arrow

बागलुङका चार स्थानमा प्रहरी चौकी स्थापना

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ८ मंगलबार
Police.jpg

बागलुङ । शान्ति सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लाको सबै पालिकामा प्रहरी चौकी स्थापना गर्ने गृह मन्त्रालयको निर्णयानुसार केही पालिकामा प्रहरी चौकी स्थापना हुँदै गएका छन् ।

बागलुङमा नयाँ चारवटा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार हालसम्म जिल्लाको बरेङ गाउँपालिका, निसीखोला गाउँपालिका, ताराखोला गाउँपालिका र बागलुङ नगरपालिकामा स्थापना गर्ने निर्णय भएको थियो ।

सोहीअनुसार बरेङ गाउँपालिकाको सुडला, ताराखोला गाउँपालिकाको भातखाने डाँडा, निसीखोलाको जुग्गाखोला र बागलुङ नगरपालिकाको पञ्चकोटमा नयाँ प्रहरी चौकी स्थापना गरिएको छ ।  

निसीखोलाको जुग्गाखोलासहित सबै स्थानमा प्रहरी चौकी स्थापना भइसकेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दयानिधि ज्ञवालीले जानकारी दिए ।

 “जिल्लाको चार स्थानमा प्रहरी चौकी स्थापना गर्ने निर्णयानुसार अहिलेसम्म चारवटै स्थानमा प्रहरी चौकी स्थापना भएका छन् । भातखाने डाँडा ताराखोला, प्रहरी चौकी सुँडाला बरेङ गाउँपालिका, प्रहरी चौकी पञ्चकोट र जुग्जाखोलामा चौकी सथापना भएका हुन्”, एसपी ज्ञवालीले भने, “जनतालाई शान्ति सुरक्षाको पहुँच बढाउन चार स्थानमा चौकी स्थापना गरिएको हो, जसकारण बागलुङको शान्ति सुरक्षामा ठूलो सहयोग गर्नेछ ।” 

पन्ध्र/पन्ध्र जनाको दरबन्दी रहने प्रहरी चौकीमा तत्कालका लागि हबल्दारको नेतृत्वमा पाँच जना राखेर सेवा सुरु गरिएको उनको भनाइ छ । जिल्ला प्रहरी कार्यालय तथा इलाका प्रहरी कार्यालयबाट जनशक्ति व्यवस्थापन गरेर चौकी स्थापना गरिएको ज्ञवालीको भनाइ छ । जिल्लावासीको शान्ति सुरक्षाका लागि चौकी थपिएको भन्दै यसले आम नागरिकलाई ठूलो सहयोग पुग्ने प्रहरी उपरीक्षक ज्ञवाली बताउछन् ।

बागलुङ जिल्लामा हाल तीनवटा ‘क’ र चारवटा ‘ख’ श्रेणीका गरी सात इलाका प्रहरी कार्यालय छन् । जसमध्ये ‘क’ श्रेणीमा इलाका प्रहरी कार्यालय बुर्तिबाङ, इलाका प्रहरी कार्यालय गलकोट र इलाका प्रहरी कार्यालय बरेङ डाँडा रहेका छन् भने ‘ख’ श्रेणीका इलाका प्रहरी कार्यालय बलेवा, भीमगिठे, झिवाखोला र ताराखोला रहेका छन् ।

जिल्लामा प्रहरी चौकी नयाँसहित १७ वटा प्रहरी चौकी, दुई प्रहरी पोष्ट रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी विजय भण्डारीले जानकारी दिए । दुईवटा प्रहरी पोष्टमध्ये बागलुङ कालिका मन्दिर परिसरमा एउटा र कुँडुलेमा एउटा रहेको छ । जिल्लामा चारवटा सामुदायिक प्रहरी सेवा केन्द्र रहेको भण्डारीले जानकारी दिए । जसमध्ये दुईवटा जिल्ला सदरमुकाम बागलुङमै छन् भने दुईवटा गलकोट र बुर्तिबाङ रहेका छन् ।

जिल्लाका विभिन्न स्थानमा स्थापना भएका प्रहरी चौकीले नागरिकको सुरक्षाका लागि महत्वपूर्ण भूमिका खेल्ने प्रहरी प्रमुख दयानिधि ज्ञवालीले बताए । उनले जिल्लाका अतिआवश्यक ठाउँमा नयाँ प्रहरी चौकी स्थापना भएको भन्दै अब समाजमा हुने अपराधजन्य घटना न्यूनीकरणका लागि सहज हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ