arrow

बाबुराम र उपेन्द्रबीच विवाद बढ्दै, रेणु प्रकरणमा दुई मत 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ ८ शनिबार
baburam-upendra.jpeg

काठमाडौं । जनता समाजवादी पार्टीभित्र अहिले डा. बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षवीच विवाद बढ्दै गएको छ । यो विवादको साइड इफेक्ट रेणु यादव प्रकरणमा पनि देखिएको छ । भौतिक पूर्वाधारमन्त्री समेत रहेकी यादवले सार्वजनिक रुपमै सिके राउतलाई ज्यान मार्ने धम्की दिए उनी अहिले विवादमा परेकी छन् । 

जसपाका बाबुराम भट्टराई पक्षधर नेताहरुले यसबारेमा छलफल गर्न पार्टीको बैठक बस्नु पर्ने माग गरेका छन् भने उपेन्द्र यादव पक्षधर नेताहरुले यो विषयलाई उचाल्न नहुने तर्क अघि सारेका छन् । 

जसपाका धेरैजसो नेताहरु अहिले भट्टराई र यादव गरी दुई कित्तामा बाँडिएका छन् । यसअघि उपेन्द्र यादवसँग नजिक भएका महेन्द्र यादव, इस्तियाक राई लगायतका नेताहरुले अहिले भट्टराईलाई साथ दिएका छन् । 

भट्टराईसँग नजिक मानिएका जसपाका कार्यकारिणी सदस्य डम्मर खतिवडाले भौतिक पूर्वाधारमन्त्री रेणु यादवको अभिव्यक्तिपछि यस बारेमा छलफल गर्न बैठक बोलाउनु उपयुक्त हुने बताए । 

आफ्नो नाम उल्लेख नगर्न आग्रह गर्दा भट्टराई पक्षका अर्का एक सदस्यले भने, ‘उहाँ (रेणु यादव) ले बोलेको विषय हामीलाई पनि मन परेको छैन । यस्ता अभिव्यक्तिले पार्टीको छवि विगार्छ ।’ 

तर यादव पक्षका नेता तथा पार्टीका कार्यकारिणी सदस्य विजय यादवले भने रेणु यादवको विषयलाई लिएर बैठक बोलाउनु पर्ने आवश्यक नभएको तर्क अघि सारे । यस्तो विषयलाई उचाल्न नहुने उनको भनाइ छ । यस्तो विषयमा राजीनामाको कुरा उठ्न नहुने उनको भनाइ छ ।  

गत भदौमा महन्थ ठाकुर, राजेन्द्र महतो, शरत्सिंह भण्डारी, अनिल झा लगायतका नेताहरुले जसपा छाडी लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका थिए । 

त्यसपछि जसपामा दुई अध्यक्षमध्ये एक अध्यक्ष पद खाली छ । ती दुबै अध्यक्ष कार्यकारिणी पद हुन् । जसपामा ठाकुर हुँदासम्म ठाकुर पहिलो नम्बरमा र दोश्रो नम्बरमा उपेन्द्र यादव अध्यक्ष  थिए ।  

ठाकुरले लोसपा खोलेपछि ठाकुरले ओगटेको पहिलो नम्बरको अध्यक्ष पद खाली भएको हो । त्यस ठाउँमा बाबुराम भट्टराईलाई ल्याउनु पर्ने भट्टराई पक्षधर नेताहरुको भनाइ छ । 

बाबुरामलाई कार्यकारिणी समितिको अध्यक्ष बनाएपछि संघीय परिषद्को अध्यक्षमा अशोक राईलाई ल्याउनु पर्ने भट्टराई पक्षधर नेताहरुको माग छ । 

भट्टराई हाल संघीय परिषद्का अध्यक्ष हुन् । जसपाको विधानमा संघीय परिषद्को अध्यक्ष पद सेरोमोनियल पद हो । यसमा जान राई पनि तयार देखिएको भट्टराइ पक्षधर नेताहरुको भनाइ छ । 

तर यसमा उपेन्द्र यादव पक्षधर नेताहरु तयार छैनन् । जसपामा दुई जना अध्यक्ष राख्न नहुने उपेन्द्र यादव पक्षधर नेताहरुको भनाइ छ । विगतमा दुई जना अध्यक्ष राख्दा त्यसको परिणाम आफूहरुले भोगिसकेको भन्दै जसपालाई एकल अध्यक्षतात्मक प्रणालीमा लैजानु पर्ने यादव पक्षधर नेताहरुको तर्क छ । 

यादव पक्षका नेता विजय यादवले भने, ‘जसपालाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानु पर्छ । दुई अध्यक्षात्मक प्रणाली असफल भइसकेको हो । यसमा हामी जानु हुँदैन ।’ 

भट्टराई पक्षधर नेताहरु भने भट्टराई जस्तो सक्रिय, अनुभवी र परिपक्व व्यक्तिलाई सेरेमोनियल पदमा राख्न नहुने तर्क राख्छन् । 

उनीहरु विधानले गरेको व्यवस्था अनुसार कार्यकारिणी समितिमा दुई जना अध्यक्ष राख्नु पर्ने अडान लिएका छन् । 

जसपा विभाजन भएको ६ महिना पनि पूरा भएको छैन । ६ महिना नबित्दै पार्टीमा विवाद शुरु हुन थालेको छ । 

पार्टीले गर्ने हरेक निर्णयमा पार्टी अध्यक्ष यादव एक्लै हावी हुने, भट्टराई भने कुनै पनि निर्णय प्रक्रियामा सहभागी हुन नपाउने अवस्था रहेको भट्टराई निकट अर्का एक नेताले बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ