arrow

युवा उद्यमीहरुलाई उत्साह दिने कार्यक्रम कनेक्ट इन काठमाडौंमा

logo
हाम्रा कुरा
प्रकाशित २०७८ चैत ११ शुक्रबार
pic 1.jpg

काठमाडौं । काठमाडौंस्थित भारतीय राजदूतावासले गत बुधबार अन्तर्राष्ट्रिय उद्यमशीलता कन्क्लेभ– कनेक्ट (इन) को आयोजना गरेको छ । भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको ‘आजादीका अमृत महोत्सव’ अन्तर्गत यस कनक्लेभको आयोजना गरिएको हो । 

‘यो कनक्लेभ वर्ष २०२२ को फेब्रुवरी महिनाको पहिलो हप्तामा गर्ने तय भएको थियो तर महामारीले निम्त्याएको विषम परिस्थितिका कारण यसलाई मार्च महिनामा सारिएको हो । यस कार्यक्रमको सह–आयोजकमा क्लकबी बिजनेस इनोभेसन्स हो भने अन्य प्रमुख साझेदारहरुमा जीएमआर, टाटा मोटर्स, टाटा मेडीटेक र टुटल समावेश छन्’ दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कनेक्ट इनले भारत र नेपालका इनोभेटर, प्रतिष्ठित व्यक्ति र चिन्तकहरुलाई एकै ठाँउमा ल्याई दुवै देशका नवीन पद्धति र उद्यमशीलतालाई प्रवर्धन गर्न मद्दत गर्दछ । विज्ञप्तिमा भनिएको छ, ‘भारत र नेपालका उद्यमशील प्रतिभाहरुलाई जोड्ने उद्देश्यबाट प्रेरित यो कन्क्लेभले हाम्रा माझ सैयौं समस्या भएता पनि हामीसँग तिनीहरुलाई समाधान गर्ने क्षमता एवम् खुबी भएका हजारौं वौद्धिक प्रतिभा छन् भन्ने विश्वासलाई साकार तुल्याएको छ । तीनवटा संस्करणहरु मार्फत कनेक्ट इनले नेपाल र भारतका युवा उद्यमीहरू, लगानीकर्ताहरु, उद्यम पुँजीपतिहरु र विज्ञहरुलाई विचारदेखि व्यापार मोडलसम्म, समस्यादेखि समाधानसम्म र व्यवसायदेखि लगानीसम्मका विविध विषयवस्तुहरुमा एक अर्काका अनुभवहरु साटासाट गर्न र एक आपसमा जोडिन एउटा प्रभावकारी मञ्च प्रदान गरेको छ ।’

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रा तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कनेक्ट  इन को तेस्रो संस्करणको उद्घाटन गरेका थिए । 

भारत र नेपालका स्टार्टअप इकोसिस्टमबीच बढ्दो सम्बन्धलाई थप मजबुत बनाउन यस अघिका दुई संस्करणले हासिल गरेको सफलतालाई निरन्तरता दिदै यो तेस्रो संस्करणको आयोजना गरिएको हो । 

ई–कमर्श, जीवन विज्ञान, फिनटेक, शिक्षा प्रविधि, सामाजिक उद्यमशीलता, खाद्य प्रविधि तथा वित्तीय सेवाहरु जस्ता विविध क्षेत्रहरुमा क्रियाशील भारतका पाँच जनासहित करिब २५ जना उद्यमीहरुले उक्त कनक्लेभमा सहभागीता जनाएका थिए । 

कार्यक्रमको दौरानमा भएका छलफल तथा प्रस्तुतिबाट आकांक्षी उद्यमी, व्यवसायी, सञ्चारकर्मी तथा बैंकरहरु समेत गरेर करिब चार सय जना लाभान्वित भए । अझ त्योभन्दा बढी संख्याले सो कार्यक्रम लाइभ स्ट्रिममार्फत हेरेको दूतावासले जनाएको छ । 

हालको संस्करणमा कनेक्ट इनले भारत र नेपालमा आफ्नो पहिचान बनाउन सफल स्टार्टअपका संस्थापकहरुका सङ्घर्षको कथालाई समावेश गरेको थियो । यी कथाहरुमा भारतको सबैभन्दा ठूलो सामाजिक ई–कमर्श र रिसेल पोर्टलहरु मध्येको एक मिशो तथा तथ्याङ्क विश्लेषण गर्दै जीवन विज्ञान र इन्जिनियरिङ्गबीच विद्यमान दूरी घटाउन प्रयासरत रहेको एक उदीयमान कम्पनी इलिसिडाटा रहेका थिए । 

नेपालबाट चिरपरिचित फिनटेक प्लेयर एफवन सफ्ट ग्रुप तथा ई–कमर्श पोर्टल सस्तो डिल समावेश थिए । 

कन्क्लेभमा तीनवटा टोली बनाई शुरुआती चरणमा स्टार्टअपले झेलेका चुनौती, उद्यम पुँजीपतिको दृष्टिकोणमा स्टार्टअपको आर्थिक पक्ष र परम्परागत व्यापार व्यवसायमा प्रविधिको भूमिका लगायतका विषयमा केन्द्रीत भई छलफल गरियो । 

सो छलफल सत्रमा भारतबाट वित्तिय प्रविधि उद्यमका आर्थिक पक्षमा केन्द्रीत रही काम गर्ने लगानीकर्ता कम्पनी यात्रा एंगल नेटवर्क र शैक्षिक ऋण प्रवाहको क्षेत्रमा काम गर्ने स्टार्टअप कम्पनी क्रेडेन्सको सहभागीता थियो । 

नेपाली टोलीमा चिरपरिचित स्टार्टअप कम्पनीहरु टुटल, हात्तीहात्ती, पिक एण्ड ड्रप, प्याड टु गो र स्विट फिक्स तथा लगानीकर्ता कम्पनीहरु डोल्मा इम्प्याक्ट फण्ड र बिजनेस अक्सिजनले सहभागीता जनाएका थिए । कार्यक्रममा स्टाण्डर्ड चार्टर्ड बैंक र किङ्स कलेज काठमाडौंका वक्ताहरुको पनि उपस्थिति थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ