- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेकपा माओवादी केन्द्रमा महासचिव को बन्ने भन्ने लफडा परिरहेका बेला लामो समय चीनमा उपचार गरी स्वदेश फर्केकै दिन पूर्व सचिव वर्षमान पुन ‘अनन्त’ ले पार्टी महासचिवमा दाबी गरेका छन् । उपचारपछि स्वदेश फर्केका पुनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्ले लगत्तै सञ्चारकर्मीमाझ पार्टी महासचिवको दाबी प्रस्तुत गरेका हुन् ।
उनले विगतमा आफू पार्टीको सचिव रहेका कारण पनि स्वभाविक रुपमा महासचिवको दाबी रहेको बताएका थिए । उनको यो दाबीपछि अर्थमन्त्रीसमेत रहेका जनार्दन शर्मालाई भने टाउको दुख्न थालेको छ । शर्माले यसअघि नै महासचिवमा दाबी गर्दै आएका छन् । शर्मालाई टक्कर दिने गरी पुनले आफू महासचिवको दावेदार रहेको बताएपछि माओवादीभित्र तरंग उत्पन्न भएको छ ।
शर्माले आफू मात्रै महासचिवको सशक्त दावेदार रहेको भन्दै संगठन विभागमा रहँदा पनि लबिङ गरेका थिए । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अनन्तको सम्बन्ध पार्टीभित्र राम्रो रहेको र प्रचण्डले नै पुन महासचिव हुने संकेत गरेपछि मात्रै विमानस्थलमा सो धारणा आएको अनुमान गरिएको छ ।
शर्माले अर्थमन्त्री बन्ने बित्तिकै पार्टीको नेतृत्व सधै एकै ठाउँमा रहँदैन भन्ने अभिव्यक्ति दिएका थिए । त्यसले गर्दा चिँढिएका प्रचण्डको ‘ग्रिन सिग्नल’ पुनतिरै रहेको बताइएको छ ।स्वास्थ्य उपचारपछि चीनबाट सोमबार साँझ स्वदेश फर्किएका नेता पुनले विमानस्थलमा सञ्चारकर्मीसँग पार्टीले आफूलाई सहमतिकै आधारमा महासचिव बनाउने दाबी गरेका थिए ।
‘पार्टीमा मैले महासचिवमा दाबी गरेको हुँ । विगतमा पनि सचिव भएर काम गरेको थिएँ । त्यसकारण महासचिवमा मेरो दाबेदारी स्वभाविक हो । छलफल हुँदै गर्दा कहाँनेर फिट हुने भन्ने कुरा समझदारीबाट गर्न सकिन्छ भन्ने मलाई लाग्छ,’ पुनले भने । उनले सहमतिमा भए पनि र निर्वाचनमा भए पनि आफूले महासचिवमा उम्मेदवारी दिने बताएका छन् ।
‘सकेसम्म सहमतिमा हुन्छ म मान्छु, प्रतिस्पर्धात्मक जस्तो, आन्तरिक जनवाद प्रयोग हुने हो भने म पनि सहभागी हुन्छु, मैले त्यो अवसर पाउनुपर्छ’, पुनले भने ।
माओवादीभित्र महासचिवका लागि पुन र शर्मा बाहेक शक्ति बस्नेत, देवप्रसाद गुरुङ, पम्फा भुषाल लगायतका नेताहरुको पनि दाबी रहेको छ । उनीहरुले सो दाबी गरिरहेका बेला पुनले विमानस्थलबाटै उम्मेदवारी घोषणा गरेका छन् ।
माओवादीभित्र पदाधिकारी चयन हुन सकेको छैन । पदाधिकारी तथा स्थायी समिति र पोलिटव्यूरो चयन नहुँदा पुर्व स्थायी समितिको बैठक राखेर काम चलाइएको छ । शनिबारको स्थायी समिति बैठकमा प्रचण्डले वर्षमान पुन फर्केपछि मात्रै पदाधिकारी चयन गर्ने संकेत गरेका थिए ।
सोही अनुसार आइतबार प्रचण्डले माघ २८ का लागि केन्द्रीय कमिटीको दोस्रो बैठक बोलाएका छन् । पुस ११ देखि एक हप्ता भन्दा बढी समय लगाएर भएको महाधिवेशनले केन्द्रीय कमिटीको चयन बाहेक पदाधिकारी, स्थायी कमिटी र पोलिटव्यूरो चयन नगरी राखेको थियो ।
पुस १८ मा बसेको पहिलो केन्द्रीय समितिको बैठकले प्रचण्डलाई अध्यक्ष बनाएपछि पदाधिकारीको चयन भने अर्को बैठकबाट गर्ने गरी बैठक सकिएको थियो ।
पदाधिकारी चयन नहुँदा पूर्व संरचनामा रहेको स्थायी कमिटीले काम चलाएको थियो । पार्टीको संस्थागत निर्णय गर्नु परेमा पूर्व स्थायी कमिटीको बैठक राखेर निर्णय गर्ने गरिएको छ ।