arrow

आगलागी हुँदा तीन दाजुभाइको घर नष्ट

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ५ शनिबार
aaglagi1.jpg
फाइल तस्वीर

नुवाकोट । नुवाकोटको ककनी गाँउपालिका-३ अचराङमा गएराति आगलागी हुँदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट मैते तामाङ, बुद्धिमान तामाङ र सागर तामाङको घर जलेर नष्ट भएको हो । 

स्थानीय समाजसेवी कृष्ण ढुङ्गानाका अनुसार आगलागीबाट तामाङ तीन दाजुभाइको घरमा रहेको अन्नपात, भाडावर्तन, लत्ताकपडा, गरगहनासहितको धनसम्पत्ति सबै जलेर क्षति पुगेको छ ।

स्थानीयवासी र ककनीबाट गएको नेपाल प्रहरीको संयुक्त टोलीले आगो नियन्त्रणमा लिए पनि घरमा भएका सामान सबै जलेर नष्ट भएको ककनी-३ का वडाध्यक्ष घननाथ बजगाईंले जानकारी दिए । 

उनका अनुसार तीन घरसहित सो घरमा रहेका धनसम्पत्ति सबै जलेर नष्ट हुँदा रु ५० लाख भन्दाबढीको क्षति पुगेको देखिएको छ । आगलागीको कारण यकीन नभए पनि विद्युतीय मिटरबक्सबाट सुरु भएको देखिएकाले विद्युत् सर्ट भएर हुन सक्ने प्रहरीको अनुमान छ । 

पीडित परिवारलाई जिल्ला प्रशासन कार्यालयले आज टेन्टलगायत राहत सामग्री उपलब्ध गराउने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले जानकारी दिए ।

पीडित परिवारका लागि नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखामार्फत टेन्टसहितका गैरखाद्य राहत सामग्री र नुवाकोट प्रशासनले नगद रुपैयाँ घटनास्थलमा नै पुगेर पीडित परिवारलाई उपलब्ध गराउन लागेको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ