- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । पोखराको सेदी बगरमा चैत्रबाट केबलकार चल्ने भएको छ । चैत्र १ गतेबाट सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर केबलकार चल्ने भएको हो । पोखरा महानगरपालिका–१८ को सेदी बगरमा निर्माण भएको अन्नपूर्ण केबलकार चैत्र १ गतेबाट बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालनमा ल्याउन लागेको केबलकारका महाप्रबन्धक दिनेश पौड्यालले जानकारी दिए।
बिहानी सेवा सञ्चालनसँगै पयर्टकहरुले बिहानको सूर्योदयको दर्शन तथा साँझ सूर्यास्तको अवलोकन गर्न सकिने कम्पनीले जनाएको छ ।
गत फागुन ६ गतेबाट नै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारको दुरी सेदीबगरदेखि सराङकोटसम्म दुई हजार ४०० मिटर रहेको छ भने सेदीबगरदेखि सराङकोटसम्म लामो समय लाग्ने सडक यात्रालाई केवल नौ देखि १०मिनेट भित्रमा नै पार गर्न सकिने बनाएको छ । १७ वटा गोन्डोला रहेको र एउटा गोन्डोलामा आठ जना सम्म बसेर सयर गर्न सकिनुका साथै एक घण्टामा ५ सय जनासम्मले यात्रा गर्न सकिने बताइएको छ ।
कम्पनीले नेपालीका लागि रु ७ सय, सार्क राष्ट्रका पर्यटकका लागि रु ८ सय र तेस्रो मुलुकका नागरिकका लागि नौ डलर भाडा दर तय गरेको छ । ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिका लागि भने भाडामा ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । यसै गरी विद्यार्थीका लागि २५ प्रतिशत सहुलियतका साथै सहकारीबाट भ्रमणमा आउने सदस्यहरूलाई १० प्रतिशत छुटको व्यवस्था गरेको कम्पनीले जनाएको छ ।
पोखरा र काठमाडौँका प्रतिष्ठित व्यवसायीको लगानी रहेको अन्नपूर्ण केबलकारको लगानी दुई अर्ब रुपैयाँ लागत पुगेको अन्नपूर्ण केबलकार प्रालिका सञ्चालक एवं निर्देशक तीर्थराज त्रिपाठीले जानकारी दिए । शुरुमा एक अर्ब ३० करोडको लागत अनुमान गरिए पनि कोभिड १९ को सङ्क्रमणकालीन समय र विभिन्न संरचनाहरूले गर्दा लागत बढेको बताइन्छ ।
कम्पनीमा स्थानीय वासीबाट २५ प्रतिशत र विभिन्न व्यवसायीबाट ७५ प्रतिशत लगानी गरिएको छ ।