arrow

हामी खेलबाड किन गर्दैछौं ?

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १२ बुधबार
editorial-sampadakiya1.jpg

कोरोना भाइरसको महामारी व्याप्त छ । मंगलबार एकैदिन १२ हजार बढी संक्रमित थपिए । केही दिनको तथ्याङ्कलाई हेर्ने हो भने दैनिक दश हजारको हाराहारीमा संक्रमित थपिइरहेका छन् । निको हुनेको संख्या बढ्न सकेको छैन । संक्रमणले घरघरमा आक्रमण गरिसकेको छ । परीक्षण गरिएको संख्या बढिरहँदा परीक्षण नगरी अनुमानका भरमा बस्नेको संख्या अझ बढी छ ।

कुनै घरमा एक जनालाई परीक्षण गर्दा पोजेटिभ देखियो भने बाँकी सदस्यले अनुमानका भरमा आइसोलेसनमा बसिदिने क्रम बढी छ । लक्षण देखिए पनि परीक्षण नगरी संक्रमित नै ठानेर बस्ने बानी पनि देखिएको छ । परीक्षण नगरी घरमा बस्ने त छँदैछन् बाहिरसमेत हिँड्नेको संख्या अझ बढी छ । अर्थात् कोरोनालाई सामान्य रुघा, खोकी र ज्वरोको रुपमा लिएर आफ्नो दैनिकीमा बेपर्वाह हिँड्ने क्रम बढेको छ । त्यसमाथि स्वास्थ्य मापदण्डकोसमेत उल्लंघन उल्लेख्य भइरहेको छ ।

यसकै कारण प्रधानमन्त्री कार्यालयदेखि स्थानीय तहसम्म कोरोनाको लहरले ढाकेको छ । सबैभन्दा सुरक्षित मानिने सिंहदरबारमा मात्रै कोरोना संक्रमित कर्मचारीहरु आधाको संख्यामा छन् । सबैले परीक्षण गराउने हो भने त्यो संख्या अझै बढ्न सक्ने बताइन्छ । लापरबाही बढी भएका कारणले नै वरिष्ठ अधिकारीहरु संक्रमित छन् । मन्त्रीदेखि नेतासम्म संक्रमित भएका छन् ।

फ्रन्टलाइनमा बस्ने चिकित्सकदेखि सुरक्षाकर्मी र संचारकर्मीहरु संक्रमित छन् । कोरोना संक्रमितकै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मी बाहेकका चिकित्सकहरु झनै बढी संक्रमित पाइएका छन् । कोरोना विरुद्धको खोप लगाउन खटिएका स्वास्थ्यकर्मीदेखि स्वयंसेवकहरु संक्रमित भएका छन् । 

यसबाट के स्पष्ट हुन्छ भने लापरबाही बढी भएको छ । हामीले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनलाई हल्का रुपमा लिएका लिएका छौं । खोप लगाएकालाई धेरै संक्रमण गराएर अस्पताल नपुर्याउने भन्ने भ्रम छरिएको छ जसका कारण हामी झन् झन् बेपर्बाही बन्दै गएका छौं । तर ओमिक्रोनबाट कुनै दीर्घकालीन रोग नभएका संक्रमितले मृत्युवरण गर्नुपरेको भुलेका छौं । 

ओमिक्रोन तीव्र गतिमा फैलिइरहेकाले यसको बेगलाई रोक्नका लागि पनि स्वास्थ्य मापदण्ड पालना गर्नुको विकल्प छैन । सरकारी पक्षले आफूले पनि गम्भीर भएर स्वाथ्य मापदण्ड पालना गर्ने र सर्वसाधारणलाई पनि पालना गर्नका लागि कडिकडाउ गर्नुपर्छ । कुनै पनि निकायले यसको पालना गरिरहेको छैन भने कडा भन्दा कडा कारबाही गरोस् ।

किनकि यो एक व्यक्ति विशेषको मात्र हैन सबैको स्वास्थ्यसँग जोडिएको विषय हो । कोरोना जति बढ्दो क्रममा हुन्छ त्यत्ति नै आर्थिक अवस्था कमजोर हुँदै जान्छ । दुई वर्षदेखि अस्थिर बनेको आर्थिक क्षेत्रले सुधारको बाटो लिँदै गर्दा फेरि बढेको कोरोनाले पुरानै गतिमा फर्काउन थालिसकेको छ । आखिर हामी खेलबाट किन गर्दैर्छौं ?

सरकारले धेरै भन्दा धेरै परीक्षण निःशुल्क गराउने र सर्वसुलभ बनाइदिएर संक्रमितलाई गम्भीर नभएसम्म घरमै रहने वातावरण बनाइदिने हो भने संक्रमण धेरै फैलन पाउने छैन । नत्र ‘काल नआइ मरिँदैन’ भन्दै कुर्तक गरेर हिँड्नेहरुका कारण संक्रमण थप भयावह बन्ने निश्चित छ । सरकारले प्रशासन लगाएर थप सशक्तता अपनाओस् । ‘काग कराउँदै छ पिना सुक्दैछ’ भन्ने मानसिकता बोकेर सरकारदेखि नागरिकसम्मले बेपर्वाह हुने हो भने महामारीले अझ ठूलो रुप लिनेमा दुईमत नहोला । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ