arrow

एक नाम

logo
ज्ञान,
प्रकाशित २०७८ माघ ३ सोमबार
yoga.jpg

काठमाडौँ । परम पवित्र, परम कल्याणकारी नाम एउटै छ जसको ध्यान- स्मरण गर्नाले सारा संसार सागर सुक्छ। रामायणमा उल्लेख गरिएको छ-
नाम लेत भव सिन्धु सुखाहीं।
करहु विचार सुजन मन माहीं।।

भगवान्को साँचो नाममा समस्त पापहरूलाई नाश गर्ने अपार शक्ति छ अनि त्यो नाम एउटै छ । सङ्कल्प-विकल्पलाई दूर गर्नका लागि नाम जपिन्छ । जसको जप महापुरुषहरूले भक्तहरूले गरे अनि अरूलाई पनि त्यसको ज्ञान गराए भगवान् कृष्णले भन्नुभएको छ-
बाह्यस्पर्शेष्वसक्तात्मा विन्दत्यात्मनि यत्सुखम्।
स ब्रह्मयोगयुक्त्तात्मा सुखमक्षयमश्नुते ।।
ये हि संस्पर्शजा भोगा दुःखयोनय एव ते।
आद्यन्तवन्तः कौन्तेय न तेषु रमते बुधः।।

अन्त करणमा (हृदयमा) नाम जप्नेले बाहिरका सबै विषय-भोगहरूको आशक्तिलाई त्यागेर हृदयमा भगवत् चिन्तन अथवा भगवद ध्यानजनित परम आनन्दको अनुभव गर्दछ;  किनभने उसले यो राम्ररी जान्दछ कि इन्द्रियहरूको संयोगले प्राप्त हुने विषय सुख अन्त्यमा महान् दुखको कारण अनि चौरासी लाख जुनीमा पर्ने हुन्छ ।

किनकि विषयले आउँदा सुख अनि जाँदा महा कष्ट दिन्छ, यस कारण बुद्धिमान व्यक्तिले विषय सुखको आशा त्यागेर हर समय भगवान्को नामको चिन्तन गर्दछ । यद्यपि विषय सुख मूर्ख र अज्ञानीहरूका लागि अमृत तुल्य प्रतीत हुन्छ, तर जसरी विष मिसिएको पदार्थ मृत्युको कारण बन्छ, उसरी नै विषय पनि बार-बार जन्मनु र मर्नुको  कारण बन्छ । यस कारण बुद्धिमान, विचारशील व्यक्तिले विषयलाई विष समान त्यागेर प्रभुको चिन्तनमा आफ्नो मन लगाउँदछ।

स्वयं विचार गर्नुहोस् के विषयहरूको जालमा फसेर आजसम्म कसैले सुख पाएको छ? जसले पनि भगवान्लाई भुलेर विषयहरूमा आफ्नो मन लगाए, उनीहरू सबै अन्त्यमा रुँदै संसारबाट गए। विषयमा जुन सुख देखिन्छ त्यो मात्र मृग-तृष्णा हो, अन्यथा त्यसमा दुःखै-दुख मात्र छ, तर विषयासक्त मानिसहरू त्यो बिना रहन सक्तैनन् अनि गुरु सेवा, सत्सङ्ग, भक्तिको कुरालाई हाँसोमा उडाउँदछन् ।

उनीहरूका लागि आत्म- सुख कनै चीज होइन । पीप र मैला खाएर बस्ने कीरा त्यसैमा बस्न खुशी मान्दछ, त्यसले फूलको सुगन्ध र रसको बारेमा जान्दैन । जसरी लाटोकोसेरोले घाम के हो देख्दैन, उस्तै  विषय-भोगलाई नै सबै कुरा मान्नेहरूलाई आत्म-ज्योतिको  ज्ञान कहिल्यै हुँदैन । गीता अ० ५ को २३-२४ मा भनेको छ-

शक्नोतिहैव य: सोढुं प्राक्शरीरविमोक्षणात्।
 कामक्रोधोद्भवं वेगं स युक्तः स सुखी नरः।।
योऽन्तःसुखोऽन्तरारात्मस्तथान्तज्योतिरेव यः।
स योगी ब्रह्मनिर्वाणं ब्रह्मभूतोऽधिगच्छति ।।

जुन विवेकी पुरुषले देहका समस्त विकारहरूलाई वशमा गर्दछ, शरीर त्याग्नुभन्दा पहिल्यै काम-क्रोधको वेगलाई पूर्ण रूपले  सहन गर्नुमा समर्थ हुन्छ, त्यही व्यक्ति यस लोकमा योगी हो अनि आत्म-सुखको परम आनन्द उसैले प्राप्त गर्दछ । उसको लागि विषयजन्य दःखलेश मात्र पनि रहँदैन । तर जसले सदा विषयहरूको चर्चा गर्दछ, उसलाई महा दुःखी सम्झनु पर्छ ।

जसले निश्चयपूर्वक अन्तरात्माको सुखलाई जान्दछ, त्यो साधक आफ्नो तथा सबै भूत-प्राणीहरुको हृदयमा रहने परम ज्योतिमा  मिलेर एक भएको सम्झनु पर्दछ; किनभने उसैले मोक्ष गति प्राप्त गर्दछ । कामना, भय र इन्द्रियहरूलाई वशमा गर्ने तथा परमात्माको सदा चिन्तन गर्ने साधक सदा मुक्त नै रहन्छ ।

यो  प्रत्यक्ष देख्नमा पनि आइरहेको छ अनि वेद-शास्त्रहरूमा पनि उल्लेख गरेको छ कि संसारका सारा खेल एक चैतन्य महा शक्तिको इशारामा भइरहेको छ अनि उसैको इच्छाले सारा संसारको रचना भएको छ। मनुष्यको शरीरमा जबसम्म  चेतना रहन्छ तबसम्म हामीलाई भोक-तिर्खा, सर्दी-गर्मी लाग्दछ। 

अनि मल-मूत्र त्याग्ने प्रवृत्ति रहन्छ, तर जसै शरीरबाट चेतना  निस्केर जान्छ तब केही रहँदैन, शरीर मुर्दा बन्छ । जसले त्यो चेतन शक्तिलाई जान्दछ उसैलाई ज्ञानी, तत्वदर्शी भनिन्छ। एक चैतन्य ज्ञानी व्यक्तिले नै अर्को चेतन व्यक्तिलाई चेतन शक्तिको बारेमा सम्झाउँदछ जसलाई आम भाषामा गुरु र शिष्य भनिन्छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ