हवाइ रक्षा नियमको उल्लङ्घन गर्दै दुई चिनियाँ लडाकु र दुई बमवर्षक विमान ताइवान प्रवेश
एजेन्सी,
प्रकाशित २०७८ चैत ८ मंगलबार
530
Shares
फाइल तस्बिर
ताइपेई। ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा शनिवार दुई वटा लडाकु विमान र दुई बमवर्षक विमान प्रवेश गरेका छन्। ताइवानको रक्षा मन्त्रालयले एक शेन्यांग जे-११ र एक शेन्यांग जे-१६ लडाकु जेटका साथै दुई सियान एज-६ बमवर्षकहरू ताइवानको हवाई रक्षा नियमको उल्लङ्घन गर्दै ताइवान प्रवेश गरेको जनाएको थियो।
पछिल्लो समय बढ्दै गइरहेको घुसपैठलाई ताइवानको वायुसेना र वायु रक्षा सङ्गठनलाई कमजोर पार्ने रणनीतिको एक हिस्साको रूपमा वर्णन गरिएको छ। शुक्रवार चीनको शान्डोङ विमान पनि ताइवान स्ट्रेटबाट यात्रा गरेको थियो। यद्यपि बेइजिङले यो यात्रालाई नियमित अभ्यासको रूपमा उल्लेख गरेको छ।
यसैबीच, दुई शेन्याङजे-११ लडाकु जेट र एक हार्बिन जे-९ एन्टि-सबमरिन हेलिकप्टर शुक्रवार ताइवानको वायु रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका थिए। ताइवानको वायुसेना जेटहरूले रेडियो चेतावनी जारी गर्दै चिनियाँ विमानहरूलाई तुरुन्तै फिर्ता जान आग्रह गरेको ताइवानको रक्षा मन्त्रालयले बताएको छ।
सेनाले पिपुल्स लिबरेशन आर्मी एयर फोर्स जेट र हेलिकप्टरहरूको गतिविधिहरूको निगरानी गर्न वायु रक्षा मिसाइल प्रणालीहरू तैनाथ गरेको पनि बताएको छ। बेइजिङले चीनको दक्षिण पूर्वी तटमा अवस्थित लगभग २४ मिलियन जनसङ्ख्या भएको ताइवानमा पूर्ण सार्वभौमसत्ताको दाबी गरेको छ। यद्यपि ताइवानले भने पूर्ण लोकतान्त्रिक र सार्वभौमसत्ता मुलुक भएको दाबी गरिरहेको छ। दुई मुलुकहरू सात दशकभन्दा बढी समयदेखि अलग-अलगरुपमा शासित छन्।
अर्कोतर्फ ताइपेईले बेइजिङको बारम्बार विरोध गर्दै आएको छ भने अमेरिकालगायत लोकतान्त्रिक मुलुकसँग रणनीतिक सम्बन्ध बढाएर चिनियाँ आक्रमणको प्रतिकार गरेको छ। चीनले "ताइवानको स्वतन्त्रता" भनेको युद्ध नै हुने धम्की दिएको छ।