आम जनता पार्टीदेखि स्वतन्त्रसम्म: दाङका कुन–कुन उम्मेदवारले बुझाएनन् चुनावी खर्च ?
हाम्रा कुरा
प्रकाशित २०८२ चैत १७ मंगलबार
733
Shares
काठमाडौँ । दाङमा गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका १० जना उम्मेदवारले अझैसम्म आफ्नो चुनावी खर्चको विवरण बुझाएका छैनन्। जिल्लाभरबाट प्रतिस्पर्धामा रहेका कुल ६० उम्मेदवारमध्ये ५० जनाले विवरण बुझाए पनि बाँकी १० जनाले कानुनी समयसीमा बेवास्ता गरेका हुन्।
लुम्बिनी प्रदेश निर्वाचन कार्यालय दाङका सूचना अधिकारी गेहेन्द्र कुँवरका अनुसार निर्वाचन क्षेत्र नं. १ बाट १ जना, क्षेत्र नं. २ बाट ५ जना र क्षेत्र नं. ३ बाट ४ जना उम्मेदवारले खर्च विवरण बुझाउन बाँकी छ। विवरण नबुझाउनेहरूमा आम जनता पार्टी, जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी लगायतका दलका उम्मेदवार र स्वतन्त्र उम्मेदवारहरू रहेका छन्।
निर्वाचन ऐन, २०७४ को दफा ७२ अनुसार निर्वाचन परिणाम घोषणा भएको ३० दिनभित्र प्रत्येक उम्मेदवारले आफ्नो चुनावी खर्चको फेहरिस्त सम्बन्धित निर्वाचन कार्यालयमा बुझाउनुपर्ने अनिवार्य कानुनी व्यवस्था छ। तोकिएको समयभित्र खर्च विवरण नबुझाउने उम्मेदवारहरूलाई निर्वाचन आयोगले जरिवाना गर्ने वा भविष्यमा हुने निर्वाचनमा उम्मेदवार बन्न रोक लगाउनेसम्मको कारबाही गर्न सक्ने प्रावधान छ।