arrow

युक्रेन आक्रमणको २८ दिन, मारिओपलमा एक लाख मानिस बिचल्लीमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ९ बुधबार
ukraine-blast-2022-03-22.jpg

काठमाडौं । रुसले युक्रेनमाथि आक्रमण गर्न थालेको २८ दिन भइसकेको छ । अहिलेसम्म भएका शान्तिवार्ताका प्रयास असफल भएका छन् । विश्व समुदायलेसमेत युद्ध रोक्नका लागि केही गर्न सकेका छैनन् । 

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग शान्तिका लागि गरेको आग्रह सार्थक हुन सकेको छैन । यसैबीच युक्रेनी राष्ट्रपति जेलेन्स्कीले बम हमला र गोलाबारीबीच दक्षिणी बन्दरगाह शहर मारिओपलमा केही पनि नबचेको जनाएका छन् । 

बीबीसीका अनुसार करीब १ लाख युक्रेनी बिचल्लीमा परेको उनले बताएका छन् । ‘आजसम्म मारिओपलमा करीब १ लाख मानिस अमानवीय अवस्थामा छन् । उनीहरुलाई खाना, पानी र औषधि छैन । त्यहाँ निरन्तर गोलाबारी र बम हमला भइरहेको छ ’, राष्ट्रपतिले भने । 

त्यहाँ मानवीय कोरिडोरमार्फत नागरिकहरूलाई उद्धार गर्ने प्रयासहरू रूसी गोलाबारी र ‘योजनाबद्ध आतंक’का कारण अवरोध भएको उनले बताए । एउटा मानवीय कोरिडोर रुसले नियन्त्रणमा लिएको जानकारी दिँदै जेलेन्स्कीले सरकारी कर्मचारी र उनीहरुका बस चालकलाई रुसी सेनाले बन्धक पारेको आरोप लगाए ।

जेलेन्स्कीले अगाडि भने, ‘सम्पूर्ण कठिनाइका बाबजुद मारिओपोलका ७ हजार २६ जनाको मंगलबार शहरबाट उद्धार गरिएको छ । पछिल्लो दुई सातामा युक्रेनले १ लाख टन मानवीय सहयोग प्राप्त गरेको उनले बताए । 

जेलेन्सकीले क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसलाई युक्रेनको भ्रमण गर्न आग्रह गरेकोसमेत जानकारी दिएका छन् ।

अमेरिकी ह्वाइट हाउसले युक्रेनका कमजोर शरणार्थीका लागि सहयोग गर्ने योजना रहेको जनाएको छ । एनबीसी समाचारका अनुसार उक्त घोषणा योसाता भित्रमै आउन सक्नेछ । 

रुसले युक्रेनमाथि आक्रमण गर्दा उसका तर्फबाट पनि ठूलो क्षति भएको छ । अहिलेसम्म १५ हजार ३०० सैनिक मारिएको दाबी गरिएको छ । त्यस्तै १२३ हेलिकोप्टर, ३ वटा डुंगा, ५०९ ट्यांक, ७० फ्युल ट्यांक, ९९ जहाज, २५२ तोप, ३५ ड्रोन, एक हजार गाडी, १५ सय ५६ बख्तरबन्द गाडी, ८० वटा मल्टिपल रकेट लञ्चर र ४५ वटा एन्टिएयरक्राफ्ट वारफेयर ध्वस्त भएको द किभ इन्डिपेन्डेन्टले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ