arrow

अभिव्यक्ति स्वतन्त्रतामाथि हस्तक्षेप

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ७ सोमबार
editorial-sampadakiya1.jpg

यतिबेला गायक प्रकाश सपुतको गीत ‘पीर’ चर्चामा छ । उनले माओवादीको १० वर्षे सशस्त्र द्धन्द्धपछिको परिस्थिति केलाएर सशस्त्रका लडाकुहरुको अवस्था गीतमार्फत व्यक्त गरेका छन् । लडाकुले शान्ति प्रक्रियामा आइसकेपछि पनि भोगेका पीडालाई समेट्ने प्रयास उक्त गीतले गरेको थियो । थियो यस अर्थमा कि उनले युट्युबमार्फत सार्वजनिक गरेको भिडियो भने एक सातामै हटाउन पुगे र सम्पादित अर्को भिडियो अपलोड गरे । 

पहिले जे कुरा समेटिएको थियो पछि त्यो सम्पादन भएर आयो । जसले गर्दा विज्ञापनसहित १६ मिनेटको भिडियोमा दृष्यहरु पटक पटक दोहोर्याइयो । पहिलो भिडियो हेरेका दर्शकका लागि दोस्रो भिडियो खल्लो लाग्दो भयो । मर्म पनि मर्यो । पहिलो भिडियोमा सशस्त्र द्धन्द्धका लडाकुहरु बेरोजगार भएका र बेरोजगार हुँदा महिला लडाकुले वेश्यावृत्तिमा होमिनु परेको मार्मिक प्रसङ्ग समेटिएको थियो । 

यो दृष्य माओवादीलाई पचेन र उसले चर्को विरोध गर्यो । माओवादीका कार्यकर्तालेसमेत भिडियो नहटाए सपुतलाई कारबाही गर्नुपर्नेसम्मका धम्की दिए । त्यो भिडियोमा कतिपय लडाकु देशमा सोचेजस्तो परिवर्तन नआएकाले खाडी मुलुकमा भासिएको दृष्य पनि देखाइएको थियो । अनि अवसरवादी लडाकु मन्त्री भएपछि चिल्लोगाडीमा हिँडेर सहयोद्धालाई बेवास्ता गरेको दृष्य पनि थियो । 

जब सपुतमाथि चर्को दबाब आयो तब उनले आफू सिर्जनाकार भएकाले सोधपुछ गरेरै यो भिडियो तयार गरेको प्रतिक्रिया दिए । आफूले गीत सिर्जना गरेको र कुनै राजनीतिक स्टन्ट नभएको स्पष्टसमेत पारे । तर त्यो स्पष्टीकरण दिएको केही दिनमै भिडियो नै हटाए । अनि सम्पादन गरेर नयाँ भिडियो राखे । तब फेरि उनले आफूले कसैको दबाबमा नआइ सम्पादन गरेको स्पष्ट पारे । त्यसपछि पहिले कारबाही गर्नुपर्छ भन्नेहरुले सपुतले राम्रो गरेको भनेर प्रशंसा गरे । तर उनको सिर्जना भने मर्यो । 

यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको एमाले सरकारको पालामा पशुपति शर्माले ‘लुट्न सके लुट कान्छा...’ भन्ने गीत ल्याएका थिए । ओली सरकारको बेथिति छरपष्ट भएपछि उनलाई पनि युट्युबबाट भिडियो हटाउन चेतावनी दिइयो । बाध्य भएर शर्माले त्यो भिडियो हटाए ।  

राणाशासनदेखि पञ्चायतसम्म पनि एक दिन गाईजात्राको अवसरमा जोसुकैले राणाशासक वा पञ्चहरुको धज्जी उडाउन पाउँथे । अहिले गणतन्त्रमा यो पाबन्दी छैन । र पनि अभिव्यक्ति स्वतन्त्रतामाथि कम्युनिष्ट दलहरुले अंकुश लगाउन खोजिरहेका छन् । उनीहरुको विरोध हुने खालको कुनै गतविधि भयो कि उनीहरु कारबाहीको शैलीमा उत्रिन्छन् ।   

गणतन्त्रले कानूनमा बर्जित बाहेकका सबै स्वतन्त्रता दिएको छ । गणतन्त्रको सुन्दर पक्ष नै यही हो । मर्यादाभित्र रहेर प्रशंसा र आलोचना गर्न पाइन्छ । तर यसरी गीतका दृष्यसमेत हटाउन लगाउने हो भने अभिव्यक्ति स्वतन्त्रता नाममात्रको हुने स्पष्ट छ । आलोचना सहन नसक्नेले राजनीति गर्नु पनि हुँदैन । 

अर्कातर्फ आफूहरु नसुध्रिने तर सशस्त्र द्धन्द्धका खराबी पक्षलाई कोट्याउँदा धम्की दिने माओवादीको शैलीको जतिसुकै आलोचना गरे पनि कम हुन्छ । पटक पटक सत्ताको रसास्वादन गर्ने अनि ज्यान दिन तयार ज्यूँदा ती लडाकुलाई भने बेवास्ता गर्नु पक्कै अन्याय हो । 

त्यसलाई सम्बोधन गर्नेतर्फ नलागेर विषयवस्तुमा केन्द्रीत गर्न खोज्नेमाथि नै जाइलाग्नु कहाँसम्मको तानशाही प्रवृत्ति । वाक् स्वतन्त्रतालाई ख्यालठट्टाको विषय बनाइनु नेपाली राजनीतिको विडम्बना हो । यो सच्चिनु जरुरी छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ