arrow

कल्याणटार-भुडाटार यात्रा अवधि छोटियो

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २० शुक्रबार
jholunge-pool-baglung-longe.jpg

तनहुँ । तनहुँको भानु नगरपालिका-१ कल्याणटार र बन्दीपुर गाउँपालिका-१ भुडाटार जोड्ने चुँदीखोलामा झोलुङ्गे पुल निर्माण भएपछि यात्रा अवधि छोटिएको छ । झोलुङ्गे पुल नहुँदा लामो यात्रा गर्नुपर्ने यस भेगका स्थानीयवासीलाई झोलुङ्गे पुलले सहज भएको छ । 

बन्दीपुर गाउँपालिका र स्थानीयवासीको लागत सहभागितामा झोलुङ्गे पुल निर्माण भएपछि यस भेगका जनताको यात्रा अवधि छोटिएको पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णगोपाल न्यौपानेले जानकारी दिए ।

यहाँ पुल नहुँदा स्थानीयवासी यसअघि चार किलोमिटर टाढा डुम्रेमा रहेको पुलबाट आवतजावत गर्नुपर्ने बाध्यता थियो । “झोलुङ्गे पुल बनेपछि चार किलोमिटर बाटो छोटो भयो, नत्र भने चार किलोमिटर टाढासम्म हिँडेर आवत-जावत गर्नुपथ्र्यो,” उनले भने । 

विसं २०७८ वैशाख १३ गते पुल निर्माणका लागि सम्झौता भएकामा हालै मात्र पुल निर्माण सम्पन्न भएको छ । पुलको औपचारिक शुभारम्भ भने हुन बाँकी छ । ८५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि छ सयभन्दा बढी घरधुरीका तीन हजार छ सयभन्दा बढी जनसङ्ख्या लाभान्वित भएका छन् ।

झोलुङ्गे पुलले भानु नगरपालिकास्थित मैवल र नावरुङका सर्वसाधारणलाई पनि घुमाउरो बाटो नघुमी सिधै डुम्रे आउन सहज भएको स्थानीयवासी प्रदीप न्यौपानेले जानकारी दिए ।

रु ३९ लाख ५१ हजार २४ को लागतमा पुल निर्माण भएको छ । गैरसरकारी संस्था समन्वय समिति तनहुँको सामाजिक तथा प्राविधिक सहयोगमा पुल निर्माण सम्पन्न भएको हो ।

पुल निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख १३ हजार ६३३ सहयोग गरेको छ भने स्थानीयवासीले ७९ हजार २० जनश्रमदान गरेका छन् । दातृ संस्थाले रु ३३ लाख ५८ हजार ३६९ सहयोग गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ