काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र साहले आज महिला उद्यमीहरूसँग प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विशेष छलफल गर्दैछन्।
केही समयपछि सुरु हुने उक्त बैठकमा नेपालमा महिला उद्यमशीलता प्रवर्द्धन, आवश्यक नीतिगत सुधार तथा समग्र उद्योग क्षेत्रमा महिलाहरूको सहभागिता कसरी वृद्धि गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालाहरूसँग गहन संवाद हुनेछ।
प्रधानमन्त्री साहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालले बैठकको कार्यसूचीबारे यो जानकारी दिएकी हुन्।
दाहालका अनुसार उक्त छलफलमा महिला उद्यमी महासङ्घका तर्फबाट नेतृत्व गर्दै अध्यक्ष दर्शना श्रेष्ठ, तृतीय उपाध्यक्ष महालक्ष्मी श्रेष्ठ, महासचिव सविता सुवेदी, सचिव डिकिला शेर्पा लामा र कार्यकारिणी सदस्य अनुजा राजभण्डारी श्रेष्ठ सहभागी हुनेछन्।
बैठकमा महिला व्यवसायीहरूले भोग्दै आएका चुनौती र सरकारबाट अपेक्षित सहयोगका विषयमा समेत ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको छ।