arrow

लालीगुराँस फुल्न थाल्दा रमाए पर्यटक

logo
रासस
प्रकाशित २०७८ फागुन २३ सोमबार
laliguras.jpg

म्याग्दी । सामान्यतया चैत वैशाखमा फुल्ने लालीगुराँस यस वर्ष साविकभन्दा पहिले नै फुलेर जङ्गल नै राताम्यै भएपछि लालीगुराँससँग रमाउन आन्तरिक पर्यटक लेक उक्लन थालेका छन् ।

यस वर्ष पुसदेखि नै लालीगुराँस फुलेर म्याग्दीका ग्रामीण जङ्गल राता देखिन थालेका छन् भने काफल र ऐंसेलुजस्ता जङ्गली फल पनि बेमौसममै फल्न सुरु भएको छ । म्याग्दीका अन्नपूर्ण, रघुगङ्गा, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जङ्गलमा ढकमक्क लालीगुराँस फुलेर बन पाखा नै राताम्यै देखिन थालेका छन् ।

फागुनको मध्यदेखि कोपिला लाग्न सुरु हुने लालीगुराँस यस वर्ष भने फागुनको दोस्रो सातामा नै ढकमक्क फुलेका हुन् । जिल्लाका जङ्गलमा पुसदेखि नै लालीगुराँस फुल्नाका साथै जङ्गली फलफूल र कन्दमूल पाक्न थालेका थिए । यसरी बेमौसममा नै लालीगुराँस फुल्नु र जङ्गली फलको मौसमी चक्र परिवर्तन हुनुमा तापमान अर्थात् जलवायु परिवर्तनको प्रत्यक्ष असर परेकोे वातावरणविद्ले बताएका छन् ।

लालीगुराँस फुलेपछि फागुन र चैतमा वनजङ्गल रङ्गीविरङ्गी हुने र त्यसले सबैको मन लोभ्याउने गर्दछ । “लालीगुराँसको फूल चैत, वैशाख महिनामा फुल्ने गर्दथ्यो तर केही वर्षयता बढ्दै गएको गर्मीसँगै लालीगुराँस चाँडै फुल्न थालेको छ”, बेनी नगरपालिका-२ ज्यामरुककोटका बृद्ध वेदप्रसाद उपाध्यायले बताए ।

लागीगुराँस मात्रै नभएर अन्य फूलसमेत बेमौसममा फुल्न थालेको र अन्नबालीमासमेत यसको असर देखिएको मालिका गाउँपालिका-३ का जगबहादुर विकले उल्लेख गरे, “अहिले बेमौसममा नै काफल, तिजुलगायत जङ्गली फल पाकेको र गुराँस फुलेको देख्नपाइएको छ ।'

वातावरणविद् चन्द्रमणि सापकोटाका अनुसार स्वभाविक समय अगाडि नै गुराँस फुल्नु र बेमौसमी फल फल्नु स्वभाविक प्राकृतिक गुण नभएर वातावरणीय असर हो । विश्वमा बढ्दो तापक्रम वृद्धि र जलवायु परिवर्तनका कारण कतिपय देखिने र धेरै नदेखिने परिवर्तन भइरहेका छन् । उनका अनुसार जलवायु परिवर्तनका कारण हिमाल, वनस्पति, मानव स्वास्थ्य र महिलाको प्रजनन प्रक्रियामा समेत धेरै परिवर्तन देखिएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ