arrow

११ वर्षदेखिका सरकार एमसीसीका साक्षी, सबैको आ–आफ्नो भूमिका

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ११ बुधबार
mcc-nepal-government-processors.jpg
ग्राफिक्स – बिना सुवेदी

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) को विषयले नेपालमा प्रवेश पाएको ११ वर्ष बितिसकेको छ । २०६७ सालदेखि निरन्तर एमसीसीले स्थान पाउँदै गएको छ । त्यसयताका हरेक सरकारले केही न केही भूमिका एमसीसी नेपालमा ल्याउनका लागि भूमिका खेलेका छन् । तर अहिलेसम्म एमसीसी पारित भएको छैन । 

मिलेनियम च्यालेन्ज एकाण्ट नेपाल विकास समिति (एमसीए–नेपाल) का अनुसार सन् २००४ मा स्थापना गरिएको एमसीसी अमेरिकी सरकारको एउटा स्वतन्त्र निकाय हो । यस निकायले विभिन्न देशलाई आर्थिक वृद्धि मार्फत गरिबी घटाउनको लागि गर्नुपर्ने लगानीका निमित्त अनुदान दिएर सघाउने काम गर्छ ।

हालसम्म विश्वका ४६ देशलाई एमसीसीले यस प्रकारको अनुदान उपलब्ध गराएको छ ।

यही एमसीसी गत फागुन ८ गते प्रतिनिधि सभामा टेबल भएको छ । यसअघि पनि केपी शर्मा ओली नेतृत्वको सरकारले संसदमा एमसीसी दर्ता गरेको थियो । 

अमेरिकाले दिने ५० करोड अमेरिकी डलरको सहयोग परियोजना प्रतिनिधि सभाबाट बहुमतले पारित भएपछि मात्र लागू हुन्छ । नत्र यो परियोजना लागू नहुने प्रावधान छ । 

एमसीसीले सबैभन्दा बढी चर्चा भने अहिले नै पाएको छ । किनकि यसपालि अमेरिकाले पनि अन्तिम समय भनेर तोकेर दिएको छ । अर्थात् यसपटक नेपालले यसलाई पारित गरेन भने परियोजना फिर्ता जान  पनि सक्छ । 

यो परियोजना नेपालको विद्युत प्रशारण लाइन र सडकको स्तर सुधार गर्नका लागि हो । अमेरिकाले दिने यो अनुदान हो । 

तर यसलाई पारित गर्ने सन्दर्भमा भने सत्ता गठबन्धनमै विरोधाभाष देखिएको छ । सत्ताधारी दलको नेतृत्व गरेको नेपाली कांग्रेस एमसीसी पारित गर्नुपर्ने पक्षमा छ भने नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चा विरोधमा छ । 

जनता समाजवादी पार्टी (जसपा) नेपाल भने ‘फिफ्टी–फिफ्टी’ को को स्थितिमा छ । यो स्थितिले सत्ताभित्रैबाट एमसीसी पारित हुने देखिन्न । तर प्रमुख प्रतिपक्ष दल नेकपा एमाले अहिलेसम्म खुलेको छैन । 

एमालेले सघाउने हो भने एमसीसी सजिलै पारित हुन्छ । आखिर एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसअघिको सरकारको नेतृत्व गर्दा एमसीसी पारित गर्नका लागि पेश गरेकै हुन् । यद्यपि संसदमा अगाडि बढ्न सकेन । 

कसले कस्तो भूमिका खेले भन्ने प्रसङ्ग जोड्नुअघि जो सत्ताको नेतृत्व सम्हाल्न पुगे उनीहरुले एमसीसीलाई अगाडि बढाउन खोजे । तर प्रतिपक्षमा बस्दा होस् वा सत्ताको सहयात्री बन्दा भने उनीहरु गैरजिम्मेवार बनेका छन् । ।

सन् २०१७ अगस्तमा बसेको एमसीसी सञ्चालन समितिको बैठकले नेपाललाई ५० करोड अमेरिकी डलरको अनुदान सहयोग गर्ने प्रस्तावलाई स्वीकृत गरेको थियो । 

एमसीए–नेपालका अनुसार एमसीसीले शुरुमा ‘थ्रेसहोल्ड कार्यक्रम’ नामक सानो सहयोग राखेको हुन्छ । थ्रेसहोल्ड कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेपछि ठुलो आयोजनाका लागि अनुदान दिने गरिन्छ जुन अनुदानलाई कम्प्याक्ट भन्ने गरिन्छ । 

नेपालमा द्वन्द्वको अन्त्य हुनुका साथै लोकतन्त्र बहाली भएपछि सन् २०११ मा थ्रेसहोल्ड कार्यक्रम प्राप्त गर्ने तयारी शुरु भएको थियो । यसले अन्तिम रूप नपाउँदै नेपाललाई कम्प्याक्टका लागि योग्य ठहर गरिएको थियो ।

विभिन्न चरणको छलफल र विमर्श पश्चात् सन् २०१७ मा नेपालले एमसीसीसँग अनुदान सम्झौतामा हस्ताक्षर गरेको थियो । 

नेपालमा कसका पालामा के के भएको थियो त ? 
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री र एमाले नेता सुरेन्द्र पाण्डे अर्थमन्त्री भएका बेला नेपालले पहिलो पटक २०६७ मा एमसीसीमा आबद्ध हुन रुची जाहेर गरेको थियो ।  नेपाल २०६६ जेठ ११ गते प्रधानमन्त्री भएका थिए । उनी २०६७ माघ १२ गतेसम्म प्रधानमन्त्री भए । 

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल प्रधानमन्त्री र स्वर्गीय भरतमोहन अधिकारी अर्थमन्त्री भएका बेला एमसीसीसँग ‘मिटिङ नोट’ तयार भएको थियो । खनाल २०६७ माघ २३ गते प्रधानमन्त्री भएका थिए । उनी २०६८ भदौ ११ गतेसम्म प्रधानमन्त्री भए । 

५ माघ २०६८ – नेपाल थ्रेसहोल्ड कार्यक्रममा छनोट भएको जानकारी प्राप्त भएको थियो । त्यतिबेला देशको प्रधानमन्त्री तत्कालीन माओवादी नेता डा. बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुन रहेका थिए । भट्टराई २०६८ भदौ १२ देखि २०६९ फागुन ३० गतेसम्म प्रधानमन्त्री भए । 

२७ माघ २०६८ – नेपालले एमसीसीसँग समन्वय गर्नका लागि वैदेशिक सहायता समन्वय महाशाखाका प्रमुखलाई सम्पर्क अधिकृत नियुक्त गरेको थियो । त्यतिबेला देशको प्रधानमन्त्री डा. बाबुराम भट्टराई र अर्थमन्त्री वर्षमान पुन रहेका थिए ।

२९ पुस २०७०– सरकारले विकासका अवरोध पहिचान गर्न नेपाली अर्थशास्त्रीहरूको समूह गठन गरेको थियो । त्यति बेला देशमा मन्त्रिपरिषद्को अध्यक्ष थिए तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी र अर्थमन्त्री शंकरप्रसाद कोइराला रहेका थिए । रेग्मी २०६९ चैत १ गते मन्त्रिपरिषदका अध्यक्ष भए र २०७० माघ २८ गतेसम्म भूमिका निभाए । 

माघ २०७१ – एमसीसीले नेपाललाई कम्प्याक्टका लागि छनोट गरेको जानकारी दिएको थियो । उक्त समयमा देशको प्रधानमन्त्री नेपाली कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महत थिए । कोइराला २०७० माघ २८ गते प्रधानमन्त्री भए र २०७२ असोज २४ गतेसम्म भूमिका निभाए । 

२३ चैत २०७१ – सरकारले पूर्व सचिव कृष्ण ज्ञवालीलाई कम्प्याक्ट कार्यक्रम तयारीका लागि राष्ट्रिय संयोजक र तत्कालीन अर्थमन्त्रीको संयोजकत्वमा निर्देशक समिति गठन गरेको थियो । सो समय प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महत थिए । 

२८ भदौ २०७२ – नेपालले सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता गरेको थियो । त्यतिबेला प्रधानमन्त्री सुशील कोइराला र अर्थमन्त्री डा. रामशरण महत थिए ।

५ साउन २०७३ – कम्याक्टको मस्यौदा तयार गर्न र सम्भावित आयोजनाबारे अध्ययन गर्नका लागि प्राविधिक अनुदान सहायता स्वीकार गर्ने सम्बन्धी सम्झौता भएको थियो । यो सम्झौता हुँदा प्रधानमन्त्री एमालेका अध्यक्ष केपी शर्मा ओली र अर्थमन्त्री विष्णुप्रसाद पौडेल थिए । नेकपा माओवादी केन्द्र पनि सरकारमा थियो । ओली २०७२ असोज २५ गते पहिलो पटक प्रधानमन्त्री भए र २०७३ साउन १९ गतेसम्म सरकारको नेतृत्व सम्हाले ।

१८ जेठ २०७४ – एमसीसीको लागि द्विपक्षीय वार्ता टोली गठन गरिएको थियो । यो गठन हुँदा देशको प्रधानमन्त्रीमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा अर्थमन्त्रीमा कृष्णबहादुर महरा रहेका थिए । नेपाली कांग्रेस पनि सरकारमा थियो । दोस्रो पटक प्रधानमन्त्री भएका प्रचण्ड २०७३ साउन १९ देखि २०७४ जेठ २३ गतेसम्म कार्यकाल सम्हाले । 

१० साउन २०७४ – सहायता स्वीकार गर्ने विषयमा मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न स्वीकृति दिइएको थियो । उक्त समयमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की थिए । नेकपा माओवादी केन्द्र पनि सरकारमा थियो ।

१९ भदौ २०७४ – एमसीसी सम्झौतामा हस्ताक्षर गर्न तत्कालीन अर्थमन्त्री समेतको टोलीलाई अख्तियारी दिने सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गरेको थियो । यो निर्णय गर्दा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्रीमा ज्ञानेन्द्रबहादुर कार्की थिए । नेकपा माओवादी केन्द्र पनि सरकारमा थियो । 

२९ भदौ २०७४ – नेपालले एमसीसीमा हस्ताक्षर गरेको थियो । त्यतिबेला देशको प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका थिए । एमसीसीमा नेपालको तर्फबाट कार्कीले हस्ताक्षर गरेका थिए । उक्त समयमा देउवा सरकारमा माओवादी केन्द्र पनि सहभागी रहेको थियो ।

५ बैशाख २०७५ – एमसीसीबाट प्राप्त अनुदानलाई निर्धारित लक्ष्य हासिल गर्ने गरी सञ्चालन र कार्यान्वयन गर्नका लागि एमसीए–नेपाल गठन गरिएको थियो । त्यतिबेला एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए । नेकपा माओवादी केन्द्र सत्ता साझेदार थियो । 

२५ माघ २०७५ – तत्कालीन नेकपा (एमाले र माओवादी केन्द्रबीच एकता भएपछि बनेको) नेतृत्वमा रहेको केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्को बैठकले एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्ने गर्ने निर्णय गरेको थियो ।

३० असार २०७६ – एमसीसी अनुमोदनको लागि संसदमा दर्ता गरिएको थियो । नेकपा नेतृत्वमा सरकार थियो । केपी शर्मा ओली प्रधानमन्त्री थिए । डा. युवराज खतिवडा अर्थमन्त्री थिए । 

१२ असोज २०७६ – सम्झौतामा हस्ताक्षर भएको दुई वर्षपछि परियोजना कार्यान्वयन सम्झौता –पीआईए)मा हस्ताक्षर गरिएको थियो । सो समयमा तत्कालीन नेकपाका अध्यक्ष केपी शर्मा ओली देशको प्रधानमन्त्री थिए ।

८ फागुन २०७८ – एमसीसी सम्झौता सांसदबाट अनुमोदन गर्ने विषयमा सत्ताधारी दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) नेपालबीच सहमति भएको थियो । 

८ फागुन २०७८ – एमसीसी सम्झौता अनुमोदनको लागि प्रतिनिधिसभामा टेबल गरिएको थियो । 

यसप्रकार एमसीसीलाई यो चरणसम्म ल्याउन भने कुनै न कुनै रूपमा सरकारमा पुगेका सबै दल संलग्न भएको देखिन्छ । 


 



नयाँ