वाशिंगटन डीसी । अर्बपति व्यवसायी एलन मस्कले नयाँ पार्टी खोलेका छन् । उनले अमेरिकामा नयाँ राजनीतिक दल गठनको घोषणा गरेका हुन् ।
उनले यसलाई 'अमेरिका पार्टी' नाम दिएका छन् । मस्कले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यसको जानकारी दिएका हुन् ।
उनले लेखेका छन्, 'आज अमेरिका पार्टी गठन हुँदैछ, ताकि तपाईंले आफ्नो स्वतन्त्रता फिर्ता पाउन सक्नुहुन्छ।"
यस सम्बन्धमा उनले एक्समा सार्वजनिक सर्वेक्षण पनि गरे ।
मस्कले आफ्नो पोस्टमा भने, 'तपाईंहरूमध्ये ६६ % नयाँ राजनीतिक दल चाहनुहुन्छ र अब तपाईंले त्यो पाउनुहुनेछ। जब अमेरिकालाई बर्बाद गर्ने र भ्रष्टाचारको कुरा आउँछ, अमेरिकाका दुवै दल (रिपब्लिकन र डेमोक्र्याट) एउटै हुन्। अब देशले २ दलीय प्रणालीबाट स्वतन्त्रता पाउनेछ।'
मस्कले जुलाई ४ मा अमेरिकाको स्वतन्त्रता दिवसको अवसरमा एक्समा एक सर्वेक्षण पोस्ट गरे। यसमा उनले सोधे कि के तपाईं दुई दलीय प्रणालीबाट स्वतन्त्रता चाहनुहुन्छ ? के हामीले अमेरिका पार्टी बनाउनुपर्छ ? सर्वेक्षणको नतिजामा, ६५.४ % मानिसहरूले "हो" र ३४.६% ले "होइन" मतदान गरे।