- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काभ्रेपलान्चोक। नेपाली काँग्रेसका महामन्त्री गगन थापाले स्थानीय तहको निर्वाचनमा आवश्यकताअनुसार गठबन्धन हुने बताएका छन्। बनेपास्थित नेपाली काँग्रेस काभ्रेपलान्चोकको जिल्ला कार्यालयमा सोमबार साँझ नेता, कार्यकर्तासँगको भेटघाटमा केन्द्रीय निर्देशनले स्थानीय तहको निर्वाचनमा कुनै असर नगर्ने समेत दाबी गरे।
“कुन पालिकामा कुन दलसँग गठबन्धन गर्ने भन्ने कुरा पालिका समिति, जिल्ला कार्यसमिति लगायत जिल्ला तहबाटै निर्क्योल गर्ने हो, यसो गर्दा मात्रै उपलब्धि हासिल गर्न सकिन्छ”, थापाले भने। केन्द्र निर्देशित गठबन्धनले स्थानीय निर्वाचनमा अपेक्षित उपलब्धि प्राप्त गर्न निकै गाह्रो हुने उनले बताए। उनले भने, “निर्वाचन सरकारले तोकिएकै समयमा हुन्छ, कसैले हुन्न भन्ने हल्ला गरेर नहुने होइन, ढुक्क हुनुस् सरकार निर्वाचन गर्न तत्पर छ।”
नेता थापाले टोल समितिले पार्टी बलियो हुने बताए। उनले पार्टी सङ्गठनको सबैभन्दा तल्लो निकाय टोल समिति रहेकाले सबैभन्दा बलियो बनाउनुपर्ने उल्लेख गर्दै टोल टोलमा काँग्रेसको समिति बनाएर पार्टीलाई बलियो बनाउन निर्देशनसमेत दिए। “टोल टोलमा काँग्रेसलाई क्रियाशील बनाउन जरुरी छ, यसले मात्रै पार्टी बलियो हुन्छ”, उनले दोहोर्या।
नेता थापाले प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर राणाविरुद्धको महाअभियोग स्वाभाविक रहेको बताए। उनले भने, “उहाँमाथि थुप्रै आरोप छन्, न्यायालयलाई ध्वस्त पार्ने उहाँकै भूमिका हो।” उनले आफू निकै अघिदेखि प्रधानन्यायाधीश राणाविरुद्ध महाअभियोगको पक्षमा रहेको दाबीसमेत गरे।
नेपाली काँग्रेस काभ्रेपलान्चोकले फागुन १ गतेदेखि वडा स्तरमा सङ्गठन विस्तार अभियान सञ्चालन गरिरहेको छ। ७ गतेसम्म सङ्गठन विस्तार अभियान अन्तर्गत वडा स्तरमा भातृ सङ्गठन विस्तार, सदस्यता वितरण तथा टोल समितिसमेत गठन गर्ने जनाइएको छ। पार्टी सङ्गठनलाई सुदृढ एवं चलायमान बनाउने अभियान अन्तर्गत नै जिल्लाका छ नगरपालिका र सात गाउँपालिकाको १३५ वडामा सङ्गठन विस्तार गरिने उपाध्यक्ष रमेशप्रसाद हुमागाईँले जानकारी दिए।