arrow

राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोजिँदै छ : प्रचण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १ आइतबार
prachanda-final1.jpg

काठमाडौं ।  नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशलाई राजनीतिक सङ्कटको भुमरीमा  लैजान खोजिएको बताएका छन् । २७ औं ‘जनयुद्ध दिवस’को अवसरमा नयाँ ऊर्जासहित नयाँ एकता कायम गरेर अगाडि बढ्न सबै क्रान्तिकारी शक्तिलाई आह्वान गर्दै अध्यक्ष प्रचण्डले राजनीतिक सङ्कटको भुमरीमा देशलाई लैजान खोज्ने प्रवृत्तिका विरुद्ध उभिन आग्रह गरेका छन् । 

जनताको सचेत पहलका साथ गत वर्ष प्रतिगमनलाई परास्त गरेको स्पष्ट पार्दै उनले प्रतिगमन विरोधी गठबन्धनलाई टुटाउनका लागि प्रयास भइरहेको आशङ्का व्यक्त गरे  । अध्यक्ष प्रचण्डले संविधानको रक्षा, राष्ट्रियताको सम्वद्र्धन गर्ने लक्ष्यका साथ सुरु भएको सहकार्य अझै अगाडि बढ्ने विश्वास व्यक्त गरे । 

माओवादीले २०५२ साल फागुन १ गते सशस्त्र सङ्घर्ष घोषणा गरेको दिनको स्मरणमा आज २७ औं जनयुद्ध दिवस मनाएको हो । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई प्रचण्डले सम्बोधन गर्दै जनयुद्ध र जनआन्दोलनले नयाँ एकता पैदा गरेकै कारणले नयाँ संविधान जारी हुन सफल भएको र एवं नयाँ राष्ट्रिय एकता कायम गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको बताए । उनले सबै प्रदेश सरकार र सङ्घीय सरकारले समेत जनयुद्ध दिवस मनाउन आग्रह गरे । 

उनले नयाँ राजनीतिक परिवर्तन र एकतालाई सुरुदेखि नै केही समूह र व्यक्तिलाई मन नपरेको र त्यसको बाछिटा हालसम्म पनि देखा परिरहेको उल्लेख गरे । माओवादीका नेता तथा कार्यकर्ताको तेजोबोध गर्न कसरी सकिन्छ भन्नेमा केही मानिस दिनरात नभनी लागि परेको उनको भनाइ छ ।  

जनयुद्धबाट प्राप्त भएका परिवर्तनलाई कमजोर पार्न सकिन्छ, स्वाधीनता र राष्ट्रियताको आन्दोलनलाई कमजोर पार्ने प्रयास भइरहेको उल्लेख गर्दै उनले प्राप्त अधिकार र राष्ट्रिय स्वाधीनताका पक्षमा थप सङ्कल्प गर्नुपर्ने आवश्यकता औँल्याए । 

उनले पाँच दलीय गठबन्धन कुनै परियोजना वा त्यससँग भएको सहमतिका आधारमा नबनाएको उल्लेख गर्दै राष्ट्रियताको सम्वद्र्धन, लोकतन्त्रको रक्षाका लागि प्रतिबद्ध हुनु नै देश र जनताको हितमा हुने स्पष्ट पार्नुभयो । खास परियोजना गर्ने वा नगर्ने भन्ने आधारमा गठबन्धनको भाग्य र भविष्यका बारेमा कोही कसैले सोच्छ भने त्यो देश र जनताका लागि समेत राम्रो नहुने उनको भनाइ छ । 



नयाँ