arrow

रत्नेचौरमा विकासको लहर

logo
रासस
प्रकाशित २०७८ फागुन २० शुक्रबार
ratnechaur.jpeg

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरका स्थानीय बासिन्दा विकासको उज्यालोबाट आफ्नो गाउँलाई उजिल्याउने र गाउँकै प्रकृति, स्रोतसाधन तथा भूगोललाई व्यवस्थित र सदुपयोग गरी गाउँको पहिचान बढाउने काममा जुटेका छन् ।

केही समययता सामाजिक सञ्जालमा ‘भाइरल गाउँ’ बनेको रत्नेचौर अहिले आन्तरिक पर्यटकको प्रमुख गन्तव्यस्थल बनेको छ । रत्नेचौर गाउँका बारेमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालगायतका केन्द्रीय नेताहरुलेसमेत चासो देखाउन थालेपछि यो गाउँको पहिचान झन फराकिलो बन्दै गएको र यसको गरिमालाई उजिल्याउन पर्यटन विस्तारका योजनाबद्ध काम सुरु भएका रत्नेचौरको विकासमा सक्रिय युवा तथा भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक भरत खत्रीले बताए ।

उत्तरतर्फ चाँदी झैं टल्किएका धवलागिरि, नीलगिरि,अन्नपूर्णलगायतका हिमश्रृंखला, तोरी र गहुँ झुलेर अत्यन्त आकर्षक देखिएको समथर फाँट, बेनी-बागलुङ सडकको बायाँतर्फ विशाल खेलमैदान त्यसैपनि रमाइलो रत्नेचौरको रौनक समथर खेतको फाँटको बीचभागबाट बनेको सडक कालोपत्र भएपछि झन् बढेको छ ।

म्याग्दीको बेनी नगरपालिका-१ रत्नेचौरदेखि अर्जम, भकुण्डे हुँदै भकिम्ली जोड्ने सडकको रत्नेचौर-अर्जम खण्डको एक हजार ३०० मिटर सडक कालोपत्र गरिएपछि रत्नेचौरको रौनक बढेको हो । समथर फाँटमा झुलेको धान, फाँटका बीचमा चिटिक्कको कालोपत्र सडक र पृष्ठभूमिमा धवलागिरि, नीलगिरिलगायतका हिमश्रृङ्खलालाई पृष्ठभूमिमा पारेर तस्वीर खिचाउन, टिकटक बनाउन र रमाउन यहाँ दैनिक सयौँको सङ्ख्यामा युवायुवती आउन थालेपछि अहिले रत्नेचौर गाउँ बेफुर्सदिलो बनेको छ ।

बेनी नगरपालिकाका तीन  वडालाई समेटिएको यस सडकखण्डको जिरो किलोमिटर रत्नेचौरदेखि सडक कालोपत्र सुरु भएको हो । सडक डिभिजन कार्यालय बागलुङमार्फत यस वर्ष एक हजार ३०० मिटर सडक कालोपत्र गर्ने योजनाअनुसार एक हजार ३०० मिटर सडक कालोपत्र गरिएको बेनी नगरपालिका-२ रत्नेचौरका वडाध्यक्ष टेकबहादुर रावलले बताए । 

उनका अनुसार, कालोपत्रसँगै अर्जमदेखि भकुण्डेसम्मको सडकलाई समेत फराकिलो बनाउने, नाली निर्माण गर्ने, ढलान गर्नेलगायतका स्तरोन्नतिका काम भएका छन् । सडक नालीसहित ८ दशमलव २० मिटर फराकिलो बनेको छ । सडक डिभिजनमार्फत सडक कालोपत्र गर्न रु भएक करोड ३७ लाख र सडक स्तरोन्नति गर्न रु एक करोड १२ लाख ७६ हजारमा सडक कालोपत्र र स्तरोन्नतिको काम भएको उनले बताए ।

सडक फराकिलो बनाउने, ह्युमपाइप राख्ने, ग्राभेल गर्ने, मेसिनरी पर्खाल लगाउने र ढलानसमेत गरी स्तरोन्नतिलगायतका काम सम्पन्न भइसकेका र आगामी वर्ष अर्जमसम्म कालोपत्र गर्ने योजना रहेको उनले जानकारी दिए ।

सडकको ट्र्याक निर्माण भएको करिब दुई दशकपछि ग्रामीण सडक कालोपत्र आयोजना सञ्चालन भएपछि स्थानीयवासी उत्साहित बनेको स्थानीय अमरबहादुर बोगटीले बताए । “गाउँकै नेता प्रतिनिधिसभा सदस्य हुनुहुन्छ, उहाँकै पहलमा ग्रामीण सडक कालोपत्र हुन थालेको छ, यहाँबाट सुरु भएको कालोपत्र अर्जम, ज्यामरुकोट, भकुण्डे हुँदै ज्यामरुकोटसम्म पुगेमा तीन वडाका हजारौँ नागरिक प्रत्यक्ष लाभान्वित हुन्छन्”, उनले भने ।

कच्ची सडकका कारण नियमित सवारी साधन सञ्चालन नहुने, हिउँदमा धुलो र बर्खायाममा हिलोको सास्ती बेहोर्दै आएकामा सडक कालोपत्र सुरु भएपछि स्थानीयवासीमा खुसियाली छाएको छ । प्रतिनिधिसभा सदस्य भूपेन्द्रबहादुर थापाका अनुसार, रत्नेचौर-भकुण्डे हुँदै भकिम्ली जोड्ने १८ किलोमिटर सडकको डिपिआर नै तयार पारेर बहुवर्षीय आयोजना सञ्चालन भएको हो । आगामी वर्षसमेत बजेट विनियोजन गरी कालोपत्रसहितको स्तरीय सडक निर्माणका लागि पहल गरिनेछ ।

विकासमा स्थानीयवासीको पहल

रत्नेचौरवासी गाउँको विकासमा एकजुट भएका छन् । कृषिमार्फत पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले यहाँका बासिन्दाले पश्चिमबाट पूर्वतर्फ लमतन्न फैलिएको समथरफाँटलाई आग्र्यानिक कृषिफाँट बनाउने पहल सुरु गरेका छन् । 

गाउँको फाँटमा रैथाने जातको खेती गर्ने, होटल, रेष्टुरेन्ट र होमस्टे (घरबास) को विस्तार गर्ने, दूध, ताजा तरकारी र फलफूलका लागि हरेक घरमा करेसाबारी र पशुपालन गर्नेलगायतका कामको सुरुवात भइसकेको अगुवा युवा खत्रीले बताए । त्यसैगरी ढोडेनी खोलामा निर्माण हुँदै गरेको रत्नेचौर-कुडुले जोड्ने झोलुङ्गे पुल पनि रत्नेचौरको विकासका लागि थप कोसेढुङ्गा बनेको छ ।

पर्यटक आकर्षित गर्न धार्मिक महोत्सव

समथर फाँटमा पहेंलै फुलेको तोरी, खेतको फाँटमा पक्की सडक र उत्तरतर्फ देखिने सेताम्यै हिमालका कारण भाइरल बनेको म्याग्दीको बेनी नगरपालिका-१, रत्नेचौरमा पर्यटकलाई थप आकर्षित गर्नका लागि धार्मिक महोत्सव हुने भएको छ ।

धार्मिक तथा पर्यटकीय दृष्टिकोणले प्रचुर सम्भावना रहेको रत्नेचौरमा अवस्थित श्रीलक्ष्मी हरि मन्दिरमा आगामी फागुन २३ देखि ३० गतेसम्म महोत्सवको आयोजना गरिएको छ । रत्नेचौरमा रहेको श्री लक्ष्मीहरि भगवानको २५औँ श्रीब्रह्मोत्सव श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ एवं पुज्यपाद संस्थापकचार्य श्री जीयर स्वामीजी महाराजको नाक्षत्र शताब्दी महोत्सवका रुपमा आयोजना गरिएको मन्दिरका अध्यक्ष एवं मूल आयोजक समितिका संयोजक नेत्रबहादुर महतले बताए ।

“अपार पर्यटकीय सम्भावना रहेको रत्नेचौर धार्मिक दृष्टिकोणले पनि धेरै महत्वपूर्ण छ, धार्मिक गन्तव्य बनाउन स्थानीय समुदाय निरन्तर सक्रिय छौँ”, उनले भने । महाज्ञयका अवसरमा विभिन्न जिल्लामा रहेका धार्मिकस्थलबाट समेत भक्तजनको आगमन हुने जनाइएको छ । धार्मिक महोत्सवका प्रचार-प्रसार तथा आवश्यक तयारीका लागि १५१ सदस्यीय समितिसमेत बनाइएको स्थानीय युवा विक्रम बोगटीले जानकारी दिए ।

महोत्सवमा छिमेकी जिल्लाका साथै विभिन्न क्षेत्रमा रहेका धार्मिक सङ्घ-संस्थालाई समेत सहभागिताका लागि अनुरोध गरिएको छ । यस अगाडिसमेत विभिन्न समयमा आयोजित महायज्ञबाट मन्दिरको भौतिक संरचना निर्माणसहितका गतिविधिमा खर्च गरिएको थियो । पछिल्लो समय रत्नेचौर तोरीबारीका कारण व्यापक चर्चामा रहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ