दलहरुबीच सहमति नबन्दा भित्र बैठक स्थगित, बाहिर आन्दोलनकारी उग्र बनेपछि अश्रुग्यास
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १२ बिहिबार
719
Shares
काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे निर्णय गर्न प्रतिनिधि सभाको बैठकमा आज छलफल गर्ने कार्यक्रम थियो । दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो । बैठकअघि सत्ताधारी दलको छलफल पनि भयो । परामर्श समितिको बैठक पनि बस्यो । बैठकले एमसीसीबारे संसदमा बोल्न चाहने सांसदलाई बढीमा पाँच मिनेट बोल्न दिने सहमति पनि गर्यो ।
तर दिउँसो १ बजेलाई लागि बोलाइएको बैठक करिब २ बजे स्थगित भएको सूचना जारी गरियो । संसद सचिवालयले आजका लागि बोलाइएको बैठक भोलि दिउँसो १ बजे बस्ने गरी स्थगित भएको जानकारी दिएको छ ।
बैठक बस्नुको सट्टा सत्ताधारी दलहरु छलफलमा जुटेपछि अन्ततः बैठक स्थगित भएको हो । यता प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले भने बैठक अवरुद्ध गर्ने जनाएको थियो । उसले आफू सत्ताबाट हटेदेखि निरन्तर संसद बैठक अवरुद्ध गर्दै आएको छ ।
संसद सचिवालयले. भोलि दिउँसो १ बजे बैठक बस्ने गरी सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले आजको प्रतिनिधि सभा बैठक स्थगित गरेको जनाएको छ ।
एमसीसीको विषयमा विगत ११ वर्षदेखि चर्चा चलिरहेको छ । यो समयबीचका सबै सरकारले एमसीसीको सहयोग नेपालमा ल्याउन नै पहल गरे । तर अहिले आएर भने यसले राजनीतिक रुप लिएको छ ।
यसकै कारण नयाँ बानेश्वर क्षेत्र जुन दिन संसद खुल्छ त्यही दिन रणभूमिमा परिणत हुँदै आएको छ । ट्राफिक व्यवस्था अस्तव्यस्त हुने गर्छ भने सर्वसाधारणले उक्त क्षेत्रका सडक प्रयोग गर्न पाउँदैनन् ।
कम्युनिष्ट घटकहरु निकै नै आक्रामक भएर प्रस्तुत हुँदै आएका छन् । तर यसअघि उनीहरुले नै एमसीसीका लागि पहल गर्नेदेखि हस्ताक्षर गर्ने र संसदमा पेश गर्ने काम गरेका थिए ।
तिनीहरु नै अहिले आन्दोलनमा छन् । जबकि उनीहरु त्यतिबेला गल्ती भयो भन्न तयार छैनन् । तर राजनीतिक मुद्दा बनाएर कार्यकर्तालाई जबरजस्ती देशभक्तको पाठ पढाइरहेका छन् ।
अमेरिकाको खर्बौं सहयोग लिँदा केही नहुने र आफ्ना छोराछोरीलाई अमेरिका पठाउन पाए जीवन सबल हुन्थ्यो भनेर मन्त्र जपिरहने नेताहरुले अहिले जनता उक्साएर सडकमा पठाएका छन् ।
जसका कारण असुरक्षा बढेको छ । आक्रामक बनेका कार्यकर्ता तोडफोडमा आएका छन् । सुरक्षाकर्मीमाथि जाइलागेका छन् । सार्वजनिक सम्पत्तिको क्षति भएको छ ।
सुरक्षाकर्मीले वाध्य भएर कहिले पानीको फोहरा त कहिले अश्रुग्यास प्रहार गरिरहेको छ ।