काशन प्रणालीमा सुधार गर्ने योजना रहेको छ।
त्यसैगरी आगामी दुई वर्षभित्र कर्पोरेट बन्ड बजार सञ्चालनमा ल्याउने, साना तथा मझौला उद्योगका लागि छुट्टै एसएमई एक्सचेञ्ज स्थापना गर्ने तथा ग्रीन बन्ड सम्बन्धी फ्रेमवर्क लागू गर्ने योजना पनि समेटिएको छ।