arrow

युक्रेनी 'नव-नाजी' इकाईद्वारा विदेशीहरूलाई बाहिरिनबाट रोकेको पुटिनको आरोप

logo
एजेन्सी,
प्रकाशित २०७८ फागुन २५ बुधबार
putin-vlodomie-russia-ukraine-war.PNG
फाइल तस्बिर

मस्को। युक्रेनी सेनासँगको निरन्तर लडाइँकाबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको राष्ट्रवादी "नव-नाजी" इकाइहरूले भारतीयलगायत विदेशीहरूलाई युद्ध क्षेत्रबाट बाहिरिन रोक लगाइरहेको आरोप लगाएका छन्। उनले युक्रेनी सेनाले विदेशी नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेको बताएका हुन्।

एक भिडियो सम्बोधनमा राष्ट्रपति पुटिनले भने, "हामी नव-नाजीहरूसँग लडिरहेका छौँ भन्ने तथ्यले शत्रुता कसरी चलिरहेको छ भनेर प्रमाणित गरेको छ। राष्ट्रवादी नव-नाजीका इकाइहरूले मध्यपूर्वका विदेशी भाडाका सेनाहरू प्रयोग गरिरहेका छन्। साथै, उनीहरूले विदेशी नागरिकहरूलाई मानव ढालको रूपमा प्रयोग गरिरहेका छन्।"

युक्रेनी सेनाले उनीहरूलाई बन्धक बनाएको राष्ट्रपति पुटिनको आरोप छ । पुटिनले भने, "गुन्डाहरूले यसरी काम गर्छन्, किन्डरगार्टन तथा अस्पतालहरूमा उनीहरूले आफ्ना बन्दुक, ट्याङ्क, तोपहरू राख्छन् र उनीहरूले युक्रेनका कलेजहरूमा अध्ययन गर्ने हजारौँ विद्यार्थीहरू र विदेशी नागरिकहरूलाई बन्धक बनाएर राखेका छन्।"

उनले लगभग तीन हजारभन्दा बढी भारतीय विद्यार्थीहरूलाई युक्रेनी "नव-नाजी" इकाइहरूले बन्धक बनाएको आरोपसमेत लगाएका छन्। "उनीहरूले सुमीमा ५७६ जना सहित तीन हजारभन्दा बढी भारतीय नागरिकहरूलाई बन्धक बनाएका थिए। खार्किभ छोड्न चाहने चिनियाँ विद्यार्थीहरूमा नव-नाजीहरूले गोली चलाए, तिनीहरूमध्ये दुई जना घाइते भए," पुटिनले भने।

यसैबीच, भारत सरकारले बिहीबार युक्रेनमा रहेको भारतीय दूतावास आफ्ना अलपत्र नागरिकहरूसँग निरन्तर सम्पर्कमा रहेको र युद्धग्रस्त देशमा विद्यार्थीहरूलाई बन्धक बनाएको कुनै पनि रिपोर्ट प्राप्त नभएको बताएको छ।

भारतमा रुसी दूतावासले बुधवार भारतीय विद्यार्थीहरूलाई युक्रेनी सुरक्षा बलहरूले मानव ढालको रूपमा प्रयोग गर्नका लागि बन्धक बनाएको दाबी गरेपछि सरकारले उक्त टिप्पणी गरेको हो।

भारतीय विद्यार्थीहरूलाई बन्धक बनाएको खबरको खण्डन गर्दै विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले युक्रेनी अधिकारीहरूको सहयोगमा धेरै विद्यार्थीहरूले खार्किभ छोडेको जानकारी दिएका हुन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ