arrow

लिफ्ट खानेपानी योजना चैतभित्रै सक्न निर्देशन

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २६ बिहिबार
tap.jpeg

पर्वत । झण्डै रु १५ करोडको लागतमा निर्माणाधीन लिफ्ट खानेपानी आयोजना चैत मसान्तभित्रै सम्पन्न गर्न गण्डकी प्रदेशको ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले ताकेता गरेको छ । 

जिल्लाको सबैभन्दा ठूलो लिफ्ट खानेपानी आयोजनाका रुपमा रहेको फलेवास नगरपालिका-३ शङ्करपोखरी र वडा नम्बर २ थापाठानामा निर्माणाधीन लमाएखोला बृहत् लिफ्ट खानेपानी आयोजनाको काम चैत मसान्तभित्र सम्पन्न गर्न मन्त्रालयले ताकेता गरेको हो । 

तीन वर्षसम्म पनि आयोजनाको काम नसकिएपछि बुधबार अनुगमनमा आएका मन्त्रालयका सचिव रामकुमार श्रेष्ठले आयोजनाको काममा बजेट अभाव नहुने तर उपभोक्ता समिति र ठेकेदार कम्पनीले कुनै बहाना नगरी काम सक्न निर्देशन दिएका हुन् ।

आयोजनाको काममा कुनै बाधा भएमा मन्त्रालय समाधान गर्न तयार रहेको श्रेष्ठले बताउनुभयो । आयोजनाको काम २०७४ फागुनबाट सुरु भएर पनि बजेटको अभाव, कामदारको अभाव, विद्युत् विस्तारलगायतका कारण काम ढिलो भइरहेको उपभोक्ता समितिले बताउँदै आएको छ । 

मन्त्रालयको टोलीसमक्ष उपभोक्ता समितिले चैत मसान्तसम्म आयोजनाको काम सकेर एक घर एकधाराको रुपमा पानी वितरण गर्ने प्रतिबद्धता जनाएको छ । मन्त्रालयको टोलीले आयोजना स्थलमा आएर अनुगमन गरि उपभोक्ता समितिलाई काम चाँडो सक्न निर्देशन दिएपछि उपभोक्ता समितिले मन्त्रालयले भुक्तानीमा बाधा नपुर्याए चैत मसान्तसम्म उपभोक्तालाई पानी खुवाउने प्रतिबद्धता जनाएको थियो ।  

वडाध्यक्ष अर्जुनबहादुर केसीले खानेपानी आयोजनाको काम कहिले सकिन्छ भनेर नागरिकस्तरबाट दबाब आइरहेको जनाउँदै अब समितिले रातदिन नभनी काम गरेर उपभोक्ताको घरसम्म पानी खसाल्नुपर्ने बताए ।  

उपभोक्ता समितिका अध्यक्ष शिव तिवारीका अनुसार लमाएखोलाबाट कोटसम्म एक हजार ५०० मिटर माथिसम्म पाइपलाइन विस्तार भइसकेको छ । लिमिकोटमा दुई लाख लिटरको मुख्य रिजर्भवेयर ट्याङ्की, भूमेकोटमा एक लाख लिटर, थुममा ६० हजार लिटर, भीरवारीमा ६० हजार लिटरको ट्याङ्की निर्माण भइसकेको उनले बताए ।

थापाठानामा ट्याङ्की र पाइपलाइनको काम पनि चलिरहेको छ । अहिलेसम्म रु तीन करोडको हाराहारीमा रकम खर्च भएको उपभोक्ता समितिले जनाएको छ । उक्त आयोजनाबाट एक हजार ५० घरपरिवारमा पानीको सुविधा पुर्याउने लक्ष्य रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ