- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विश्वले हेर्ने दृष्टिकोण र सम्बन्ध बचाउन पनि एमसीसी परियोजना पास गरेको प्रस्ट पारेका छन् ।
कांग्रेसले देशव्यापी रूपमा सुरु गर्न लागेको एक महिने जागरण अभियान ‘घर घर जाऊँ कांग्रेस जिताऊ’ अभियानको उद्घाटन गर्न उदयपुर आएका महामन्त्री शर्माले कांग्रेस पार्टी पाको र अभिभावक पार्टी भएकोले उत्तेजना भन्दा दीर्घकालीन फाइदा हेरेर विश्वले नेपाललाई हेर्ने दृष्टिकोण र मुलुकलाई समृद्धिको बाटोमा हिँडाउन एमसीसी आवश्यक रहेको हुँदा पास गरेको प्रस्ट पारेका हुन् ।
कार्यक्रममा बोल्दै महामन्त्री शर्माले एमसीसी पास भए यहाँ अमेरिकी सेना आउने भ्रम कम्युनिष्टहरुले आफ्नो राजनीतिक रोटी सेकाउन निकालेको मुद्दा भएको बताए । कम्युनिस्ट नेताहरूले दोहोरो चरित्र देखाउँदा एमसीसी परियोजनाका विषयमा देश दुई धारमा विभाजित भएको शर्माले बताए ।
एमसीसीका कारण अमेरिकी सेना नेपाल आउने नभएर श्रम गर्न वैदेशिक रोजगारीमा गएका नेपालीहरू भने नेपाल फर्किने प्रस्ट पारे । उनले भने "हामी वैदेशिक रोजगारीको नाममा मान्छे बेचेका बेच्यौ छौँ, यसले देश समृद्ध बनेन, त्यसैले मान्छे बेच्ने कुरा कांग्रेसले रोक्न चाहेको हो । कांग्रेस मान्छे बेचेर होइन, बिजुली बेचेर देशको विकास गर्न चाहन्छ।"
एमसीसीका बारेमा कम्युनिस्टसँग चोक चोकमा बसेर छलफल गर्न कांग्रेस तयार रहेको उनले बताए। उनले सस्तो लोकप्रियताका लागि हावादारी कुरा नगर्न र यथार्थमा बहसका लागि आउन कम्युनिस्ट नेताहरूलाई चुनौती दिए। उनले भने,"एमसीसीका कारण एउटा पनि अमेरिकी सेना नेपाल आए हामी र रुखमा कसैले भोट नहाल्नु होस, कम्युनिष्टलाई मात्र हैन नेपाली कांग्रेस,गगन र विश्वप्रकाशलाई पनि देशको माया छ ।"
"नेपाली कांग्रेस राष्ट्रकै पुरानो पाटी भएकोले यो कार्यक्रम मार्फत हामी रुख छापमा भोट हाल्नुस् मात्र भन्दैनौ, जनताले पाएको अधिकारलाई प्रयोग गर्नुहोस् भन्ने सिकाउन पनि हामी घर घर जादैछौ ।" उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भने, " काँग्रेसले गरेका राम्रा कामको प्रचार, कम्युनिष्टको जस्तो उत्तेजनामा आएर राष्ट्रवाद देखाउने भन्दा सहनशीलता देखाएर कर्मले राष्ट्रवाद देखाउने यो अभियान हो ।"
अमेरिका र चीनका आ-आफ्नो स्वार्थ भएकाले संसारभर प्रभाव जमाउन लागिपरे पनि कांग्रेस कुनै पनि देशको पक्षमा नलाग्ने उनले स्पष्ट पारे। कांग्रेस कसैको पक्षमा नलाग्ने र सबैसँग समान दुरीमा बस्ने भन्दै शर्माले कसैको पक्षमा लाग्दा राष्ट्रवाद र कसैको पक्षमा लाग्दा राष्ट्रघात हुन नसक्ने उल्लेख गरे।
कम्युनिस्टहरुले केही आफ्ना कार्यकर्ता उत्पादन गर्न इतिहासमा पनि अन्तर्राष्ट्रिय एयरपोर्ट बन्दै गर्दा पनि भारतीय सैनिक आउने भ्रम छरेको उल्लेख गर्दै यो एमसीसी पनि यस्तै आयोजना भएको र यसले देशको सम्मान र आर्थिक समृद्धिमा सहयोग पुर्याउने कुरामा जोड दिए ।
कोरोना नियन्त्रण गर्न अहिलेको सरकार सफल भएको उल्लेख गर्दै महामन्त्री शर्माले भने," प्रधानमन्त्री देउवाले सरकारको ध्यान जनताको स्वास्थ्य पहिलो भएको हुँदा खोप खोप खोप भनेको सबैले बुझेनन् होला तर ओलीले बेसार पानी पिउनु भनेर गैर जिम्मेवार कुराले १० औं हजार नागरिकको मृत्यु भयो के यसको जिम्मेवारी ओलीले लिन सक्नु हुन्छ ?"
महामन्त्री शर्माले गठबन्धन स्थानीय स्तरको आवश्यकता अनुसार मात्र बन्ने कुरा ढुक्क हुन आग्रह गरे । उनले भने, " स्थानीय तहको आवश्यकता अनुसार केन्द्र बाट खटिएका प्रतिनिधि र स्थानीय तहको आवश्यकता अनुसार गठबन्धन हुन्छ, जनकपुरमा गठबन्धन भए उदयपुरमा पनि गठबन्धन हुने कुराको भ्रममा नरहनुस्, जहाँ आवश्यकता छ त्यहाँ गठबन्धन हुनसक्छ तर सबै ठाउँ केन्द्रको निर्णय स्वीकार्य नहुने बताए ।"