arrow

धार्मिक अनुष्ठानमा अधार्मिक हर्कत

पशुपतिमा कोषाध्यक्ष सुवेदीको बदमासी, ८५ लाख तिर्न बाँकी प्राणनाथ क्याफेका सामान रातारात गायब

logo
गोविन्द अधिकारी,
प्रकाशित २०७८ माघ १७ सोमबार
prannath-cafe-pashupati-kosh.jpg

काठमाडौं । पशुपति क्षेत्र विकास कोषलाई ८५ लाख भन्दा बढी रुपैयाँ तिर्न बाँकी रहेको प्राणनाथ क्याफेभित्र रहेका सामग्रीहरू गुपचुप रूपमा बाहिर पठाइएको छ ।  कोषका कोषाध्यक्ष नारायणप्रसाद सुवेदीले आफ्नो पार्टी नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेश सभा सदस्य लक्ष्मण लम्सालले सञ्चालन गरेको तिलगंगास्थित प्राणनाथ क्याफे भित्र रहेका सामग्रीहरू गुपचुप रूपमा दिएका हुन् । 

कोषका अनुसार लम्सालले गत कात्तिकसम्मकै ८५ लाख २४ हजार ४७ रुपैयाँ भाडाबापतको रकम तिर्न बाँकी रहेको छ । कोषाध्यक्ष सुवेदीले पदीय दुरुपयोग गरी कोषका सुरक्षाकर्मी र आफ्नो पार्टी निकट कर्मचारीको सहयोगमा क्याफेमा रहेको करिब ३५ देखि ४० लाख रुपैयाँ सम्मका भान्सा लगायतका सामग्रीहरू लम्साललाई विना मुचुल्का दिएका छन् । 

क्याफेले मासिक भाडा रकम कोषको आर्थिक प्रशासन महाशाखामा बुझाउनु पर्ने सम्झौतामा उल्लेख छ । सम्झौतामा भाडा समयमा नतिरे १० प्रतिशत विलम्ब शुल्कसहित सोही महिनाको मसान्तभित्र शुल्क बुझाउनु पर्ने उल्लेख छ । 

यसबारे कोषाध्यक्ष सुवेदीलाई सम्पर्क गर्दा कोषले क्याफेलाई पत्र काट्ने तयारी गर्दै गरेको बताए । उनले सामानहरु क्याफेकै भएको कारण लगेका होलान् भन्दै यस विषयमा आफूलाई थाहा नभएको बताए । उनले भने,' कोषले उहाँहरूलाई पत्र काट्ने तयारी गर्दैछ । साझा सम्पत्तिमा सबैले उठाउनुपर्छ ।'  

यता कोषका कार्यकारी निर्देशक डा. घनश्याम खतिवडाले सामान नहेरिकनै एक पसलमा राखिएको बताएका छन् । उनले भने 'बक्यौता नअसुलेसम्म सामान लग्न दिइँदैन ।' 

कोषका एक जना कर्मचारीका अनुसार अरूले थाहा नपाउन् भनेर कोषाध्यक्ष सुवेदीले बिदाको दिन शनिबार साँझको समयमा सामानहरु क्याफेबाट निकाल्न लगाएका थिए । कोषका सुरक्षाकर्मीहरुलाई बोलाएर करिब ३ घण्टा लगाएर सामान निकालिएको थियो । समान सांसद लम्सालकै गाडीमा लोड गरी पठाइएको थियो । 

पशुपति क्षेत्र विकास कोषसँग सांसद लम्साल र कृष्णप्रसाद रिजालसहितका व्यक्तिहरूले २०७२ साल साउन ३२ गते प्राणनाथ क्याफे सञ्चालनको सम्झौता गरेका थिए । 

कोषको स्वीकृत गुरुयोजना अन्तर्गत तीलगंगास्थित पर्यटन सूचना केन्द्रमा पर्यटकहरूका लागि प्रवेश टिकट बिक्री काउन्टरसहित सेवा सुविधा पुर्‍याउने उद्देश्यले निर्माण गरिएको भवनमा चिया कफीको सुविधासहितको शुद्ध शाकाहारी चमेना गृह एवं सोभिनियर पसल सञ्चालनमा थियो ।

कोषाध्यक्ष बनेपछि बदमासी गतिविधि देखाउँदै आएका सुवेदीले यसअघि नै पशुपति कोषमा ट्रेड युनियन छिराइसकेका छन् । धेरैजसो संस्थामा कर्मचारीको ट्रेड युनियनले गर्दा पदाधिकारी र सञ्चालकलाई काम गर्न गाह्रो हुने बताइरहेका बेलामा कोषाध्यक्षले नै ट्रेड युनियन खोल्न सक्रियता देखाएपछि भने उनको भूमिकामाथि गम्भीर प्रश्न खडा भएको छ । 

विगतमा कर्मचारीकै युनियनका नेतासमेत रहेका कोषाध्यक्ष सुवेदीकै सक्रियतामा कोषमा नेकपा एकीकृत समाजवादी निकट कर्मचारीहरूको ट्रेड युनियन गठन भएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उनलाई कोषाध्यक्ष बनाएका थिए । 

सुवेदी नियुक्त हुने बित्तिकै आफू निकट र अन्य कर्मचारीलाई सहयोग गर्ने लालसा देखाउँदै युनियन गठन गरेको स्रोतले जानकारी दिएको छ । नेपाल निजामती कर्मचारी सङ्गठनको रूपमा रहेको ट्रेड युनियन नेकपा एकीकृत समाजवादी दल गठन भए पनि औपचारिक रूपमा दर्ता भने भएको छैन । उक्त सङ्गठनलाई औपचारिक रूपमा लैजान राष्ट्रिय भेलाको आयोजना गरिने बताए पनि हाल आफ्नो पक्षमा राख्न उक्त सङ्गठन अनौपचारिक रूपमा भए पनि गठन तथा पुनर्गठन हुँदै आएको छ । 

कोषका कोषाध्यक्ष सुवेदीले आफ्नो जिम्मेवारी भन्दा पनि राजनीति गर्नेतर्फ लागेको भन्दै अन्य कर्मचारीले आलोचना गरेका छन् । एकातिर कोषले आफ्नो दायित्व भुल्दै गएको छ भने अर्कातिर राजनीति गरेर कोषको माहौल नै बिगार्न खोजेको आरोप कोषाध्यक्ष सुवेदीमाथि लागेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ