arrow

युक्रेनमा हतियार पठाए आक्रमण गर्ने पश्चिमी देशलाई रुसी धम्की

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन २९ आइतबार
russia-usa-attack-ukraine.jpg

काठमाडौं । रूसले कुनै पनि बाहिरि देशले युक्रेनमा हातहतियार पठाए त्यसको ढुवानीमै फायर गर्ने धम्की दिएको छ । रुसका उपविदेशमन्त्री सर्गेई र्याबकोभले युक्रेनमा पश्चिमी हतियारको आपूर्तिलाई लक्षित गर्दै आक्रमण गर्ने धम्की दिएका हुन् ।

रुसको कडा र सोझो चेतावनीले मस्को र नाटो राष्ट्रबीच प्रत्यक्ष टकरावको जोखिम बढाएको छ। रुसको चेतावनी यस्तो बेलामा आएको छ कि जब अमेरिकाले युक्रेनका लागि सैन्य शिक्षा र तालिम एवं 'तत्काल' रक्षा सहायता र सेवाहरूका लागि २०० मिलियन डलर स्वीकृत गरेको छ ।

एक अमेरिकी अधिकारीका अनुसार यो सहायतामा  'रूसको अप्रत्याशित आक्रमणको सामना गरिरहेका युक्रेनको फ्रन्ट-लाइन डिफेन्डरहरूको समर्थनमा एन्टि आर्मर, एन्टि-एयरक्राफ्ट प्रणाली र साना हतियारहरूसमेत समावेश हुनेछन् ।'

अमेरिकालगायत अन्य खासगरी नेटो देशहरुले युक्रेनलाई हतियार आपूर्ति गरिरहेका बेला रुसले कडा धम्कीजन्य चेतावनी दिएको हो ।

यसबीच, रुसी सेना युक्रेनको राजधानी किभ नजिकै पुगेर आक्रमण सशक्त बनाइरहेको छ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी सेनालाई राजधानी किभ कब्जा गर्न खोजेमा मृत्युको सामना गर्ने चेतावनी दिएका छन् ।

नेटोका महासचिव जेन्स स्टोल्टेनबर्गले युक्रेन आक्रमणका क्रममा रुसले रासायनिक हतियार प्रयोग गर्न सक्ने चेतावनी दिएका छन् । उनले यस्तो कदम युद्ध अपराध हुने जर्मन अखबार वेल्ट एम सोनटागमा दिएको अन्तर्वार्तामा उल्लेख छ ।

युक्रेनका प्रमुख खारखिभ, मारिउपोल, माइकोलाइभ, डिनिप्रो, चेर्निहाइभ र सुमी सहर निरन्तर रुसी आक्रमणमा छन् । अहिले रुसी सेनाले युक्रेनमा आफ्नो आक्रमणलाई पश्चिममा विस्तार गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ