arrow

विद्रोहको बेग रोक्न नसकेर प्रचण्डले गरे बैठक नै अनिश्चित समयका लागि स्थगित 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ माघ २७ बिहिबार
prachanda-final1.jpg
तस्बिर– फाइल

काठमाडौं । सत्ता गठबन्धनमा रहेको नेकपा माओवादी केन्द्रले शुक्रबार र शनिवार बोलाएको केन्द्रीय समितिको बैठक आन्तरिक कारणले अनिश्चित समयका लागि स्थगित गरेको छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)लाई गरिएको पत्राचारका कारण पार्टीभित्रको विवादलाई थेग्न नसकेर बैठक स्थगित भएको हो ।

‘एमसीसी लगायतका विषयमा राष्ट्रिय बहस चलिरहेको र त्यसबारेमा सत्ता गठबन्धनभित्रै थप बहस र छलफल गर्नुपर्ने भएकाले अध्यक्ष कमरेडको समय अभावका कारण बैठक केही समयका लागि पर सार्नु परेको हो अन्यथा कुनै कारण छैन’, पार्टीका कार्यालय सचिव श्रीराम ढकालले भने । तर पार्टीभित्र एमसीसी मूख्यालयलाई लेखेको पत्रले तीव्र विरोध उत्पन्न भएको छ । 

खासगरी माओवादीभित्र प्रचण्ड विदेशी सामु झुकेको, सत्ता गठबन्धनलाई एमसीसीसँग साटेको जस्ता आरोप लागेपछि आउँदो बैठक नै सार्नुपर्ने अवस्थामा पुगेको माओवादीका एक पूर्व स्थायी कमिटी सदस्यले भने । उनका अनुसार शुक्रबार र शनिबारको बैठक सार्नुमा पहिलो कारण एमसीसीलाई लिएर पार्टीभित्र तीव्र ध्रुवीकरण हुनु र दोस्रो कारण पार्टीभित्र महासचिव चयनको विषय पेचिलो बन्नु नै हो ।

‘एमसीसीमा अडान देखिएन, आम पार्टी नेता कार्यकर्तासँग एउटा प्रतिबद्धता आयो, तर प्रधानमन्त्रीसँग बसेर खुसुक्क चिठी लेख्ने काम भयो जसले गर्दा पार्टीको संगठन नै ध्वस्त हुने अवस्थमा पुगेको छ’, पूर्व स्थायी समिति सदस्यको दाबी छ । 

नारायणकाजी श्रेष्ठ, देव गुरुङ, कृष्णबहादुर महरा, अग्निप्रसाद सापकोटा, वर्षमान पुन, हरिबोल गजुरेल, लिलामणी पोखरेल, शक्ति बस्नेत जस्ता नेताहरु नै प्रचण्डको दोगला चरित्र र प्रवृत्तिको विषयमा तीव्र आलोचना गर्न थालेपछि उनले त्यो दबाब झेल्न अवस्था नभएकै कारण केन्द्रीय समितिको बैठक स्थगित गराएका हुन् । 

अब बस्ने केन्द्रीय समितिको बैठकमा प्रचण्डले एमसीसी मूख्यालयलाई लेखेको पत्रको विषयलाई सदस्यहरुले जोडदारसँग उठाउने र पार्टीभित्र अल्पमतमा पर्ने अवस्था भएपछि प्रचण्डको निर्दैशनमा बैठक स्थगित गरिएको माओवादी स्रोतले जनाएको छ ।

‘एमसीसीमा प्रचण्डको दोहोरो नीति देखियो, यस्तो नीति त कुनै पनि नेताले गर्दैनन् पार्टीभित्र एउटा प्रतिबद्धता गर्ने प्रधानमन्त्री शेरबहादुर देउवासँग गएर खुसुक्क पत्रचार गर्ने रु यसले प्रचण्डमा विर्सजनवाद मात्रै देखिएन, आत्मसर्मपणवाद पनि हावी भयो, त्यसकारण यो विषयले पार्टीभित्र तीव्र आलोचना जन्माएको छ, केन्द्रीय सदस्यहरुनै प्रचण्डलाई माफी मगाउने, आत्मआलोचना गराउने पक्षमा छन् । यसलाई छल्न प्रचण्डकै निर्देशनमा शुक्रबार , शनिवार तय भएको केन्द्री समितिको बैठक रोकिएको हो’, माओवादीका एक नेताले भने । 

त्यसैगरी ती नेताका अनुसार अध्यक्षले प्रचण्डले केन्द्रीय समितिको बैठकमा नगई पूर्व स्थायी समितिको सदस्यहरुबाटै महासचिव छान्न खोजेकाले पनि माओवादीभित्र अर्को विवाद सिर्जना भएको थियो । 

‘अध्यक्ष आफैंले खल्तीबाट महासचिव छान्न खोजेको देखियो, जसलाई ल्याउने हो उहाँलाई केन्द्रीय समितिकै बैठकमा पेश गर्दा नै राम्रो हुन्थ्यो उहाँले आफ्नै खल्तीको मान्छे जसरी पेश गर्दा जो महासचिव बन्ने हो उसले पनि राम्रोसँग काम गर्न पाउँदैन भनेर हामीले सल्लाह दिएका थियौं तर उहाँले सहमतिको नाममा कोही एक व्यक्तिलाई प्रस्ताव गर्न खोज्दा विवाद बढेको थियो’, उनले दाबी गरे । 

स्रोतका अनुसार प्रचण्डले वर्षमान पुनलाई महासचिव बनाउने तयारी गरेपछि महासचिवका आकांक्षीहरुले केन्द्रीय सदस्यहरुबाटै छान्नु पर्ने बताएका थिए । 

जनार्दन शर्मा, देव गुरुङ, शक्ति बस्नेत, पम्फा भुषाल लगायतका नेताहरुले महासचिव छान्ने जिम्मा केन्द्रीय सदस्यहरुलाई दिन आग्रह गरेका थिए । 

अहिले माओवादी केन्द्र पदाधिकारी, स्थायी समिति, पोलिटव्यूरोविहीन भएको छ ।  

पुसमा ११ देखि १८ गतेसम्म काठमाडौंमा भएको आठौँ राष्ट्रिय महाधिवेशनअघि माओवादी केन्द्रको स्थायी समिति १६ सदस्यीय थियो । 

अहिले त्यही स्थायी समितिबाट काम चलाउन थालिएको छ । महाधिवेशनबाट नयाँ नेतृत्व आएसँगै पदाधिकारी, स्थायी समिति र पोलिटब्युरो सदस्यको टुंगो लगाउने प्रयास गरिए पनि अहिलेसम्म दोस्रो केन्द्रीय समितिको बैठक नै बस्न सकेको छैन ।

 अहिलेसम्म माओवादीको बैठक तेस्रो पटक स्थगित भएको छ ।



नयाँ