रुसी आक्रमणले इन्टरनेट अवरुद्ध हुँदा मस्कले भने - युक्रेनमा स्टारलिंक उपलब्ध छ
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन १५ आइतबार
469
Shares
काठमाडौं । स्पेसएक्सका अर्बपति एलन मस्कले उनको कम्पनीको स्याटेलाइट ब्रोडब्यान्ड सेवा युक्रेनमा उपलब्ध भएको बताएका छन् । रुसी आक्रमणका कारण इन्टनरेट सेवा अवरुद्ध भएको युक्रेनमा थप टर्मिनलहरूसमेत पठाइरहेको मस्कले जानकारी दिएका छन् ।
‘स्टारलिंक सेवा अब युक्रेनमा सक्रिय छ। थप टर्मिनलहरू आउने क्रममा छन्', मस्कले ट्वीटमा लेखेका छन् ।
युक्रेन सरकारका एक अधिकारीले त्यहाँ स्टारलिंक स्टेशनहरू उपलब्ध गराउन आग्रह गर्दै गरेको ट्विटको जवाफ मस्कले दिएका हुन् ।
त्यसअघि मस्कलाई मेन्सन गर्दै युक्रेनका उपप्रधानमन्त्री मिखाइलो फेडोरोभले ट्वीटमा लेखेका थिए, 'तपाईं मंगल ग्रहलाई उपनिवेश बनाउने प्रयास गर्नुहुन्छ __रूसले युक्रेन कब्जा गर्ने प्रयास गर्छ ! तपाईंको रकेटहरू सफलतापूर्वक अन्तरिक्षबाट अवतरण गर्दा __ रूसी रकेटहरूले युक्रेनी नागरिकहरूलाई आक्रमण गरे ! युक्रेनलाई स्टारलिंक स्टेशनहरू प्रदान गर्न हामी तपाईंलाई आग्रह गर्छाैं ।'
रूसी आक्रमणबाट विशेष गरी युक्रेनको दक्षिणी र पूर्वी भागहरूमा इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
@elonmusk, while you try to colonize Mars — Russia try to occupy Ukraine! While your rockets successfully land from space — Russian rockets attack Ukrainian civil people! We ask you to provide Ukraine with Starlink stations and to address sane Russians to stand.
अन्तरिक्षमा तैनाथ गर्न निकै महँगो भए पनि, स्याटेलाइट टेक्नोलोजीले फाइबर अप्टिक केबलहरू र सेल टावरहरू नपुगेका ग्रामीण वा सेवा गर्न गाह्रो ठाउँहरूमा बस्ने मानिसहरूलाई इन्टरनेट उपलब्ध गराउन सक्छ। आँधी वा अन्य प्राकृतिक प्रकोपले सञ्चारमा बाधा पुर्याउँदा समेत स्याटेलाइट प्रविधिको इन्टनरेट महत्वपूर्ण ब्याकस्टप बन्नसक्छ ।
मस्कले जनवरी १५ मा १४६९ स्टारलिंक स्याटेलाइट अन्तरिक्षमा सक्रिय रहेको र थप २७२ पठाउने तयारी भइरहेको बताएका थिए ।