arrow

प्रचण्ड तनावमाः पार्टी एमसीसी पेश गर्न नदिने, प्रचण्ड सरकार छाड्न नचाहने 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ १९ बुधबार
prachanda-tension.jpg
तस्बिर– फाइल

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) संसदमा पेश गर्ने कि नगर्ने भन्ने बहसले गठबन्धन दलभित्र खटपट पैदा भएको बेला माओवादी केन्द्रले सरकार छाड्ने संकेत गरेको भन्दै कार्यकर्तालाई थुम्थुम्याउने प्रयास गरेको छ । 

केन्द्रीय सदस्य र माओवादीका जनवर्गीय संगठनहरुको चर्को दबाब सहन नसकेपछि माओवादीका अध्यक्षले नेता कार्यकर्तालाई त्यस्तो संकेत गरेको स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू निकटका नेताहरुसँग ‘एमसीसी पास गर्न नसकिने भइयो दलभित्र असहमति छ त्यसबाट भाग्ने ठाउँ छैन एमसीसी संसदमा जाने हो भने सरकारमा सँगै बस्न सकिँदैन’ भनेर प्रधानमन्त्रीलाई जानकारी गराइसेको बताउन थालेका छन् ।

‘दलभित्र चरम विवाद भयो, यसले पार्टीलाई असर गर्छ, मैले सकिन भन्ने जवाफ दिइसकेको छु’, प्रचण्डको भनाई उधृत गर्दै माओवादीका एक स्थायी समिति सदस्यले भने । उनका अनुसार माओवादीका जिल्ला अध्यक्ष, प्रदेश अध्यक्ष र केही केन्द्रीय सदस्यहरुले आवश्यकता परे सरकारबाट बाहिरिन दबाब दिएको बुझेपछि प्रचण्ड आफैंले निकट केन्द्रीय सदस्य मार्फत एमसीसी संसदमा गए माओवादी सरकारबाट बाहिर आउँछ भन्ने संदेश दिएका थिए । 

सभामुख अग्निप्रसाद सापकोटाले कुनै पनि हालतमा एमसीसी संसदमा पेश गर्न नदिने बताइरहेका छन् । उनले कुनै पनि हालतमा आफूले संसदमा एमसीसी टेबुल नगर्ने बताएपछि अध्यक्ष प्रचण्ड अप्ठेरोमा परेका थिए । माओवादीका वरिष्ठ नेताहरुले केन्द्रीय सदस्य र जिल्लास्तरीय नेताहरुसँग एमसीसी संसदमा पेश हुने अवस्था आए सरकारबाट बाहिरिने तयारी गरेको जानकारी दिइरहेका छन् । 

तर माओवादीका शीर्ष नेता देवप्रसाद गुरुङले बजारमा आएजस्तो कुनै हल्ला सत्य नभएको बताए । ‘प्रधानमन्त्रीले एमसीसी संसदमा टेबुल गरौँ भन्ने प्रस्ताव गरेको चाहिँ सत्य हो तर गठबन्धनमा सहमति नभई पेश हुँदैन भन्ने पनि सत्य हो । साथै गठबन्धन टुट्छ भन्ने र सरकार छाड्ने भन्ने हल्लाचाहिँ सत्य होइन’, गुरुङले भने । 

सत्तागठबन्धन भित्रका दुई मुख्य दल माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी एमसीसी सम्झौता यथास्थितिमा संसदबाट अनुमोदन गर्ने पक्षमा नदेखिएपछि प्रधानमन्त्री निकै अप्ठेरोमा रहेका छन् । कांगेसभित्र पनि एमसीसीबारे समान धारणा नरहेका बेला प्रचण्डले एमसीसी संसदमा टेबुल गर्न नदिनु र टेबुल भए सरकारबाट बाहिरिने चेतावनी दिएको सन्देश कार्यकर्तामा पठाउनुले गठबन्धनभित्र चरम खटपट रहेको पुष्टि हुन्छ ।

यद्यपि यो विषयमा नेताहरुले कुनै धारणा सार्वजनिक गरेका छैनन् । प्रचण्डले पार्टीभित्र मनाउन नसकेपछि पार्टी नै सरकारबाट बाहिर राखेर आन्दोलनको मुड बनाएको र एमसीसी विरोधी जनमत खडा गर्न खोजेको स्रोतले जनाएको छ । 

‘सकेसम्म एमसीसी पास गराउने तहमा छलफल भएको थियो तर जनमत एमसीसी विरोधी बन्दै गएपछि पार्टीभित्र अध्यक्ष कमरेडको केही जोड चलेन अब भने सरकारबाट बाहिर बस्ने कुरा गर्नु भएको छ’, माओवादीका एक केन्द्रीय सदस्यले भने । उनका अनुसार माओवादीभित्र एमसीसीलाई पास नगराउने पक्ष बलियो रहेको छ । 

माओवादी पार्टीभित्र एमसीसी यथास्थितिमा पारित गर्ने नहुने र अर्कातिर प्रधानमन्त्री शेरबहादुर देउवा जसरी पनि पारित गर्ने पक्षमा रहँदा प्रचण्ड निकै दबाबमा परेका छन् । सभामुख सापकोटाले पदबाट राजीनामा दिने तर आफू एमसीसी अनुमोदनका लागि अगाडि नबढाउने पक्षमा रहेको बारेमा पनि प्रचण्डले पार्टीलाई चिढ्याएर एमसीसीको पक्षमा निर्णय नगर्ने पार्टी नेताहरुको दाबी छ । 

प्रचण्डले बुधबार बिहान पनि पार्टीका शीर्ष नेताहरुसँग यो विषयमा छलफल गरेका थिए । कुनै पनि नेताले एमसीसी पास गर्नुपर्ने धारणा नदिएपछि बुधबार दिउँसो प्रधानमन्त्रीसँग भेट्दा पनि प्रचण्डले पार्टीभित्र अन्तरविरोध कायमै रहेको र नेताहरुलाई मनाउन नसकिएको जानकारी दिएको बालुवाटार निकट स्रोतले जनाएको छ । 

एमसीसी १० दिनभित्र संसदमा पेश  गर्नुपर्ने र त्यसो नगरे गठबन्धन तोडेरै भए पनि एमसीसी अगाडि बढाउने पक्षमा रहेको देउवाको नीतिमा पार्टीको विवादलाई देखाएर प्रचण्डको लगाम कायमै रहेको छ ।



नयाँ