arrow

स्वास्थ्यमन्त्री खतिवडालाई बर्खास्त गर्न एमालेको माग

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३ मंगलबार
ncp-uml-party-head-office-hq-oli.jpg
फाइल तस्बिर

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले स्वास्थ्य मन्त्री विरोध खतिवडाको राजीनामा माग गरेको छ। खतिवडाले हालै टेलिभिजनको एक कार्यक्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेला कोभिड विरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति गैर जिम्मेवार रहेको र यस्तो झुटो बोल्ने व्यक्ति मन्त्रीजस्तो गरिमामय पदमा बसिरहन नहुने भन्दै राजीनामा मागेको हो।

एमालेले मङ्गलवार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्य मन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ। सिभिल अस्पताल, बानेश्वरमा उनले पहिलो मात्रा खोप १९ फागुन २०७७ मा लगाएको अभिलेख सुरक्षित छ। तत्कालीन सरकारले १९–२१ फागुन ०७७ फागुनसम्म सङ्घीय संसद्का सदस्यहरूलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिस्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै हस्ताक्षर समेत गर्नुभएको छ। उक्त अभिलेखमा ६२ वर्षका खतिवडाले ब्याच नं  ४१२०  जेड ००४  को कोभिसिल्ड खोप लगाएको स्पष्ट छ। सांसदहरूका लागि सरकारले दोस्रो डोज संसद् भवन, बानेश्वरमा र तेस्रो डोज सीसीएमसी कार्यालय परिसरमा व्यवस्था गरेको कुरा सबैलाई विदितै छ।’

स्वास्थ्य मन्त्री खतिवडाको यो अभिव्यक्ति पूर्ववर्ती सरकारलाई बदनाम गर्नका लागि मात्रै दिएको एमालेको दाबी छ। स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैर जिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक रहेको एमालेले जनाएको छ।

आमजनता कोभिडबाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको उक्त अभिव्यक्तिको निन्दा र भर्त्सना गर्दै झुट बोल्ने व्यक्ति नैतिक रूपमा मन्त्री पदमा बसिरहन अनुचित नहुने जारी विज्ञप्तिमा उल्लेख छ।

यही कारण उनले तत्काल राजीनामा गर्नुपर्ने एमालेको माग छ। साथै, आफ्ना मन्त्रीको यस्तो गैर जिम्मेवार अभिव्यक्ति र व्यवहारप्रति संवेदनशील हुँदै उनलाई मन्त्री पदबाट बर्खास्त गर्न एमालेले प्रधानमन्त्रीको ध्यानाकर्षणसमेत गराएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ