arrow

झोलुङ्गे पुल बनेपछि यात्रा अवधि छोट्टियो

logo
रासस
प्रकाशित २०७८ फागुन १४ शनिबार
tallest_bridge-nepal.jpg
फाइल तस्वीर

म्याग्दी । धौलागिरि गाउँपालिका-४ नाउराको कोपिलाघाटस्थित म्याग्दी नदीमा झोलुङ्गे पुल निर्माण भएपछि यात्राअवधि छोट्टिएको छ । भौगोलिकरुपमा विकट र दुर्गम क्षेत्रमा पर्ने नाउरा र चेचुङको सिमाना भएर बग्ने नदीमा बनेको पुलले जोखिमपूर्ण र घुमाउरो बाटोको यात्रा गर्नुपर्ने समस्या हटेको हो । नाउराका बासिन्दा रिम रोकाले चार घण्टा घुमाउरो बाटोको यात्रा गर्नुपर्नेमा पुल बनेपछि एक घण्टामै पुग्न सकिने बताए ।

“नाउरा-चेचुङ आवतजावत गर्न खिवाङ हुँदै चार घण्टा हिँड्नु पर्दथ्यो”, उनले भने, “पुल बनेपछि एक घण्टामै पुग्न सकिन्छ । जङ्गल, भिर र खोल्साको जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटेको छ ।” 

धौलागिरि गाउँपालिकाले नाउराको कोपिलाघाटमा ६७ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । रु ४० लाख ९४ हजार ४०५ को लागतमा निर्माण भएको कोपिलाघाटको झोलुङ्गे पुलबाट नाउरा र चेचुङका ३९ घरधुरी लाभान्वित भएका गाउँपालिकाका प्राविधिक दिलीप थापाले बताए । 

धौलागिरि गाउँपालिकाले गत वर्ष सुरु गरेको सात वटामध्ये हालसम्म तीन वटा निर्माण सकिएका छन् । यसअघि वडा नम्बर ६ मराङको अस्कारे खोलामा रु ३० लाख ५० हजारको लागतमा ३५ मिटर लामो ट्रस प्रविधिको पुल निर्माण भएको थियो । 

सो पुलबाट मल्कवाङ, मराङ, आरबाङ, हाङबाङ, औसीबाङ, भेडिखाल्टा र रघुगङ्गाको कुइनेका ७०० घरधुरी लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष जित गर्बुजाले बताए ।  

यसैगरी धौलागिरि गाउँपालिका-२ को आवासखोलामा रु ३२ लाख ४१ हजार ८५९ को लागतमा निर्माण भएको ३२ मिटर ट्रस पुलबाट खोरियाका १०० घरधुरी लाभान्वित भएका छन् । 

पुल निर्माण भएपछि बर्खायाममा जोखिम मोलेर आवतजावत गर्नुपर्ने बाध्यता हटेको छ। पुल निर्माणका लागि टिबिएसयुको स्वाप कार्यक्रमले लठ्ठा र बुल्डअपग्रिप उपलब्ध गराएको थियो । गाउँपालिकाले स्टिल डेग खरिद र ढुवानी गरेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ