arrow

याक एन्ड यतिको पाँच तारे वर्गीकरण इजाजत रद्द

logo
रासस,
प्रकाशित २०७८ माघ २६ बुधबार
yak-yeti-hotel.jpg

काठमाडौँ। काठमाडौँमा रहेको याक एन्ड यति होटेलको नाममा सञ्चालित क्यासिनोले राज्यलाई बुझाउनु पर्ने रु ४२ करोड रोयल्टी नबुझाएको भन्दै उक्त होटेलको पाँच तारे वर्गीकरण र क्यासिनो सञ्चालनको इजाजत रद्द गरिएको छ। सरकारलाई बुझाउनुपर्ने रोयल्टी पटक पटक ताकेता गर्दा पनि नबुझाएकाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा सो इजाजत रद्द गरिएको हो।

बुधवार याक एन्ड यति होटेल लिमिटेड, दरबारमार्गको क्यासिनो सञ्चालन इजाजत पत्र र होटेल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले जानकारी दिए। नेपाल सरकारले विसं २०४८ पुस २२ गते उक्त होटेलको नाममा क्यासिनो सञ्चालनको इजाजत पत्र जारी गरेको थियो।

नेपाल सरकारलाई तिर्नु, बुझाउनुपर्ने रोयल्टी, इजाजत नवीकरण दस्तुर लगायतको रकम कानुन बमोजिम होटेलले दाखिला नगरेका कारण कुमारी चोक तथा केन्द्रीय तहसिल कार्यालयमा लगत कसिएको तथा यस विभागको अभिलेखमा आर्थिक वर्ष २०७६–०७७ सम्मको बाँकी बक्यौता आर्थिक वर्ष २०७७–०७८ को इजाजत पत्र नवीकरण दस्तुर, आव २०७८–०७९ को रोयल्टी दस्तुर समेत गरी रु ४२ करोड २५ लाख ६८ हजार २५३ रुपैयाँ ४२ पैसा नबुझाएकाले कानुनअनुसार क्यासिनो सञ्चालन इजाजत पत्र र होटेल स्तर वर्गीकरण प्रमाणपत्र रद्द गरिएको मन्त्री आलेले बताए।

पर्यटन विभागले यो निर्णय कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र सहयोग गरिदिन गृह मन्त्रालयलाई पत्राचार गरेको छ। त्यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई उक्त होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राखिदिन पनि पत्राचार गरिएको छ। त्यस्तै राष्ट्र बैङ्कलाई उक्त होटेलको नाममा बैङ्क तथा वित्तीय संस्थामा रहेका बैङ्क खाता तथा वित्तीय कारोबार रोक्का गरिदिन समेत अनुरोध गरेको छ।

बाँकी बक्यौता दाखिला गर्न गत कात्तिक ७ मा ३५ दिने र मिति २०७८ पुस २७ गते १५ दिने अवधि तोकी पत्राचार गरिएको थियो। उक्त रकम दाखिला नगरेको देखिएकाले यही माघ १९ गतेको गोरखापत्रमा ७ दिनभित्र क्यासिनो सञ्चालन बापतको रोयल्टी लगायतका रकम दाखिला गर्न सूचना प्रकाशन गर्दा पनि तोकिएको अवधिभित्र दाखिला नगरेकाले क्यासिनो नियमावली, २०७० को नियम १४ बमोजिम त्यस होटेलको नाममा जारी भएको क्यासिनो सञ्चालन इजाजत पत्र रद्द गर्ने, होटेलको पाँच तारा स्तरको वर्गीकरण प्रमाणपत्र रद्द गर्ने, होटेलको नाममा रहेको सम्पूर्ण अचल सम्पत्ति रोक्का राख्ने र बैङ्क तथा वित्तीय संस्थामा रहेका बैङ्क खाता तथा वित्तीय कारोबार रोक्का राख्ने निर्णय गरिएको हो।

विभागले बुधवारै उक्त होटेललाई होटेल तथा क्यासिनो सञ्चालन नगर्न  नगराउन सूचना पनि पठाइएको जनाएको छ।

 



नयाँ