arrow

रेणु यादवले ओलीका पालाका रेलवे विभागका महानिर्देशकलाई विज्ञ सल्लाहकार नियुक्त गरेपछि पार्टीभित्र आक्रोश

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
renu-yadav-balram-mishra.jpg

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणु यादवले मनपरी किसिमबाट मन्त्रालय चलाएको, पार्टीको सिफारिश तथा पार्टीका नेताहरुलाई बेवास्ता गरेको, काममा भन्दा पनि आर्थिक लाभमा ध्यान केन्द्रित गर्ने गरेको लगायतका सन्देश जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले पार्टी अध्यक्ष उपेन्द्र यादवसँग पुर्याएका छन् । 

केही दिनअघि मात्र रेणुले पूर्वाधार विज्ञ सल्लाहकार पद सिर्जना गरी बलराम मिश्रलाई नियुक्ति दिएकी छिन् । केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला मिश्र रेलवे विभागका महानिर्देशक दिए ।  

जसपासँग मिश्रको कुनै सम्बन्ध छैन । उनी जसपामा आबद्ध छैनन् । पार्टीमा आबद्ध नै नभएको व्यक्तिलाई पार्टीभित्र किन ल्याइयो भन्ने प्रश्न उठेको जसपाका एक केन्द्रीय सदस्यले बताए । जसपाका कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले जसपाका मन्त्रीहरुको कार्यशैली देखेर जसपाका कार्यकर्ताहरु तलदेखि माथिसम्म कोही सन्तुष्ट नभएको बताए । 

‘मन्त्रीहरु फेर्नु पर्छ भन्ने आवाज उठेको छ । मन्त्रीको कामदेखि पार्टीभित्र कोही सन्तुष्ट छैनन्’ उनले भने । पार्टी अध्यक्ष उपेन्द्र यादवले अशोक यादव (सर्लाही) नाम गरेका एक इञ्जिनियरलाई काठमाडौं बाहिर सरुवा नगर्न रेणुलाई फोन गरेर अह्राएका थिए । 

तर विज्ञ सल्लाहकार मिश्रको चाहनामा नपरेपछि अशोक काठमाडौं बाहिर खेदिए । यसबाट अध्यक्ष पनि रेणुसँग सन्तुष्ट नभएको स्रोतको भनाइ छ । मन्त्री यादवले अहिले सबै काम विज्ञ सल्लाहकार मिश्र तथा स्वकीय सचिव कृष्णदेव यादवमाफतर्् गराउँछिन् । 

मिश्रलाई विज्ञ सल्लाहकार नियुक्ति गरेको विषयमा मन्त्रालयका उच्च कर्मचारीहरु पनि खुशी छैनन् । कामको लागि भन्दा पनि आर्थिक उपार्जनको लागि सल्लाह दिन मिश्रलाई नियुक्ति गरेको मन्त्रालयका कर्मचारीहरुको बुझाई छ । 

मन्त्रालयमा कार्यरत प्राविधिक तथा विज्ञ कर्मचारीहरुबाट सल्लाह लिनु पर्नेमा अनावश्यक दरबन्दी सिर्जना गरी राज्यको व्ययभार बढाएको कर्मचारीहरुको भनाइ छ । 

मन्त्री यादवले राजकिशोर गुप्ता नाम गरेका एक ठेकेदारसँग पनि बेला बेलामा सल्लाह लिने गर्छिन् । जसपासँग गुप्ताको पनि कुनै सम्बन्ध छैन । उनी जसपामा आबद्ध छैनन । 

तर जसपाका विद्यार्थी इन्चार्जसमेत रहेका अशोक यादवलाई भने रेणुले पूरै साइड लगाएकी छिन् । पार्टी अध्यक्ष उपेन्द्र यादवको सिपारिसमा मन्त्रीले अशोकलाई प्रमुख स्वकीय सचिवमा नियुक्ति गरेकी हुन् । ‘उहाँ (अशोक) अहिले नाम मात्रको हुनुहुुन्छ । सबै काम कृष्णदेव यादवमार्फत् हुने गरेको छ’ मन्त्रालयका एक कर्मचारीले भने । 

कृष्ण यादवसँग रेणुको साइनो निकै रमाइलो छ । कृष्णदेव अहिलेसम्म नवौं पटक मन्त्रीको पिए भइसकेका छन् । रेणु जहिले जहिले मन्त्री हुन्छिन् उनले कृष्णदेव यादवलाई नछुटाइ पिए बनाउने गर्छिन् । 

कृष्णले भने आफ्नो क्षमता देखेर मन्त्रीले नछुटाइ पिए राख्ने गरेको खुलेरै बताउने गरेका छन् । उनको क्षमता के हो त्यो भने थाहा हुन सकेको छैन । 

भौतिक पूर्वाधारमा आउने बित्तिकै रेणुले उच्च कर्मचारीहरुको व्यापक फेरबदल गरेकी छिन् । खासगरी आकर्षक कार्यालयहरुमा उनले आफ्ना मान्छे सेटिङ गरेकी छिन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ