देशभरका छ ओटा राजमार्ग अवरुद्ध : चार पूर्ण रूपमा ठप्प, दुईमा रात्रिकालीन गाडी चलाउन रोक
कान्ति लोकपथ र बीपी राजमार्गमा रात्रिकालीन गाडी चलाउन रोक
हाम्रा कुरा
प्रकाशित २०८३ साउन १ शुक्रबार
256
Shares
काठमाडौँ । निरन्तरको वर्षासँगै आएको बाढीपहिरो र डुबानका कारण देशभरका छ ओटा प्रमुख राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले उपलब्ध गराएको साँझसम्मको तथ्याङ्कअनुसार वर्षात्का कारण हुनसक्ने सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले केही राजमार्गमा रात्रिकालीन आवागमनमा समेत रोक लगाइएको छ।
यसै क्रममा बीपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी खण्डमा आइपर्ने सम्भावित बाढीलाई मध्यनजर गर्दै बेलुका ६:०० बजेदेखि बिहान ४:०० बजेसम्म सम्पूर्ण सवारीसाधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ। यो सडकमा बिहान ४:०० बजेदेखि बेलुका ६:०० बजेसम्म मात्र गाडी चल्न पाउने व्यवस्था गरिएको छ।
त्यस्तै मकवानपुरस्थित कान्ति लोकपथमा पनि पहिरोको सम्भावित जोखिम कम गर्नका लागि बेलुका ५:०० बजेदेखि बिहान ५:०० बजेसम्म सम्पूर्ण सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
बाढी र पहिरोका कारण अन्य चारओटा राजमार्गहरू भने पूर्ण रूपमा ठप्प भएका छन्। केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेका अनुसार वर्षाका कारण गत असार २३ गतेदेखि इलामको इलाम नगरपालिका-९, राजदुवालीस्थित मेची राजमार्गमा बाटो अत्यधिक हिलो भई सवारीसाधन गुड्न नसक्ने अवस्था आएकाले उक्त सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
यसैगरी, गत असार २८ गतेदेखि अर्घाखाँचीको पाणिनी गाउँपालिका-२, ढुङ्गेखोलास्थित सालझन्डी–ढोरपाटन सडक खण्डमा माथिबाट ढुङ्गासहितको पहरो खसेकाले यो सडक पनि पूर्ण रूपमा बन्द छ।
सिन्धुपाल्चोकको अरनिको राजमार्ग पनि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध बनेको छ। गत असार ३१ गते भोटेकोशी गाउँपालिका-४, जिरोकिला र आज भोटेकोशी गाउँपालिका-२, कोदारीस्थित इकुमा सडकमाथिबाट ढुङ्गा, माटो र लेदोसहितको पहिरो खस्दा यो राजमार्गको आवागमन पूर्ण रूपमा रोकिएको हो।
यसका साथै, आजै बागलुङको जैमिनी नगरपालिका-८, बेलबगरमा सडकमाथिबाट ढुङ्गा र माटोसहितको पहिरो खसेका कारण कालीगण्डकी करिडोर पनि पूर्ण रूपमा अवरुद्ध भएको नेपाल प्रहरीले जनाएको छ। हाल प्रभावित क्षेत्रहरूमा सडक डिभिजन र सुरक्षा निकायको समन्वयमा पहिरो पन्छाउने प्रयास भइरहेको छ।