arrow

रुस–युक्रेन युद्ध १९ औं दिनमा, चौथो चरणको वार्ताअघि मिसाइल आक्रमण 

logo
हाम्रा कुरा
प्रकाशित २०७८ फागुन ३० सोमबार
russia-usa-attack-ukraine.jpg

काठमाडौं । रुस र युक्रेनबीचको युद्धको आज १९ औं दिन हो । आज दुई देशबीच चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्वीटरमार्फत जानकारी दिएका छन् । ‘भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरु निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् ।

वार्ताअघि पोल्याण्डको सीमाको करिबमा युक्रेनी सैन्य बेसक्यापमा रुसले मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा १ सय ८० जनाको मृत्यु भएको दाबी रुसले गरेको छ ।  

तर युक्रेनले भने ३५ जनाको मृत्यु भएको र १३४ जना घाइते भएको जनाएको छ । 

यता रुसी सेनाले किभको नजिक इरपिन शहरमा एक अमेरिकी पत्रकार ब्रेन्ट रेनर्डलाई गर्धनमा गोली हानेर मारेको छ । उनी चलचित्र निर्माता पनि थिए । 

उनका साथी पत्रकार जुअन अर्रेडोन्डो घाइते भएका छन् । त्यस्तै रुसी राजधानी मास्कोमा युक्रेनमाथि भएको आक्रमणको विरुद्धमा ठूलो प्रदर्शन भएको छ । 

जसमा रुसी प्रहरीले आठ सय भन्दा बढीलाई गिरफ्तार गरेको छ । त्यस्तै जर्मनीको राजधानी बर्लिनमा पनि रुसी आक्रमणको विरोध भएको छ । 

यसअघिका वार्ता र उपलब्धि
यसअघि युक्रेनमा जारी संकट अन्त्यका लागि रुस र युक्रेनी पक्षबीच भएका वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो । नागरिकहरुलाई लडाइँबाट बचाउन केही कोरिडोरहरु खोल्ने पहल गर्न वार्ता उपलब्धिमूलक ठहरिएका थिए ।

युक्रेनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तालाई जोड दिँदै आएको छ । यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा विदेशमन्त्री तहमा भएको थियो ।
 
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि नो फ्लाई जोन घोषणा गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग आग्रह गरेका छन् । 

पोल्याण्डको सीमानजिकै रहेको युक्रेनी सैन्य आधारमा हवाई हमलापछि रुसी सेनाले नेटोका सदस्य राष्ट्रहरूलाई चाँडै आक्रमण गर्न सक्ने जेलेन्स्कीले चेतावनी दिएका छन् ।

यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले युक्रेनमा भएको आक्रमणको लागि रुसलाई जवाफदेही बनाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ