- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दोहोरो नीति लिएपछि पार्टीभित्र तीव्र आलोचना भएको छ । पार्टीका धेरैजसो नेता कार्यकर्ताहरुले यो विषयमा सोमबार दिनभर पार्टी कार्यालयमा विचार विमर्श गरी पार्टी अध्यक्षको आलोचना गरेका छन् ।
आइतबार बिहान एमसीसीलाई लेखेको प्रचण्डको हस्ताक्षर भएको पत्र सार्वजनिक भएपछि माओवादी केन्द्रका नेताहरुले शीर्ष नेताहरुलाई फोनमार्फत पार्टीको आधिकारिक धारणा सार्वजनिक गर्न माग गरेका थिए । त्यस क्रममा नेताहरुले चाँडै नै पूर्व स्थायी समितिका सदस्यहरुको बैठक बसेर एमसीसीबारे पार्टीको धारणा सार्वजनिक गर्ने आश्वसन दिएका थिए ।
यद्यपि प्रचण्डले एमसीसीलाई लेखेको पत्र सार्वजनिक भएको दुई दिन हुँदा पनि आधिकारिक धारणा सार्वजनिक नभएपछि धेरै जसो केन्द्रीय सदस्यहरु पार्टी कार्यालयमा भेला भएर प्रचण्डको आलोचना गरेका हुन् ।
माओवादी केन्द्रका केन्द्रीय सदस्यहरुले अध्यक्ष प्रचण्ड आफू त अप्ठेरोमा परेका छन् भने त्यही कारणले पार्टीलाई अप्ठेरो अवस्थामा पुर्याएको भन्दै उनीहरुले गुनासो गरेका थिए । उनीहरुले पार्टीभित्रै थप अन्योल सिर्जना भएकोमा पार्टी संगठनले घाटा पुर्याएको टिप्पणी गरेका छन् ।
प्रचण्डले एकातिर एमसीसी परिमार्जन नगरी पारित गर्न सकिँदैन भन्ने, पार्टी महाधिवेशनको दस्तावेजमा समेत एमसीसीको आलोचना गर्ने र अर्कातिर पारित गर्ने प्रतिवद्धतासहित एमसीसीलाई पत्र पठाउँदा पार्टीलाई समेत अप्ठेरो पर्ने अवस्था आएको माओवादी केन्द्रका एक केन्द्रीय सदस्यले बताए । उनका अनुसार पार्टी अध्यक्षकै दोहोरो नीति लिएका कारण अबको निर्वाचनमा समेत घाटा हुनेछ ।
‘हामीले सोचेका पनि थिएनौं प्रचण्डले नै यस्तो पत्र लेख्नु भयो होला भनेर, नेकपा कालमै सबैभन्दा बढी उहाँले नै यो एमसीसी पास हुँदैन भनेर नेताहरुलाई आश्वस्त बनाउनु भएको थियो, अहिले यो पत्र सार्वजनिक भएपछि हामी अचम्मित भएका छौं । यो विषय आउँदो केन्द्रीय कमिटीको बैठकमा उठाउनेछौं’, ती केन्द्रीय सदस्यले भने ।
उनका अनुसार माघ २७ गते बस्ने केन्द्र समितिको बैठकमा यसले प्राथमितका पाउनेछ । माघ २६ गते प्रतिनिधि सभाको बैठक बोलाइएको छ । माओवादी र नेकपा एकीकृत समाजवादी पार्टीको दबाबमा माघ १६ गते डाकिएको बैठक १० दिनलाई सभामुख अग्निप्रसाद सापकोटाले सारेका थिए ।
स्रोतका अनुसार माओवादी केन्द्रले संसद बैठक अर्को पटक पनि सार्न कोसिस गरिरहेको छ । माघ २७ को पार्टी बैठककलाई देखाएर प्रतिनिधि सभा बैठक सार्ने योजनामा रहेको माओवादी केन्द्रभित्र प्रचण्डले एमसीसीलाई लेखेको पत्रकै कारण चरम अन्तरविरोध उत्पन्न भएको ती नेताको दाबी छ ।
उनका अनुसार २७ गतेको केन्द्रीय कमिटीको बैठकपछि पार्टीको धारणा अझै स्पष्ट पारेर अघि बढ्ने अवस्था रहेको छ । ‘पार्टी अध्यक्षले जसरी गम्भीर गल्ती गर्नुभएको छ त्यसबारे छलफल हुन्छ नै । एमसीसीबारे पार्टीको धारणा पनि स्पष्ट पार्ने हाम्रो योजना रहेको छ’, ती केन्द्रीय सदस्यले भने ।
पुस ११ देखि १८ गतेसम्म भएको माओवादी केन्द्रको आठौं महाधिवेशनले परिमार्जन नगरीकन एमसीसी पारित गर्न नहुने निर्णय गरेको थियो । प्रचण्ड स्वयंले पनि राजनीतिक प्रतिवेदन पढ्दा र मन्तब्य दिने क्रममा एमसीसी परिमार्जन नगरी पारित गर्न नहुने भनेका थिए ।
माओवादीका नेताहरु देव गुरुङ अर्का नेता लिलामणि पोखरेलले महाधिवेशनको दस्तावेजभन्दा बाहिर जान नसकिने बताइसकेका छन् । उनीहरुले एमसीसीसँग सरकार साट्न नसकिने भन्दै प्रचण्डलाई चुनौती नै दिइसकेका छन् ।
उनीहरुले चुनौती दिएपछि आइतबार पनि माओवादी केन्द्रका पूर्व स्थायी समिति सदस्यहरुको अनौपचारिक बैठक बसेको थियो । सो बैठकले सरकारबाट बाहिरने सम्मको विषयलाई अघि सारेको थियो । प्रचण्डले पनि आइतबार बिहान प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सरकार छाड्ने धम्की दिएका थिए ।
पार्टीभित्र तीव्र विवाद हुन थालेपछि र केन्द्रीय सदस्य तथा पार्टी कार्यकर्ताहरुको दबाब थेग्न नसकेपछि प्रचण्डको सचिवालयले आइतबार साँझ सत्ता गठबन्धन टिकाउन एमसीसीलाई पत्रचार गर्नुपरेको भन्दै ढाकछोपको प्रयास गरेको थियो ।
एमसीसी संशोधन विना पारित नै नहुने बताउने गरेको प्रचण्डले हस्ताक्षर गरेको पत्रमा संशोधनबारे कुनै विषय नै उल्लेख नगर्दा नैतिक संकटमा परिसकेपछि सचिवालयले त्यसलाई खण्डन गर्न नसकेपछि प्रचण्डले पार्टी बैठकमा आत्मआलोचना गर्नुको विकल्प नभएको केन्द्रीय सदस्यहरुको भनाइ छ ।
देउवाका हकमा पनि पत्रको गोपनीयता कायम नगरेको र विवादित मामिला बनिसकेको एमसीसीलाई जसरी पनि अनुमोदन गर्न अग्रसरता देखाएको भन्दै आलोचना बढे पनि यसको असर कांग्रेसलाई भन्दा माओवादीलाई नै पर्ने भएकाले प्रचण्डले सार्वजनिक रुपमै आत्मआलोचना नगरे पार्टीभित्र ठूलै समस्या हुने माओवादी केन्द्रका नेताहरुले बताएका छन् ।
‘उहाँले किन दोहोरो मापदण्ड अपनाउनु भयो, कार्यकर्तालाई एउटा भन्ने शक्ति राष्ट्रसँग झुक्ने गर्नु भयो यसबारे पार्टीलाई जवाफ दिनुपर्छ, यसमा माओवादीका नेता कार्यकर्ताले ‘डिफेन्स’ गर्न सक्ने अवस्था नै छैन’, ती केन्द्रीय सदस्यले भने ।