arrow

देउवाले प्रचण्डलाई भने - ‘एमसीसी पास गर्ने पार्टीको निर्णय हो, ब्याक हुन सकिँदैन’

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ४ बुधबार
deuba-prachanda-final-433.jpg
फाइल तस्बिर

काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' बीच बुधवार एक्ला एक्लै वार्ता भयो। प्रतिनिधि सभाको आजको बैठकमा एमसीसी टेबल गर्न प्रधानमन्त्री देउवाले जोड गरिरहँदा माओवादी केन्द्रको संसदीय दलको बैठकले यथास्थितिमा एमसीसी पास गर्न खोजिए सरकारबाट बाहिरिने निर्णय गरेपछि दुई नेताबीच भेटवार्ता भएको थियो।

एक्ला एक्लै भएको भेटपछि नेताहरूले आफूहरू निकटका नेताहरूलाई छलफलबारे जानकारी गराएका थिए। प्रचण्डले पार्टीमा अधिकांश एमसीसीको विपक्षमा रहेकाले परिमार्जन नगरी एमसीसी पास गर्न नसक्ने स्थानमा पुगेको बताएपछि प्रधानमन्त्री देउवाले जसरी पनि पास गर्नुको विकल्प नभएको बताएका थिए। 

गठबन्धन भित्र नै विरोध देखिएपछि आफू समस्यामा परेको भन्दै देउवाले बनेको स्रोतको भनाइ छ। 'गठबन्धन बनाइयो तर तपाईँहरूले नै विरोधमा निर्णय गर्नु भयो यसले समस्या पर्‍यो' देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो। अन्तर्राष्ट्रिय स्तरमा नेपालको छविमा नकारात्मक असर गर्ने देउवाको भनाइ थियो। 

वैदेशिक सहायता, अनुदानमा रोकावट आउने भन्दै यसले दीर्घकालीन रूपमा समस्या पर्ने र सरकार पनि अप्ठ्यारोमा पर्ने देउवाको भनाइ थियो।

'अमेरिकाले असहयोग गर्दा विश्व बैङ्क, मुद्रा कोष, एसियाली विकास बैङ्क लगायत प्राप्त हुने कुराहरू हुँदिनन्' देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो, 'भारत लगायतका देशले पनि सहयोग नगर्ने अवस्था बन्न जान्छ।'

देउवाले बारम्बार भने, 'तपाईँले सरकारको बाध्यता बुझिदिनु पर्‍यो।' सरकारले विकास निर्माणलाई प्राथमिकतामा राखेर अघि बढ्नु पर्ने भएकाले एमसीसी पास गर्नुको विकल्प नभएको देउवाको भनाइ थियो।

आफ्नो पार्टीले एमसीसी पास गर्ने निर्णय गरिसकेकाले प्रधानमन्त्री र पार्टी सभापति भएपछि त्यसको कार्यान्वयनमा लाग्नु पर्ने बाध्यता रहेकोमा उनको जोड थियो। 

'तपाईँ पार्टीका कारण गर्न नसक्ने भएपछि मैले पनि त पार्टी निर्णय अनुसार अघि बढ्नु पर्ने हुन्छ' देउवाले प्रचण्डलाई भनेका थिए। 

देउवाले प्रचण्डलाई एमसीसीको विपक्षमा मतदान गरे पनि सरकारमै बस्न र गठबन्धन कायम गर्न सकिने प्रस्ताव पनि गरेको स्रोतको दाबी छ। तर प्रचण्डले विपक्षमा मत दिएपछि नैतिकताको आधारमा सरकार र गठबन्धनमा रहन नमिल्ने तर्क गरेका थिए।

दुई जनाबीच कुनै ठोस निर्णय नभएपछि गृहमन्त्री बालकृष्ण खाँण र अर्थमन्त्री जनार्दन शर्मालाई बैठकमा बोलाइएको थियो। खाँण उपस्थित भए पनि धेरै बेर सम्म अर्थमन्त्री उपस्थित नभएपछि चार जनाबीचको बैठक भने हुन नसकेको स्रोतको भनाइ छ। त्यसपछि नेताहरूबिच भोलिका लागि गठबन्धनको बैठक बोलाउने सहमति जुट्यो।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ