- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
नेपालगञ्ज । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कम्युनिष्टहरुलाई भय र भ्रम बेचेर उत्तेजना किन्ने व्यापारीको संज्ञा दिएका छन् । नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १ ले सोमबार कोहलपुरमा आयोजना गरेको बृहत् सभालाई सम्बोधन गर्दै महामन्त्री थापाले एमसीसीमा पनि कम्युनिष्टहरुले यही शैली र प्रवृत्ति देखाएको बताए । एमसीसीका कारण जनताले कुन पार्टी कस्तो भनेर चिन्ने मौका पाएको बताए ।
‘एमसीसी सहयोगको लागि प्रक्रिया अघि बढाउनेदेखि सम्झौता लेख्ने नै कम्युनिष्ट नेता हुन् । उनीहरुलाई एमसीसी सही हो भन्ने थाहा छ तर भय र भ्रम बेचेर फेरि पनि उत्तेजना किन्ने बाटोमा लागेर झुट बोल्दैछन्’, महामन्त्री थापाले भने, ‘नेपालको हितमा रहेको एमसीसीका पक्षमा कांग्रेस प्रतिपक्षमा रहँदा पनि थियो आज सत्तामा रहँदा पनि पक्षमै रह्यो । हामी सत्यको पक्षमा हुन्छौं । स्वाभिमान र राष्ट्रियताका सवालमा भने हामी कुनै सम्झौता गर्दैनौं ।’
उनले ऋण भन्दा पनि अनुदान सहयोग धेरै लिनुपर्ने पक्षमा कांग्रेस रहेको बताउँदै ऋण लिँदा घाँटी हेरेर हाड निल्नुपर्ने स्पष्ट पारे । ‘ऋण लिने त हो तर त्यसको सीमा हुन्छ, टाउकोमा धेरै ऋण थोपरेर अगाडि बढिँदैन, कांग्रेस ऋण भन्दा पनि अनुदान सहयोग बढी लिउँ भन्ने पक्षमा छ’, उनले भने ।
पार्टीभित्र उच्चस्तरीय एकता चाहिएको भन्दै उनले जोश र जाँगरका साथ पार्टीले सञ्चालन गरेको चुनावी अभियानमा होमिन नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । चुनावी गठबन्धन आफूले पनि नचाहेको भन्दै उनले भने, ‘तपाईंहरुको चाहना पनि यही हो, रुख भन्दा अन्यत्र भोट हाल्न नपरोस् भन्ने चाहनु हुन्छ, तपाईंहरुको यो भावनाको पार्टीले उच्च सम्मान गर्छ । तर गठबन्धन नगर्ने त भन्ने अनि पार्टीलाई जिताउन एक हुने कि नहुने ?’
उनले अगाडि भने, ‘जसले टिकट पाउँछ, उसलाई जिताउन लाग्ने कि नलाग्ने, रुख बाहेक मुख हेर्दैनौं भन्ने भरोसा पार्टी नेतृत्वलाई दिलाउने कि नदिलाउने ?’
इतिहासकै सबैभन्दा राम्रो अनुकुलता भएका बेला एउटा पनि काम गर्न नसकेको कम्युनिष्ट सरकारले सबैतिर भत्काउने र बिगार्ने काम गरिरहँदा कांग्रेसले वाध्यात्मक अवस्थामा सरकारको नेतृत्व गर्नुपर्ने अवस्था बनेको बताउँदै महामन्त्री थापाले अब चुनावपछि पाँच वर्ष सरकारको नेतृत्व गर्ने गरी जनतालाई विश्वासमा लिन आह्वान गरे । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचन एक दिन पनि दायाँबायाँ नहुने बताउँदै उनले निर्वाचनमा होमिन निर्देशन दिए ।
कार्यक्रममा केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री दीपक गिरीले ‘घरघर जाउँ, कांग्रेस जिताउँ’ भन्ने पार्टीको नारालाई कार्यान्वयन गर्न गम्भीर ढंगले लाग्न सबै नेता कार्यकर्तालाई आह्वान गरे ।
गिरीले पार्टी पंक्ति गम्भीरताका साथ लागे सफलता हासिल हुने बताउँदै युवा, तरुण र विद्यार्थीहरुलाई विशेषरुपमा अभियानमा खट्न निर्देशन दिए । उनले भने, ‘अभियानमा सबै भ्रातृ संस्था खट्नुस् ।’ उनले यथार्थ अवस्था विश्लेषण गरेर चुनावी तालमेल गर्ने नगर्ने भन्ने विषयमा पार्टी नेतृत्वले निर्णय लिने उल्लेख गरे ।
अर्का केन्द्रीय सदस्य एवम् पूर्व मन्त्री सञ्जय गौतमले कांग्रेस एक्लै चुनाव लड्न सक्षम रहेको भन्दै तालमेल आवश्यक नरहेको तर्क गरे । केन्द्रीय सदस्य मैकुलाल बालिकीले बाँकेमा अब कांग्रेसलाई कसैले हराउन नसक्ने दाबी गरे ।
क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति पोषण केसीको सभापतित्वमा भएको बृहत् सभालाई लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, लुम्बिनी प्रदेशका सांसद शंकर गिरी, लुम्बिनी प्रदेशकी सहमहामन्त्री निमा गिरी, नेपाली कांग्रेस बाँकेका सभापति नारायणप्रसाद गौडेल, महासमिति सदस्य पूर्ण आचार्य, तरुण दलका पूर्व महामन्त्री भुपेन्द्रजंग शाही, क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रमेशकुमार गुप्ता, ३ का सभापति नक्की खाँ, महासमिति सदस्य भानुभक्त भट्टराई, राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले सम्बोधन गरेका थिए ।
कोहलपुर नगर सभापति विरेन्द्रकुमार शाहले स्वागत मन्तब्य व्यक्त गरेको कार्यक्रमको सञ्चालन सचिव खुमबहादुर बस्नेतले गरेका थिए ।
त्यस क्रममा महामन्त्री थापाले नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर १, प्रदेश १ ख र कोहलपुर नगर कार्यालयको उद्घाटन गरेका थिए । कार्यक्रममा अन्य पार्टीका ५८१ जना नेता कार्यकर्ता कांग्रेस प्रवेश गरेका थिए । उनीहरुलाई महामन्त्री थापाले पार्टीमा स्वागत गरेका थिए ।
कांग्रेस प्रवेश गर्नेहरु एमाले र माओवादी केन्द्रको अवसरवादी चरित्र र खोक्रो राष्ट्रवादबाट वाक्क लागेर पार्टी त्यागेर आएको बताउँछन् ।