arrow

युक्रेनमाथि रुसी आक्रमणपछि नेटोतर्फ डाेरियाे फिनल्याण्ड

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २७ शुक्रबार
russia-finland-ukraine-.png

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछिको स्थिति विश्लेषण गर्दै फिनल्याण्ड उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)मा सामेल हुनेबारे सोच्न थालेको छ । दशकौंसम्म फिनल्याण्ड न रुसको पक्षमा थियो न विपक्षमा नै थियो ।

यसले त्यहाँ शान्ति कायम राख्न र यसको सार्वभौमसत्तालाई पनि सीमित पारेको थियो । तर, रुसले युक्रेनमाथि गरेको आक्रमण देखेसँगै रुससँग १ हजार ३ सय ४० किलोमिटर सीमा रहेको फिनल्याण्डले नेटोमा सामेल हुनेबारे सोच्न थालेको हो ।

बिहीबार फिनल्याण्डका राष्ट्रपति साउली निनिस्टोले फिनल्याण्डले नेटोमा सामेल हुने कि नहुने निर्णय गर्न आफ्नो सुरक्षा नीतिको समीक्षा गर्ने भएको बताएका छन् ।

'जब विकल्प र जोखिमहरू विश्लेषण गरिन्छ, तब निष्कर्षमा पुग्ने समय हो,' निनिस्टोले फिनल्याण्डको नेटोमा सामेल हुने सम्भावनालाई उल्लेख गर्दै पत्रकारहरूलाई भने।

यस्तै बुधबार, फिनल्याण्डकी प्रधानमन्त्री सान्ना मारिनले 'राष्ट्रिय सहमति स्थापना गर्न सम्भावित नेटो सदस्यताका बारेमा धेरै तहमा छलफल हुनुपर्ने' बताएकी थिइन् ।

यसैबीच, हालै फिनिश प्रसारण कम्पनी वाईएलईले गरेको सर्वेक्षणमा ५३ प्रतिशत फिनल्याण्डका नागरिक अहिले नेटोमा सामेल हुन चाहने भएका छन् । जुन पाँच वर्ष पहिलो भन्दा १९ प्रतिशतले वृद्धि हो ।

रूसले सन् १८०८ मा युद्धको क्रममा स्वीडेनबाट फिनल्याण्डलाई कब्जा गरेको थियो । पछि सन् १९१७ मा सोभियत लिडर भ्लादिमिर लेनिनको पालामा फिनल्याण्ड स्वतन्त्र बनेको थियो ।  

त्यसपछि सन् १९३९ मा, सोभियत नेता जोसेफ स्टालिनले फिनल्याण्डमा आक्रमणको प्रयास गरेका थिए । 

दोस्रो विश्वयुद्धले शीतयुद्धलाई निम्त्याएपछि फिनल्याण्डले आफूलाई एक अद्वितीय स्थितिमा भेट्टायो । सन् १९४८ मा मस्कोसँग नेटो र सोभियत दुवैमा सामेल नहुने सम्झौता गरेपछि फिनल्याण्डको बिशेष स्थिती बनेको थियो ।

तर, सोभियत संघको पतनसँगै, फिनल्याण्ड पश्चिमको नजिक हुँदै सन् १९९५ मा युरोपियन युनियनमा सामेल भएको थियो । यद्यपि, आफ्नो ठूलो छिमेकी रुसलाई रिस नउठाउने मामिलामा भने फिनल्याण्ड होसियार थियो।

अहिले रुसले युक्रेनमाथि आक्रमण गरेसँगै फिनल्याण्डले नेटोमा सामेल हुने आशा अघि सारेसँगै रुस र पश्चिमाबीच फिनल्याण्डको तटस्थताको अन्त्य हुने संकेतका रुपमा टिकाटिप्पणी सुरु हुन थालेको छ ।
 



नयाँ